ब्रिटेनमा पनि पिरोल्यो दाइजोले
भारतमा दाइजोका कारण बर्सेनि हजारौँ महिलालाई जिउँदै जलाइन्छ । दाइजोप्रथाले भारतलाई मात्रै होइन, बि्रटेनमा बसोवास गरिरहेका भारतीय परिवारलाई पनि पिरोल्न थालेको छ । नटिङह्यामकी दिवेन्द्रजित कौर दुई सन्तानकी आमा हुन् । बिहेमा उनका बाबु-आमाले हजारौँ पाउन्डबराबरको दाइजो दिएका थिए । तर, उनका श्रीमान्का परिवारलाई त्यतिले चित्त बुझेन ।
'उनीहरूलाई दाइजो पुगेन । मलाई बिहेमा उपहार दिएका सामान पर्याप्त भएनन् रे ! गरगहनासहित मलाई मेरा आमाबाबुले थुप्रै घरायसी सामान पनि दिएका थिए । तर, मेरा श्रीमान्को परिवारलाई दाइजो पुगेन रे,' कौर भन्छिन् । उनका सासूससुराका माग स्पष्ट थिए । 'तिम्रा बाबु-आमा हाम्रो घरको ढोकामा पर्याप्त गहना, पैसा र कपडा लिएर आएनन् भने राम्रो हुनेछैन,' उनका सासूससुरा यसरी नै दिवेन्द्रजितलाई धम्की दिइरहन्थे । कौरको दैनिकी यस्तै वचनबाणबाट सुरु हुन्थ्यो ।
'केही समयपछि सब ठीक हुन्छ' भन्ने आशामा उनले सासू-ससुराका यस्ता व्यवहार सहेर बसिन् । उनका श्रीमान्का आफन्त उनीसँग कहिल्यै राम्रोसँग बोल्दैनथे । उनलाई श्रीमान्पट्टिकाले कहिल्यै मानवीय व्यवहार गरेनन् ।
बिस्तार-बिस्तारै उनलाई शारीरिक यातना दिन थालियो । र, एकदिन आफ्नो सुरक्षाका लागि कौर घरबाट भागिन् । उनी भन्छिन्, 'मानसिक र शारीरिक यातना खपेर कतिदिन बस्न सक्थेँ र म ?'
श्रीमान्सँग उनको सम्बन्ध-विच्छेद भए पनि उनका बाबु-आमाले दिएको दाइजो पूर्वसासू-ससुरासँगै थियो । आफ्नो दाइजो फिर्ता पाउनका लागि उनले अदालतमा मुद्दा हालिन् । र, दाइजो फिर्ता पाउन सफल पनि भइन् ।
बि्रटेनमा दाइजो समस्याबाट पीडित महिला धेरै छन् । दाइजोविरोधी साउथहल ब्ल्याक सिस्टर्स समूहकी हनाना सिद्दिकीका अनुसार यो समस्या बि्रटेनका हिन्दू र सिख समुदायमा विकराल रूपमा रहेको छ ।
'कयौँ महिला हामीसँग दाइजोका कारण शारीरिक र मानसिक यातना भोगेको समस्या लिएर आउँछन् । उनीहरूका श्रीमान् र श्रीमान्को परिवारले माइतीबाट दाइजो बढी ल्याउन दबाब दिएको सुनाउँछन्,' उनी भन्छिन् ।
मानव अधिकार अधिवक्ता उषा सुद पनि बि्रटेनमा दाइजोको ठूलो समस्या भएको बताउँछिन् । दाइजो फिर्ता माग गरिरहेका ५० महिलाका मुद्दा लडिरहेकी छिन् उनी ।
'दाइजो समस्या एकदमै संवेदनशील बनेको छ । दाइजोका नाममा महिलालाई थुन्ने र शारीरिक यातना दिने काम भएको छ । दाइजोकै निहुँमा कतिपय महिलाका अनुहारमा घातक रसायन हाल्नेदेखि लिएर टाउको मुडुलो बनाइदिनेसमेत गरिएको छ,' सुद भन्छिन् । उनले दाइजो नल्याएको आरोपमा कतिपय महिलालाई जलाइएका उदाहरण पनि दिइन् । दाइजोका कारण घरेलु हिंसापीडित महिला सम्बन्ध-विच्छेदपछि पनि मानसिक समस्याबाट ग्रसित हुने गरेका छन् ।
एक महिला चिकित्सक पनि दाइजो समस्याबाट पीडित भइन् । पर्याप्त दाइजो नल्याएकाले उनी मानसिक तथा शारीरिक यातनाको सिकार भइन् । सम्बन्ध-विच्छेद गरेर छुट्टै बस्न थालेको धेरै समयपछिसम्म पनि उनले काम गर्न सकिनन् । यातनाको असर उनलाई पछिसम्म परिरह्यो । दाइजोपीडित महिलाको मानसिक स्वास्थ्यमा ध्यान दिन पनि सुद आग्रह गर्छिन् । दाइजोप्रथा गैरकानुनी बनाइनुपर्ने माग गर्छिन् सुद । तर, दाइजोलाई गैरकानुनी बनाउनु मात्रै पर्याप्त नहुने उनको विचार छ । सबैभन्दा पहिले समाजको विचार परिवर्तन हुनुपर्नेमा उनी जोड दिन्छिन् ।
अहिले त केटापक्षले बिहेअगाडि नै दाइजो दिनुपर्ने लिस्ट पठाउने गरेको पनि पाइएको छ । 'कार, घर तथा गहनाका लिस्टसमेत बिहेअगाडि नै आउँछन् । यस्तो माग सामान्य परिवारले कसरी पूरा गर्ने ?' सुदको प्रश्न छ ।
एजेन्सीको सहयोगमा



del.icio.us
Digg
manche ko dukh dekhda dikka lagchha
tesaile ma bhanchu
yo sansar ma kohi pani kt bhayera janmanu naparos
Post your comment