नक्कली नोटसहित पक्रिएका अभियुक्त छुटे
बाँके, ३ साउन : चार लाख भारतीय नक्कली नोटसहित रंगेहात पक्राउ परेका तीन अभियुक्त 'प्रहरी र सरकारी वकिलको मिलेमतोमा' रिहा भएका छन् ।
गलत ऐनको दाबी गरी अभियुक्तहरूमाथि मुद्दा चलाएका कारण भारतीय नक्कली नोटसहित रंगेहात पक्राउ परेका अभियुक्त बाँके जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनीहरूविरुद्ध प्रहरी र सरकारी वकिलले मुलुकी ऐनको खोटाचलन महलअन्तर्गत मुद्दा नचलाई राष्ट्र बैंक ऐनअन्तर्गत मुद्दा चलाएका थिए । नेपालगन्ज नगरपालिका- १ धम्बोझीका २४ वषीय अब्दुलरहिम मिया, वडा नं. ६ फुल्टे्रकाका ३० वषीय दीपक केसी र वडा नं. ७ बस्ने ३१ वषीय विनय गौतमलाई बाँके प्रहरीले नेपालगन्जको गुरुद्वार रोडस्थित बेम्बो होटलबाट असार ११ गते बिहीबार दिउँसो पक्राउ गरेको थियो । प्रहरीले पक्राउपछि असार १२ गते शुक्रबार जाली नोटसहित सार्वजनिक गरेको थियो । बिहीबार बाँके जिल्ला अदालतका न्यायाधीश रामेश्वरनाथ अमात्यको इजलासले रहिम र दीपकलाई २५/२५ हजार र विनयलाई १५ हजार रुपैयाँ धरौटीमा छाडेको हो । केही दिनअघि मात्रै दुई हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका एक अभियुक्तलाई प्रहरीले खोटाचलनअन्तर्गत मुद्दा चलाएको थियो । सोही इजलासले उनलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको थियो । खोटाचलनअन्तर्गत मुद्दा चलाइनुपर्ने मुद्दालाई राष्ट्रिय बैंक ऐनअन्तर्गत मुद्दा चलाई अभियुक्तहरूलाई कानुनी उन्मुक्ति दिएको भन्दै कानुन व्यवसायीहरूको छाता संगठन पुनरावेदन बार नेपालगन्जले आपत्ति जनाएको छ । अध्यक्ष सुनील श्रेष्ठले प्रहरी र सरकारी वकिलले अभियुक्तहरूलाई बचाउन खोजेको भन्दै यसबारे छलफल चलाइने बताए । 'यो मुद्दामा जानाजान गम्भीर कानुनी त्रुटि गरिएको छ,' उनले भने । प्रहरीले पक्राउ गरेका अभियुक्तलाई सार्वजनिक गर्दा पाँच सयका तीन सय थान नक्कली नोट बरामद भएको बताएको थियो, तर नक्कली नोट बरामद मुचुल्कामा सात सय थान देखाइएको छ । प्रहरीले उनीहरूबाट ०६६ साल असार ११ गते नक्कली नोट बरामद गरेको हो । तर, मुद्दाको मिसिलमा पेस गरिएको बरामदी मुचुल्कामा ०६५ साल उल्लेख गरिएको छ । यता, जिल्ला सरकारी वकिल राजन घिमिरेले राष्ट्रिय बैंक ऐन हुँदाहुँदै मुलुकी ऐनको खोताचलनअन्तर्गत मुद्दा नचलाइएको जिकिर गरे । 'नक्कली नोटसम्बन्धमा विभिन्न जिल्लामा राष्ट्रिय बैंक ऐनअन्तर्गत मुद्दा चलाइएको छ । त्यहीअनुरूप हामीले पनि सोही ऐनअन्तर्गत मुद्दा चलाएका हौँ,' उनले भने, 'बाँके जिल्लाको हकमा पहिलोपटक यो ऐनअन्तर्गत मुद्दा चलाइएकाले कानुनव्यवासीलाई नौलो लागेको हो ।' उनले राष्ट्रिय बैंक ऐन नयाँ आएकाले सोहीअनुसार मुद्दा चलाएको दाबी गरे । यता नेपाल कानुन परिषद्का काउन्सिलर अधिवक्ता भोला हमालले खोताचलनअन्तर्गतको मुद्दा कुनै पनि बहानामा राष्ट्रिय बैंक ऐनअन्तर्गत चलाउन नमिल्ने बताए । '०१२ सालमा राष्ट्रिय बैंक ऐन आएको हो । कसरी नयाँ भयो ?,' उनको प्रश्न छ । उनले राष्ट्रिय बैंक ऐनमा थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने व्यवस्था नभएकाले सोहीअन्तर्गत मुद्दा चलाइएको दाबी गरे । प्रहरीले अभियुक्तहरूलाई ४५ हजार भारतीय रुपैयाँमा एक लाख नक्कली नोट किन्ने र ५४ हजारमा बिक्री गर्ने गरेको अभियोग लगाएको थियो । भारतीय नक्कली नोट काठमाडौंबाट आउने गरेको अभियुक्तहरूले बयानमा स्वीकार गरेका थिए ।



del.icio.us
Digg
Post your comment