'बजेट पारित नभए तिनकै लडाकुलाई संकट’
रुद्रप्रसाद भट्ट/नयाँ पत्रिका
पोखरा, २३ असोज प्रधानमन्त्री माधवकुमार नेपालले संसद् अवरोधले बजेट पारित नभए माओवादीकै लडाकुलाई समस्या हुने बताएका छन् । आफ्नै कार्यकर्तालाई संकटमा पार्नेगरी माओवादीले संसद् अवरोध जारी राख्न नसक्ने उनको दाबी छ । कास्कीका जिल्लास्तरीय कार्यकर्तालाई बिहीबार पोखरामा प्रशिक्षण दिँदै प्रधानमन्त्री नेपालले माओवादीले कुनै संकट पार्छ भन्ने विश्वास आफूलाई नभएको बताए । 'माओवादीले बजेट पारित गर्न दिँदैन भन्ने मलाई विश्वासै छैन,' प्रधानमन्त्री नेपालले भने, 'सरकारलाई अप्ठ्यारो पार्न खोजे माओवादीमै विद्रोह हुन्छ ।' संसद्मा ठूलो दल भएकाले धेरै रकम माओवादीकै भागमा पर्ने र उनका कर्मचारी तथा लडाकुसमेतले खान नपाएपछि सहमतिमा आउने प्रधानमन्त्री नेपालको विश्वास थियो । प्रधानमन्त्री नेपालले पहिलो चौमासिक बजेटले मंसिरसम्म धान्नसक्ने जानकारी अर्थमन्त्रीले दिएकाले कुनै समस्या नआउनेसमेत दाबी गरे । केही मिनेट नाराबाजी गर्दैमा संसद् स्थगित गर्नु सभामुखको कमजोरी भएकोसमेत उनले टिप्पणी गरे । उनले भने, 'पाँच-सात घन्टा नाराबाजी गर्न दिएर माओवादीलाई थकाउनुपर्छ ।' माओवादीले सत्ता कब्जा वा तेस्रो आन्दोलन गर्छाैँ भन्नुलाई 'बालहठ र जिद्धीपन'को संज्ञा दिँदै प्रधानमन्त्री नेपालले माओवादी धम्की उग्रवामपन्थी सोच मात्रै भएको बताए । 'अब सत्ता कब्जाको धम्की नदेऊ,' प्रधानमन्त्री नेपालले भने, 'मान्दैनौ भने अनिष्ट हुन्छ ।' माओवादीको तीव्र आलोचना गरेका नेपालले सम्बोधनका क्रममा आफूले नीलकण्ठले विष पिएजस्तै गाली पिएको बताए । हठ र जिद्धी छाडेर माओवादी सहमतिमा नआए अब फकाउन नजाने र कुनै छुट नदिने उनको भनाइ थियो । माओवादीले भनेजस्तो सरकार परिवर्तनको सम्भावना नभएको दाबी गर्दै नेपालले दबाब र चालबाजी छाडेर सरकार पुनर्गठन गर्न आए माओवादीलाई सम्मानजनक स्थान दिइनेसमेत उल्लेख गरे । अनावश्यक ध्वाँस देखाएर सरकारको नेतृत्व लिन्छु भन्नु अप्रजातान्त्रिक प्रवृत्ति भएको उनको भनाइ थियो । माओवादीले प्रधानमन्त्री बनाउँछु भनेर जताततै 'चारो' फालेको तर कसैले चारो नटिपेपछि बहुलाएको पनि टिप्पणी प्रधानमन्त्री नेपालले गरे । 'माओवादीले सुरुमा कांग्रेस-एमाले फुटाउन खोज्यो र पछि एमाले मात्रै भए पनि चोइट्याउन लागिपर्यो,' उनको आरोप थियो, 'सुजातालाई प्रधानमन्त्री बनाउनेसम्मको योजना असफल भएपछि उनीहरू ढुंगामुढामा उत्रेका हुन् ।' प्रधानमन्त्री भएपछि तेस्रोपटक पोखरा आएका प्रधानमन्त्री नेपाल शुक्रबारसम्म पोखरामा बस्नेछन् । उनको सुरक्षामा कास्की प्रहरीले पोखरा बजारभरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । झडपमा सभासद्सहित २४ घाइते प्रधानमन्त्री माधवकुमार नेपाललाई कालोझन्डा देखाउने क्रममा झडप हुँदा सभासद्सहित २४ घाइते भएका छन् । पोखराको एउटा कार्यक्रममा सहभागी हुन आउँदै गरेका प्रधानमन्त्री नेपाललाई माओवादी कार्यकर्ताले कालोझन्डा देखाएका थिए । प्रधानमन्त्री कार्यक्रमस्थल प्रवेशलगत्तै पुत्लासहित नाराबाजी र कालोझन्डा लिएर नाराबाजी गरेका माओवादी कार्यकत्र्ाामाथि ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीले लाठीचार्ज गरेका थिए । प्रहरीको लाठीचार्जबाट कास्की क्षेत्र नं. ४ की सभासद् दुर्गा विक, एकीकृत माओवादी कास्कीका सहइन्चार्ज रामजी बराल जीवनसहित २३ माओवादी कार्यकर्ता घाइते भएका छन् । घटनामा प्रहरी जवान कृष्ण थारू घाइते भएका छन् । उनको आँखा र अनुहारमा चोट लागेको छ ।



del.icio.us
Digg
Post your comment