वार्ता गर्न दुई समूह अग्रसर
विराटनगर/ भूमिगत सशस्त्र संघर्षमा रहेको तराई जनतान्त्रिक पार्टी क्रान्तिकारी र संयुक्त तराई मुक्ति मोर्चाले सरकार सकारात्मक भए आफूहरू शान्तिपूर्ण वार्ताको पक्षमा रहेको सार्वजनिक गरेका छन् । भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले तराईमा आपराधिक गतिवधिमा संलग्न समूहरूलाई सरकारले कारबाही गरे आफूहरूलाई कुनै आपत्ति नहुनेसमेत बताए । पत्रकार सम्मेलनमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका ब्युरो इन्चार्ज आशिकले आफूहरू सशस्त्र संघर्षको पक्षमा नरहेको प्रस्ट पारे । उनले निकट भविष्यमै तराईमा संघर्षरत अर्को सशस्त्र समूह तराई जनतान्त्रिक पार्टी क्रान्तिकारीसँग पार्टी एकीकरण हुन लागेको जानकारीसमेत दिए । 'एकीकरणका लागि दुवै पार्टीको ब्युरो तहमा सहमति भइसकेको छ र छिट्टै केन्द्रीय समितिले निर्णय गर्नेछ,' उनले भने । पत्रकार सम्मेलनका क्रममा उनले एकीकृत माओवादीबाट अलग्गिएका मातृका यादवसँग पनि एकीकरण गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको दाबी गरे ।



del.icio.us
Digg
Post your comment