३२ लाख हिनामिना गरेको ठहर
काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एलाइन्स इन्स्योरेन्स कम्पनीका पदाधिकारीले बिमकको खाताबाट ३२ लाख रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ । इन्स्योरेन्सका पदाधिकारीले बिमकको खाताबाट ५१ लाख ३५ हजार रकम हिनामिना गरेको भनी आयोगमा परेको उजुरी छानबिन गर्दा ३२ लाख हिनामिना भएको पाइएको हो । आयोगले १९ लाख कम्पनीको खातामा जम्मा भएको र बाँकी रकम दाखिला नभएको देखिएकाले सो रकम पदाधिकारीबाट असुल गर्न बिमा समितिलाई निर्देशन दिएको छ । आयोगले हिनामिना गर्ने पदाधिकारीलाई बिमा कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको छ । यसैगरी बिमाशुल्कबापत उठ्न बाँकी देखिएको २ करोड ७९ लाखमध्ये १ करोड ६३ लाख रुपैयाँ अपलेखन भएकाले नियमअनुसार कारबाही गर्न आयोगले सिफरिस गरेको छ । आयोगले बिमा समितिको छानबिन प्रतिवेदनको आधारमा सो निर्देशन दिएको हो । आयोगले समितिलाई दिएको निर्देशनमा कर्मचारीहरुको लागी पेन्सनलगायत कल्याणकारी कोषको व्यवस्था गरी नाफा कायम गराउन, बिमाशुल्क समयमै बैंकमा जम्मा गरी लेखा व्यवस्था मिलाउन, पुनर्बिमाबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन र कम्पनीको नाममा खरिद गरिएका गाडी व्यक्तिगत काममा प्रयोग नगरी सही कार्यमा प्रयोग गर्ने व्यवस्था मिलाउन उल्लेख गरिएको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १० करोड पुर्याउनुपर्ने कानुनी व्यवस्था भएकोमा ५ करोड ९९ लाख रुपैयाँ मात्र भएकाले कानुनअनुसार चुक्ता पुँजी बढाउने व्यवस्था गर्न पनि आयोगले समितिलाई निर्देशन दिएको छ । कम्पनीको तीनकुनेस्थित निर्माणाधीन भवन स्वीकृत मापदण्डविपरीत भएकाले प्रचलितकानुन अनुसार कारबाही गर्न आयोगले काठमाडौं महानगरपालिकालाई पनि निर्देशन दिएको छ ।



del.icio.us
Digg
Post your comment