'सरकार विदेशीको इशारामा चलेको छैन’
दोलखा, १० पुस : प्रधानमन्त्री माधवकुमार नेपालले सरकार कुनै पनि विदेशीको निर्देशनमा सञ्चालन नभएको प्रस्ट पारेका छन् । सरकार विदेशी प्रभुहरूको निर्देशनमा चलेको भन्ने भनाइ राष्ट्रवादको आवरणमा आएको राष्ट्रघाति अभिव्यक्ति भएको प्रधानमन्त्रीले बताए । एमाले दोलखाको सातौँ अधिवेशनलाई शुक्रबार सदरमुकाम चरिकोटमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले सरकार नेपाल र नेपाली जनताको हितअनुकूल चलेको दाबी गरे । उनले भने, 'छिमेकी मित्रराष्ट्रहरूसँग सरकारको सम्बन्ध सुमधुर छ, छिमेकी मुलुकको विरोध गरेर मात्र समस्या समाधान हुने होइन ।' उनले नेपालका तमाम समस्या नेपाली आफैँले समाधान गर्नसक्ने भन्दै समस्या समाधानका लागि इमानदार बन्न माओवादीलाई आग्रह गरेका छन् । 'विरोध र आन्दोलनलाई छाडेर सहमति र सहकार्यका साथ अघि बढ्न सबैलाई मेरो आग्रह छ,' उनले भने । शनिबारदेखि सुरु हुने आफ्नो चीन भ्रमणमा दुई देशबीच सीमा व्यवस्थापन, सीमाक्षेत्रका जनताको सहज आवतजावत र सामान आपूर्ति तथा ल्हासा काठमाडौं सीधा रेलमार्ग विस्तारको प्रस्ताव गरिने जानकारी पनि प्रधानमन्त्रीले दिए । आफ्नो नेतृत्वको सरकारले मुलुकको शान्तिसुरक्षामा सुधार ल्याएको र जनताले शान्तिको अनुभूति गरेको उनको दाबी थियो । सेना समायोजनका लागि सरकार प्रतिबद्ध र इमानदार रहेको भन्दै प्रधानमन्त्री नेपालले सेना समायोजन नगरी चुनावमा नजाने स्पष्ट पारे । एकीकृत माओवादीले विध्वंस मच्चाउनमात्र विरोध गरिरहेको र माओवादी दुई दिनको घामजस्तो भएको उनको टिप्पणी थियो । अधिवेशन उद्घाटनका क्रममा माओवादीले कालोझन्डा देखाएर प्रधानमन्त्रीको विरोध गरेका थिए । उनले भने, 'अरू दलको आन्तरिक सभामा कालोझन्डा देखाउनु ठीक होइन ।' अर्काको कार्यक्रम बिथोल्न खोजेर बिगि्रएको मति प्रदर्शन नगर्न प्रधानमन्त्रीले माओवादीलाई सुझाब दिए ।



del.icio.us
Digg
Post your comment