स्वास्थ्यचौकी चिकित्सकविहीन
नयाँ पत्रिका कपिलवस्तु, २१ कात्तिक कपिलवस्तुका अधिकांश उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सक तथा कर्मचारी कार्यक्षेत्रमा नगई सदरमुकाम तौलिहवामा बसेर तलब खाने गरेको पाइएको छ । उपचारका लागि स्वास्थ्यचौकी पुगेका बिरामी चिकित्सकको अभावमा भारतका विभिन्न अस्पतालमा गई महँगो उपचार गराउन बाध्य छन् । सशस्त्र समूहको चन्दाआतंक र ग्रामीण भेगमा काम गर्न समस्या भएको भन्दै अधिकांश स्वास्थ्यचौकीका चिकित्सक काज मिलाएर तौलिहवामै बसेका छन् । कोही भने बिदामा छन् । भारतीय सिमानासँग जोडिएका दोहनी, महुवा, गणेशपुर, हरनामपुर, भलवारी, डुमरा, लालपुर, सौराहा तथा महाराजगन्जमा अहेब र कर्मचारी छैनन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार त्यस क्षेत्रका अहेब, मासिका तथा कर्मचारी असुरक्षाका कारण सदरमुकाममा छन् भने कतिपयमा दरबन्दी रिक्त छ । जिल्लाका ६६ स्थानमा उपस्वास्थ्यचौकी रहेका छन् । यहाँ कार्यरत अधिकांश स्वास्थ्यकर्मीको आ-आफ्नै निजी क्लिनिक छ । उनीहरूले अधिकांश समय क्लिनिकमै बिताउने हुँदा स्वास्थ्यचौकीमा स्वास्थ्यसेवा नपाएको सेवाग्राहीको गुनासो छ । मध्यपश्चिमका जिल्लामा फैलिएको झाडापखाला तथा भारतमा बढ्दो स्वाइनफ्लु नेपालमा भित्रिन सक्ने खतरालाई समेत उनीहरूले बेवास्ता गरेको निजी क्लिनिकमा समय दिइरहेको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूको आरोप छ । स्वास्थ्यप्रमुखको अभावमा त्यहाँ कार्यरत मासिका, ग्रास्वाका र पियनले अनुभवका आधारमा उपचार गरिरहेका छन् । हाल जिल्लाका प्राय उपस्वास्थ्यचौकीमा औषधिको समेत अभाव देखिएको छ । अहेब नभएपछि सानो रोगको उपचार गर्नसमेत भारत धाउनुपरेको बताउँछन् दोहनी गाविसका लालसिंह यादव । उनका अनुसार विगत सात महिनादेखि त्यहाँ अहेबको दरबन्दी रिक्त छ । जिल्ला स्वास्थ्य कार्यालयले रिक्त भएका स्थानमा अहेबको दरबन्दी केन्द्रसँग माग गरिरहेको जनाएको छ । केही चौकीमा अस्थायी अहेब राखिए पनि उनीहरूको म्याद समाप्त भएको निमित्तप्रमुख विष्णु जयसवाल बताउँछन् । प्रभावकारी अनुगमन नहुँदा निजी क्लिनिकमा मात्र स्वास्थ्यकर्मीले समय दिने गरेको गुनासो कार्यालयमा आइरहेको बताउँदै डा. अनन्त शर्माले छिट्टै अनुगमन गरी त्यस्ता अहेबलाई कारबाही प्रक्रियामा ल्याइने बताए ।



del.icio.us
Digg
Post your comment