फुटबल हेर्न कलेज बिदा
नयाँ पत्रिका
काठमाडौं, २७ असार
विश्वकप फुटबलको फाइनल हेर्नका लागि नेपालका केही कलेजले सोमबार विद्यार्थीलाई बिदा दिएका छन् । आइतबार राति विश्वकप फाइनल हेरेपछि अर्को दिन बिहान कलेजमा आउन अप्ठेरो हुने भन्दै केही कलेजले बिदा दिएका हुन् ।
राजधानीका हिमालयन ह्वाइट हाउस इन्टरनेसनल, गोल्डेन गेट इन्टरनेसनल, न्युटन, बर्नहार्ट, निस्टलगायत कलेजले सोमबार बिदा दिएका हुन् । कतिपय कलेजले फुटबल खेलको कारण देखाएका छन् भने कतिपयले कारण खुलाएका छैनन् । निस्ट कलेजले बिदाको कारण खुलाएको छैन । शुक्रबारदेखि कक्षा १२ को कक्षा सुरु गरेको निस्ट प्रशासनले आइतबार र सोमबार बिदा दिएपछि विद्यार्थीले फुटबल खेल हेर्न बिदा दिइएको बताएका छन् ।
गोल्डेन गेट कलेजले आन्तरिक बिदा भन्दै विद्यार्थीलाई सोमबार कक्षा सञ्चालन नहुने जानकारी गराएको छ । सो कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले भने, 'आन्तरिक र अनौपचारिक भन्दै मौखिक रूपमा कक्षामा जानकारी गराएर सोमबारलाई बिदा दिइएको छ ।'
न्युटन कलेजले विद्यार्थी र शिक्षकको सहमतिमा सोमबार बिदा दिने निर्णय गरेको जनाएको छ । शिक्षक संजीव सिंहले आइतबार राति विश्वकप फाइनल भएको र अर्को दिन कलेज आउन ढिला हुने भएकाले बिदा दिइएको बताए । 'आज (आइतबार राति) वल्र्डकप फाइनल छ, भोलि (सोमबार) धेरै शिक्षक तथा विद्यार्थी कलेज आउँदैनन्,' सिंहले भने, 'त्यसो हुनुभन्दा बिदा गरौँ भनेर आन्तरिक सहमतिमा गरेका हौँ ।'
हिमालयन ह्वाइट हाउस कलेजले पनि बिदाको जानकारी कक्षाकोठामा दिएको हो । विश्वकप फुटबलको फाइनल सबैले हेर्ने भएकाले बिदा दिइएको विद्यार्थीले बताएका छन् ।
लिटिल एन्जेल्समा नयाँ विषय
काठमाडौं/ काठमाडौं विश्वविद्यालयले स्नातक तहमा सत्कार तथा पर्यटन व्यवस्थापन विषयको कक्षा सञ्चालनका लागि ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्टलाई सम्बन्धन दिएको छ ।
चारवर्षे कोर्सअन्तर्गत आठवटा सेमेस्टरमा अध्यापन हुने नयाँ विषयको कक्षा आइतबारबाटै सुरु भएको लिटिल एन्जेल्स कलेजले जनाएको छ । कलेजका संस्थापक अध्यक्ष उमेश श्रेष्ठले यस विषयको अध्यापन सुरु भएपछि पर्यटन क्षेत्रका लागि चाहिने व्यवस्थापकीय तथा व्यावसायिक दक्ष जनशक्ति स्वदेशमै उत्पादन हुनेे बताए ।



del.icio.us
Digg
Post your comment