विद्यालयमा यौनिकता शिक्षा अभियान
महेन्द्रनगर/ विद्यालयको पाठ्यक्रममा यौनिकता शिक्षा समावेश गराउन 'यौनिकता शिक्षा अभियान' सञ्चालन गरिएको छ । नेपाल परिवार नियोजन संघ कन्चनपुरको पहलमा यौनिकता शिक्षा अभियान थालिएको हो । सरकारले निम्न माध्यमिक तथा माध्यमिक तहको पाठ्यक्रमबाट यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तुलाई कटौती गर्न लागिरहेको वेला कन्चनपुरमा 'यौनिकता शिक्षा अभियान' सञ्चालन गरिएको हो । अहिले निम्न माध्यमिक तहमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र माध्यमिक तहमा स्वास्थ्य शिक्षाको पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा विषयवस्तु समावेश गरिएको छ । एकीकृत रूपमा समावेश गरिएको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तुलाई विज्ञान तथा अन्य सम्बन्धित विषयको पाठ्यक्रममा समावेश गर्ने सरकारले नीति लिएको छ । सरकारले यौन तथा प्रजनन स्वास्थ्यलाई हटाउन खोजेको विरोध तथा माध्यमिक तहको पाठ्यक्रममा यौनिकता शिक्षा समावेश गर्नुपर्ने माग गरी कन्चनपुरमा यौनिकता शिक्षा अभियान सञ्चालन गरिएको हो । विश्व जनसंख्या दिवसको अवसर पारेर सो अभियानलाई थप जोडतोडका साथ उठाउन लागिएको नेपाल परिवार नियोजन संघ कन्चनपुरका सभापति करुणाकर पन्तले बताए । किशोर/किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यभन्दा अलि माथि उठेर यौनिकता शिक्षा आवश्यक रहेको संघका प्रबन्धक शिवराज सिंह बलायरको भनाइ छ । मन्त्री तथा मन्त्रालयका सचिव व्यक्ति विशेषको जानकारीको अभावमा विद्यालयको पाठ्यक्रममा रहेको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सामग्रीलाई हटाउन खोजिएको उनको आरोप छ । परिवार नियोजन संघले २५ वर्षमुनिका युवायुवतीलाई स्वयंसेवकका रूपमा परिचालन गरेको छ । दुई हजारको हाराहारीमा युवायुवती यौनिकता शिक्षा अभियानमा परिचालन गरिएको संघले जनाएको छ ।



del.icio.us
Digg
Post your comment