विद्यार्थीद्वारा त्रिविसभा बहिष्कार
नयाँ पत्रिका
काठमाडौं, ३१ असार
त्रिभुवन विश्वविद्यालयको बजेट तथा कार्यक्रम पास गर्न बसेको सभा विद्यार्थीले बहिष्कार गरेका छन् । त्रिविसभा सदस्य विद्यार्थीले प्रमाणपत्र तहमा भर्ना लिने घोषणा गर्ने माग पूरा नभएको भन्दै सभा बहिष्कार गरेका हुन् ।
सभामा अनेरास्ववियु क्रान्तिकारीका हिमाल शर्मा, नेविसंघकी लालकुमारी पोखरेल -स्वस्तिका) र अनेरास्ववियुका गुणराजले प्रतिनिधित्व गरेका छन् । शर्मा विश्वविद्यालय क्याम्पस, पोखरेल पद्मकन्या र गुणराज नेपाल ल क्याम्पसका स्ववियु सभापति हुन् । उनीहरूले सभाअध्यक्ष प्रधानमन्त्री तथा कुलपति माधवकुमार नेपाललाई प्रमाणपत्र तहमा भर्ना लिन त्रिविलाई निर्देशन दिन आग्रह गरेका थिए ।
विद्यार्थीले प्रमाणपत्रको भर्ना लिने विषय टुंगो नलागेसम्म सभा चल्न नदिने अडान राखेपछि प्रधानमन्त्री नेपालले एक साताभित्र समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री नेपालले भने, 'म ब्याक हुँदै हुन्न भनेर हुँदैन, संक्रमणकालीन अवस्थामा सहमतिमा समाधान निकाल्नुपर्छ ।' उनले समिति बनाएर सरोकार सबै पक्षसँग बसेर समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए । शुल्क तिर्न नसकेकै कारण कोही पनि पढाइबाट वञ्चित हुन नहुने उनको भनाइ छ । उनले शिक्ष्ाकलगायतका समस्यामा पनि प्याकेजमै समाधान खोज्न सुझाब दिएका थिए । त्रिवि उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माले भने प्रमाणपत्र तहलाई विश्वविद्यालय भन्ने कुनै आधार नभएकाले भर्ना लिन नसकिने दाबी गरेका थिए ।
एक वर्षअघि भएका सहमति अहिलेसम्म कार्यान्वयन नगर्ने मन्त्रालयले एक सातामा समाधान निकाल्ने कुरामा अविश्वास गर्दै विद्यार्थी बाहिरिएका थिए । सभा बहिष्कार गरेर बाहिरिएका सभासदस्य शर्माले भने, 'अब हामी कडा आन्दोलनमा उत्रिन्छौँ ।'
सभाले त्रिविको आर्थिक वर्ष ०६७/०६८का लागि पाँच अर्ब ३८ करोड चार लाख ६९ हजारको बजेट पास गरेको छ । त्रिविको नियमित बजेट सरकारी अनुदान ८७ दशमलव ६ प्रतिशत र त्रिविको आन्तरिक स्रोतबाट १२ दशमलव चार प्रतिशत जुटाइनेछ । विकास कार्यक्रमका लागि भने सबै रकम सरकारबाट प्राप्त हुन्छ ।
यसैबीच, अभिभावक संघ नेपालले पनि विकल्पविना प्रमाणपत्र तह हटाउने निर्णयको विरोध गरेको छ । संघ अध्यक्ष सुप्रभात भण्डारीले बिहीबार विज्ञप्ति जारी गरी एक हजार पाँच सयमा वर्षभरि पढ्न पाइने ठाउँ त्रिविबाट प्रमाणपत्र तह हटाएमा र्फमको मात्र एक हजार पाँच सय तिरेर प्लस टुमा पढ्न सक्ने स्थिति नभएको जनाएको छ ।



del.icio.us
Digg
Post your comment