क्यान्टोनमेन्टभित्र झाडापखाला
धनगढी, २७ साउन : कैलालीको सहजपुर गाविसमा रहेको माओवादी जनसेनाको बहुवीर योद्धा स्मृति बि्रगेडमा फैलिएको झाडापखालाबाट ६० जना बिरामी परेका छन् । सोमबार अचानक फैलिएको झाडापखालाबाट ग्रसितमध्ये नौजनाको अवस्था गम्भीर छ । बिरामी जनसेनालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ । दूषित पानीका कारण जनसेनामा झाडापखालाको समस्या देखिएको बहुवीर योद्धा स्मृति बि्रगेडका स्वास्थ्य विभाग प्रमुख नहकुल सञ्ज्याल 'विराजमान'ले नयाँ पत्रिकालाई बताए । उनले औषधी र स्वास्थ्यकर्मीको अभावमा झाडापखाला नियन्त्रणमा आउन नसकेको जानकारी दिए । विराजमानका अनुसार सरकारी दरबन्दीमा बि्रगेडमा खटिएका एकजना स्वास्थ्यकर्मी पनि कामविशेषले बाहिर गएकै वेला बि्रगेडमा झाडापखाला सरेकाले उपचारमा निकै कठिनाइ भएको छ । झाडापखालाबाट प्रभावित हुनेको संख्या बढ्दै गएपछि कैलालीको मसुरिया गाविसको तालबन्दमा रहेको माओवादी जनसेनाको सातांै डिभिजनबाट एम्बुलेन्स र स्वास्थ्यकर्मी झिकाइएको विराजमानले बताए । यसैबीच, झाडापखालाबाट बिरामी भएपछि उपचारका लागि बि्रगेडमा पुर्याइएका स्थानीय ६ वषीय बालकको मृत्यु भएको छ । बि्रगेडमा उपचार हुन नसकेपछि धनगढी लैजाँदै गर्दा ती बालकको बाटोमा मृत्यु भएको थियो । धनगढी सहजपुरमा रहेको बि्रगेडमा ६ सय ३९ जना जनसेना रहेका छन् । दूषित खानेपानीकै कारण यसअघि हेपाटाइटिस 'बी'को समस्या देखिएका जनसेनालाई उपचारका लागि काठमाडौं पठाइएको थियो ।



del.icio.us
Digg
Post your comment