Newsletter
Email:
Home | शिक्षा | गुणस्तरको हिसाबले निजीले लिने शुल्क सस्तो

गुणस्तरको हिसाबले निजीले लिने शुल्क सस्तो

Font size: Decrease font Enlarge font
image

नरबहादुर विष्ट,

पि्रन्सिपल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट

अहिलेको शैक्षिक परिवेशलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालको शैक्षिक परिवेशलाई दुई तरिकाले विश्लेषण गर्न सकिन्छ । सरकारको नीति तथा योजनाका आधारमा र शैक्षिक गुणस्तरका आधारमा । शिक्षा देशको सबैभन्दा बलियो आधारभूत आवश्यकता हो । शिक्षामा गरेको लगानी मानवस्रोतमा गरेको लगानी हो । कुनै पनि उत्पादन प्रक्रियामा मानवस्रोत अभिन्न र अत्यावश्यक अंग भएकाले यसले देशको सर्वांगीण विकासमा ठूलो टेवा पुर्‍याउँछ । तर, सरकारले अन्य क्षेत्रभन्दा शिक्षामा गरेको लगानी अलि बढीजस्तो देखिए पनि यो पर्याप्त छैन । यो अति नै प्रतिफलमूलक र उत्पादकत्व बढाउने लगानी हो । यसमा लगानी गर्न सरकारले कन्जुस्याइँ कुनै पनि हालतमा गर्नुहँुदैन ।

अर्को कुरा देशमा मुख्यतः दुई खालका शैक्षिक संस्था रहेका छन् । एकथरी सरकारी तथा सामुदायिक पहलमा सञ्चालित र अर्कोथरी निजी तहमा सञ्चालित । सरकारी तथा सामुदायिक शैक्षिक संस्थाको पूर्वाधार मानवस्रोत, सामाजिक सद्भाव र सहयोग निकै बलियो छ । तर, त्यसको कुशल व्यवस्थापन र स्रोतको सदुपयोग नभएका कारण तथा राजनीतिक गतिविधि व्यापक भएका कारण गुणस्तर अति नै न्यून छ । अर्कोतिर निजी पहलमा सञ्चालित शैक्षिक संस्थाको शैक्षिक गुणस्तर अति नै राम्रो छ र सीमित साधनको भरपूर सदुपयोग भएको छ । अझ कतिपय निजी क्षेत्रमा सञ्चालित शैक्षिक संस्था अन्तर्राष्ट्रिय स्तरको छ । यसले शिक्षा क्षेत्रमा विदेशिएको पुँजीलाई देशभित्रै राख्न सफल भएको छ ।

निजी शैक्षिक संस्थाको अवस्था र भविष्य कस्तो छ ?

निजी क्षेत्रका शिक्षण संस्थाले शिक्षामा व्यापक लगानी गरी उच्च गुणस्तरयुक्त शिक्षा प्रदान गरिरहेका छन् । यी संस्थाले राम्रो गर्दागर्दै पनि यिनीहरूप्रति सरकार, राजनीतिक संघ-संगठनदेखि धेरैजसो समाजिक कार्यकर्ताको भने नकारात्मक दृष्टिकोण रहेको पाइन्छ । उच्च शैक्षिक शुल्क लिएर सञ्चालकहरू अकुत नाफा कमाउँछन् र शिक्षामा व्यापार भइरहेको छ भन्ने व्यापक जनधारणा रहेको छ । तर, यथार्थ त्यो होइन । निजी शैक्षिक संस्थाको आम्दानीको स्रोत भनेकै शैक्षिक शुल्क हो, जुन विद्यार्थी तथा अभिभावकबाटै लिने हो । यसमा सरकार वा अन्य दातृ निकाएको कुनै आर्थिक सहयोग आउँदैन । गुणस्तर र सेवा प्रदान गरेअनुसारको शुल्क लिन यी संस्था स्वतन्त्र रहनुपर्छ । तर उच्च शुल्क लिएर सोअनुसारको गुणस्तर तथा सेवा प्रदान नगरी अभिभावक तथा विद्यार्थीको शोषण गर्नुहुँदैन । यसलाई रोक्न स्वच्छ प्रतिस्पर्धात्मक वातावरण हुनुपर्छ । स्वच्छ

प्रतिस्पर्धाले चलेका शैक्षिक संस्थाले प्रतिविद्यार्थी गरेको खर्च सरकारले गरेको प्रतिविद्यार्थी खर्चभन्दा कम छ । अर्थात् निजी क्षेत्रले दिने गुणस्तरीय शिक्षा समग्र अर्थतन्त्रका रूपमा हेर्ने हो भने, सरकारीभन्दा सस्तो छ ।

यदि, निजी क्षेत्रको शिक्षा क्षेत्रमा संलग्नता आवश्यक हो र यसले पनि शैक्षिक गुणस्तर, पुँजीपलायन रोक्न र रोजगार सिर्जना गर्न सक्छ भन्ने निश्चित हो भने, हरेक पक्षको यस क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । होइन भने, यी निजी क्षेत्रमा सञ्चालित शैक्षिक संस्था बन्द गर्नुपर्छ र लगानीकर्तालाई अनिश्चतताको बन्दी बनाउनु हुँदैन । यदि सरकारी र निजी शैक्षिक संस्था एकैपल्ट सञ्चालन गर्ने हो भने सरकारी शैक्षिक संस्थाको पनि गुणस्तर बढाउन जरुरी छ । यी सरकारी शैक्षिक संस्थाको गुणस्तर बढाउने हो भने नीति-निर्माता, सरकारी कर्मचारी तथा राजनीतिक दलका मुख्य व्यक्तिले इमानदारीका साथ आफ्ना छोराछोरी तथा भाइ-बहिनीलाई सरकारी शैक्षिक संस्थामा पढाएर उदाहरणीय बन्न सक्नुपर्छ । निजी शिक्षण संस्थामा भर्नाका लागि तँछाड-मछाड गर्ने अनि तिनै शैक्षिक संस्थाबारे नकारात्मक भाषण गरेर हिँड्ने प्रवृत्ति राम्रो होइन ।

व्यवस्थापन विषय अध्ययन किन गर्ने र यसको भविष्य कस्तो छ ?

व्यवस्थापन विषयको विश्वव्यापी लोकपि्रयता बढ्दै गएको छ । व्यवस्थापन शिक्षाको ज्ञानबाटै सीमित साधनको उच्चतम उपयोग हुन्छ र उच्चतम प्रतिफल पाइन्छ । यस विश्वव्यापीकरण र प्रतिस्पर्धी युगमा कुशल व्यवस्थापनविना कुनै देश, संस्था तथा व्यक्तिको विकास तथा प्रगति हुन सक्दैन । यसको अध्ययनले प्राविधिक मानवस्रोतको समेत समुचित उपभोग गर्न सिकाउँछ । हाल विश्वव्यापी रूपमै व्यवस्थापनको ज्ञान भएका व्यक्तिले नै असंख्य अवसर पाइरहेका छन् । अवसर सँगसँगै आम्दानीको पनि अवसर अन्यको भन्दा बढी रहन्छ ।

हालका केही वर्षयता नेपालमा पनि विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण विद्यार्थीको आकर्षणको अध्ययन विषय व्यवस्थापन नै रहेको छ । भविष्यका चार्टर्ड एकाउटेन्ट तथा बढ्दो बैंकिङ सेवालगायत अन्य व्यवस्थापकीय पदमा कार्यरत रहने विद्यार्थी तथा अभिभावकको रुचि रहेको पाइन्छ ।

ग्लोबल कलेजका विशेषता के छन् ?

यो व्यवस्थापन संकायअन्तर्गत +२ देखि स्नातकोत्तर तहसम्म अध्ययन/अध्यापन गराइने कलेज हो । यो व्यवस्थापन क्षेत्रका विज्ञ तथा कुशल व्यक्तिको संलग्लनतामा सञ्चालित छ । यहाँका शिक्षक अति नै दक्ष, प्रतिस्पर्धी र अनुभवी तथा मिहिनेती छन् । अति नै शान्त, अनुशासित, सौम्य र शालीन सिक्ने र सिकाउने वातावरण छ । अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा अन्य पक्षको निरन्तर प्रयास तथा सहयोगमा विगत वर्षमा उच्च मावि तथा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विशेषतः कक्षा ११ र १२ को परीक्षामा व्यवस्थापन संकायमा ९० प्रतिशतभन्दा बढी उत्तीर्ण गराउने एउटा नमुना कलेज हो । प्रत्येक वर्ष पाँच सय ५० जना विद्यार्थी भर्ना लिई उच्च प्रतिशत तथा उच्च अंक ल्याई उत्तीर्ण गर्न सफल यस कलेजमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञानसमेत दिइन्छ । यस कलेजबाट उत्तीर्ण विद्यार्थी उच्च शिक्षाका लागि देश तथा विदेशका प्रतिष्ठित कलेजमा अध्ययन गर्छन् र द्यद्यक् र ःद्यक् का विद्यार्थी बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था र सरकारी सेवामा अग्र स्थानमा छन् । त्यसैले व्यवस्थापन शिक्षाको क्षेत्रमा विशेष योग्यता हासिल गरिसकेको यो कलेजले नेपालमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

कस्ता विद्यार्थीलाई कुन विषय उपयुक्त हुन्छ ?

यहाँ राजनीतिक, सामाजिक र आर्थिक विकासका साथै प्रविधिको विकास हुन जरुरी छ । त्यसैले उच्च अंक प्राप्त गर्ने, लगनशील र बुद्धिमान विद्यार्थीले मानविकी, राजनीति तथा समाजशास्त्र अध्ययन गर्नुपर्छ । किनभने देश कता लैजाने भन्ने कुरा एउटा उच्चस्तरीय दिमाग र सिर्जनाबाट हुन्छ । यस्तो सिर्जनात्मक काम र असल नीति-निर्माण कुशल, लगनशील र शैक्षिक रूपमा योग्य राजनीतिशास्त्री, समाजशास्त्री र अर्थशास्त्रीले गर्न सक्छन् । त्यसैले सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले सो क्षेत्रमा लाग्नुपर्छ । त्यसपछि सिर्जना गरिएका मार्गदर्शन तथा नीति कुशल रूपमा व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि व्यवस्थापन शिक्षा र व्यवस्थापनविज्ञको आवश्यकता पर्छ । त्यसैले दोस्रो अब्बल दर्जाका विद्यार्थीले व्यवस्थापन अध्ययन गर्ने हो । अन्तमा परिणाममुखी सफलताका लागि कुशल प्राविधिज्ञको अत्यावश्यक हुन्छ । यी प्राविधिज्ञ मानवस्रोतको उच्चतम उपयोगका लागि पनि असल नीति तथा कुशल व्यवस्थापन आवश्यक हुन्छ । त्यसकारण, उच्च अंक ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोस्रो रोजाइ व्यवस्थापन र तेस्रो रोजाइ विज्ञान हुनुपर्छ । तर, नेपालमा यसको ठीक उल्टो छ, जुन सुधार्न जरुरी छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?