सेनामा पेन्सन पनि
तलब पनि'काम गर्दै जाँदा त्यही ठाउँमा कुनै व्यक्ति विज्ञ हुन्छन् । र, उसलाई त्यही ठाउँमा राख्नैपर्ने हुन्छ,' सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीले भने । तर, नेपाली सेनामा कुनै सीमा सुरक्षाविज्ञ, युद्धविज्ञ र रक्षाविज्ञ जन्मिएनन् र पेट्रोलपम्पविज्ञ, क्यान्टिनविज्ञ र एकाउन्टविज्ञ मात्र जन्मिए भन्ने उनले बताएनन् ।
नयाँ पत्रिका काठमाडौं, १२ साउन नेपाली सेनाबाट अवकाश लिएर सेनामै काम गर्ने अनौठो परम्परा छ नेपालमा । अवकाश पाएपछि पेन्सन लिने र करारबापत तलब पनि बुझ्ने करिब सय अधिकारीका कारण सेनामा असन्तुष्टि बढेको छ । नेपाल सरकारले पेन्सन र तलबको दोहोरो सुविधालाई निषेध गरेको छ । तर, सरकारी कोषबाटै चल्ने सेनाले केही अधिकारीलाई पेन्सन र तलब दिँदै आएको छ । सैनिक सेवाबाट अवकाश पाइसकेकालाई पनि जंगी अड्डाले करारमा नियुक्त गर्दै आएको छ । सेनाभित्रै दक्ष र अनुभवी जनशक्ति हुँदाहुँदै अवकाश पाएका व्यक्तिलाई वर्षौंसम्म करारमा नियुक्त गरिएकोमा सेनामा असन्तुष्टि बढेको स्रोतको भनाइ छ । सेनामा नेतृत्व गर्ने व्यक्ति फेरिए पनि करारमा काम गर्नेहरू भने यथावत् छन् । सैनिक स्रोतअनुसार करारमा काम गरेकाहरूलाई करारबापत दिने सुविधा र तलब सेनाको आन्तरिक कोषबाट दिने गरिन्छ । यसमा सेनाको कोषबाट वर्षेनी लाखाँै खर्च हुने गर्छ । करारमा काम गरेकाहरूले पेन्सनबापत सरकारी र करारबापत सेनाको कोषबाट दोहोरो रकम बुझ्ने गर्छन् । पेट्रोेलपम्प, अस्पताल, औषधोपचार, बजेटलगायतका सेनाका महत्त्वपूर्ण ठाउँमा यसरी वर्षौंवर्षसम्म करारमा नियुक्त गर्ने गरिएको छ । करारमा राखिएकाहरू सेनाको तल्लो तहदेखि कर्णेलसम्मका अधिकारी छन् । स्रोतका अनुसार सेनामा करारमा काम गर्नेहरू ९२ जना छन् जसमध्ये १६ जना अधिकृत छन् । महासेनानी मकरबहादुर कार्कीले तत्कालीन शाही नेपाली सेनाबाट ०५१ सालबाट अवकाश लिएका हुन् तर उनी सेनाकै पेन्सन र तलब खाइरहेका छन् । उनी १६ वर्षदेखि सेनाको भद्रकाली पेट्रोलपम्पमा करारमा कार्यरत छन् । यसैगरी ०५० सालमा अवकाश पाएका सेनानी हरिबहादुर कार्की विगत १७ वर्षदेखि करारमा कार्यरत छन् । उनले सेनालाई चाहिने आन्तरिक सामान खरिद गरेर आपूर्ति गर्छन् । यसबापत सेनामा करिब एक अर्बको बजेट हुने गरेको छ । त्यस्तै अवकाशप्राप्त सेनानी पवित्रजंग कार्की १० वर्षदेखि सेनामा करारमा कार्यरत छन् । उनी हाल सेनाको बजेट महाशाखामा काम गर्छन् । सेनाका अर्का प्रमुख सेनानी दीपकनरसिंह रायमाझीले अवकाश पाएबापत पेन्सन र अहिले काम गरिरहेबापत तलब पनि लिइरहेका छन् । उनी पनि सेनाको पेट्रोलपम्पमा रहेका छन् । सेनामा रहँदा उनी आपूर्ति तथा यान्त्रिक गणमा कार्यरत थिए । यसैगरी सेनाको कालीबहादुर गणबाट अवकाश पाएका सेनानी गोपालराज पोखरेल १५ वर्षदेखि सेनामै करारमा काम गर्दै आएका छन् । उनी हाल सेनाको लगनखेलमा रहेको पेट्रोलपम्पमा काम गर्छन् । कृष्णबहादुर सिलवाल त ३३ वर्षदेखि सेनाको एउटै ठाउँमा र एउटै विभागमा काम गर्दै आएका छन् । उनी अहिले पनि सेनाका प्रधानसेनापतिको कोषको हिसाबकिताब हेर्ने ठाउँमा काम गर्छन् । उनले सेनाबाट १३ वर्षअघि नै अवकाश पाएका थिए, तर अहिलेसम्म उनले त्यही विभागमा काम पाइरहेका छन् । सेनाका वासुदेव शर्मा चार वर्षदेखि सेनामा करारमा कार्यरत छन् । उनी हाल सेनाको औषधोपचार सेवा उपसमितिमा कार्यरत छन् । अवकाश पाउनुअघि पनि उनी यही विभागमा कार्यरत थिए । आफूसँग दक्ष र अनुभवी जनशक्ति भएको दाबी गर्दै आएको सेनाले महत्त्वपूर्ण ठाउँमा भने करारमा किन मान्छे राखिरहेको छ ? त्यो पनि कमाइ हुने ठाउँमा मात्र करारमा किन राखिन्छ ? सेनाभित्रै प्रश्न उठिरहेको छ । तर, प्रश्न उठाउने सैनिकले भने अनुशासनका कारण नाम खुलाउन चाहेनन् । तर, सैनिक प्रवक्ता रमीन्द्र क्षेत्री भने सेनामा करारमा राखिनु स्वाभाविक भएको बताउँछन् । 'हामीले आवश्यकता देखेर नै करारमा राखेका हौँ । काम गर्दै जाँदा त्यही ठाउँमा कुनै व्यक्ति विज्ञ हुन्छन् । र, उसलाई त्यही ठाउँमा राख्नैपर्ने हुन्छ,' क्षेत्रीले भने । तर, राष्ट्रिय सुरक्षाको जिम्मेवारी बोकेको नेपाली सेनामा कुनै सीमा सुरक्षाविज्ञ, युद्धविज्ञ र रक्षाविज्ञ जन्मिएनन् र पेट्रोलपम्प र एकाउन्टविज्ञ मात्र जन्मिए भन्ने उनले बताएनन् ।



del.icio.us
Digg
Post your comment