लखपति शरणार्थी
स्विडेनमा गैरकानुनी आप्रवासीहरू थुप्रै छन् । इरान, क्युबा, इरिटि्रया आदि देशका मानिस स्विडेनमा शरणार्थीका रूपमा पस्ने गर्छन् । स्विडेन शरणार्थीलाई नरम व्यवहार गर्ने राष्ट्रका रूपमा चिनिन्छ । इरिटि्रयाका नागरिक टेस्फाल्डेट टेस्लोय स्विडेनमा बस्न थालेको ६ वर्ष भयो । र, भर्खरै मात्र उनलाई १२ लाख स्विडिस क्राउन (एक लाख पाउन्डभन्दा बढी) को चिठ्ठा परेको छ । शनिबार उनले चिठ्ठाको रकम प्राप्त गरेको स्टकहोमको एक स्थानीय टेलिभिजनमा देखाइएको थियो । उनलाई स्विडिस अधिकारीहरू इरिटि्रया फर्काउन लागिपरेको धेरै भइसक्यो । तर, इरिटि्रयाले उनलाई लिन मानिरहेको छैन । स्विडेन १२ हजार आप्रवासीलाई उनीहरूका देशमै फर्काउन खोजिरहेको छ, तर सम्बन्धित देशले आफ्ना नागरिक फिर्ता लिन चाहिरहेका छैनन् । शरणार्थीलाई मानवीय व्यवहार गर्ने थोरै देशमध्ये एक नम्बरमा गनिने स्विडेन हाल एकदम अप्ठ्यारोमा परेको छ । राजनीतिक शरण खोजेर आएका बाहेक अरू आफ्ना देश र्फकनै चाहँदैनन् । भर्खरै लखपति भएका टेस्फाल्डेट टेस्लोय पनि इरिटि्रया र्फकन चाहँदैनन् । उनी भन्छन्, 'अब म यहीँ बसेर डाक्टरी पढ्न चाहन्छु ।' उनको भाग्य देखेर उनका साथीहरू चकित भएका छन् । उनका एक साथी भन्छन्, 'स्विडेनले इरिटि्रया फर्काउन खोजिरहेको यो मान्छे रातारात लखपति भएको छ । अब ऊ राम्रो जीवन बाँच्नेछ ।'



del.icio.us
Digg
Post your comment