Newsletter
Email:
Home | कभरस्टोरी | औषधि भन्दै रक्सी खान्छन् मिर्गौला बेच्नेहरू

औषधि भन्दै रक्सी खान्छन् मिर्गौला बेच्नेहरू

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काभ्रे, २४ साउन

मिर्गौलारोगीलाई डाक्टरले रक्सी नखानका लागि सिफारिस गर्छन्, तर मिर्गौला बेचेका काभ्रेका कयौं 'बिरामी' औषधि भन्दै दिनहुँ रक्सी खान्छन् ।

काभ्रेको होक्से, पाँचखाल, महादेवस्थान, ज्याम्दीलगायतका गाविसका करिब ७५ जनाले मिर्गौला बेचेका छन् । कमजोर आर्थिक अवस्थाका उनीहरू एउटा मिर्गौला बेचेका कारण थप शारीरिक र मानसिक समस्या भोग्न बाध्य छन् ।

एउटा मिर्गौला गइहाल्यो, रक्सीका कारण अर्को काम नलाग्ने हुन सक्छ । तर पनि ज्यान धरापमा राखेर रक्सी खाइरहेका छन् उनीहरू । 'मिर्गौला निकालेको ठाउँको घाउ दुख्छ,' ज्याम्दी- ७ की बिजुला परियारले भनिन्, 'रक्सी खाएपछि घाउ दुख्न कम हुन्छ ।'

रक्सी खाएपछि दुखाइ कम हुने र मानसिक रूपमा पनि बलियो हुने परियारको दाबी छ । उनले चार वर्षअगाडि भारतको चेन्नई पुगेर ६० हजारमा मिर्गौला बेचेकी हुन् ।

परियारमात्रै होइन ज्याम्दीकै माधव पराजुली पनि रक्सीले दुखाइ कम हुने दाबी गर्छन् । एक बिहान रक्सीकै नशामा भेटिएका उनले भने, 'मिर्गौला बेचेको पीडा भुल्न पनि रक्सी नै सहारा बनेको छ ।'

स्थानीय शिक्षक बद्री ढुंगानाले मिर्गौला बेच्नेको लगत राखेका मात्र छैनन्, मिर्गौला बेच्न हुँदैन भन्दै जनचेतना अभियान पनि चलाएका छन् । तर, पैसाको लोभ र दलालको जालमा परेर मिर्गाैला बेचिरहेका छन् स्थानीय बासिन्दा ।

मिर्गौला बेचेपछि अत्यधिक रक्सी सेवन गरेकै कारण यो क्षेत्रमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । अत्यधिक रक्सी सेवनकै कारण श्रीमान् तेजबहादुर श्रेष्ठको मृत्यु भएको थियो । श्रीमती सरस्वतीका अनुसार तेजबहादुरले दुखाइ कम गर्ने निहुँमा अत्यधिक रक्सी खाएका कारण ज्यान गएको हो । 'बिहान/बेलुका रक्सी नखाए धेरै दुख्यो भन्नुहुन्थ्यो,' उनले नयाँ पत्रिकासँग भनिन्, 'रक्सीका कारण अर्को मिर्गौला पनि फेल भयो ।'

कमजोर आर्थिक अवस्था भएका कारण औषधि खान र उपचार गराउन नसकेको मिर्गौला बेच्नेहरूको भनाइ छ । 'अस्पतालसम्म जान पैसा छैन, १० रुपैयाँको रक्सी खाए सबै ठीक हुन्छ,' आठ वर्षअघि मिर्गौला बेचेकी पाँचखाल- ५ की कान्छीमाया तामाङले भनिन् ।

दैनिक २० रुपैयाँको रक्सी आफ्ना लागि अनिवार्य भएको बताउने कान्छीमायाले काम गर्नकै लागि रक्सीकोे सहारा लिनुपरेको बताइन् । कतिपय कमजोर आर्थिक अवस्थाका कारण अस्पताल नगएको बताउँछन्, कतिपय कानुनको फन्दामा पर्ने डरले समेत अस्पताल जान सकेका छैनन् ।

आर्थिक अभावकै कारण मिर्गौला बेचेको बताउँछन् उनीहरू । तर, मिर्गौला बेचेपछि पनि उनीहरूको आर्थिक अवस्था सुधि्रएको छैन । अधिकांश दलालबाट ठगिएका छन् भने कतिपयले मिर्गौला बेचेर आएको पैसा भोजभतेरमा सकेका छन् ।

शिक्षक ढुंगानाका अनुसार कतिपयले मिर्गौला बेचेपछि आएको पैसाले गाउँभरिकालाई भोज ख्वाएका छन् भने कोहीले रक्सी खाएरै पैसा सकेका छन् ।

दलालले एक लाख रुपैयाँभन्दा बढी दिन्छु भने पनि अधिकांशले ४०/५० हजार मात्र पाएका छन् ।

सुरुमा एक लाख ५० हजार रुपैयाँ दिन्छु भनेर मिर्गौला बेचे पनि पछि दलालले ३० हजार रुपैयाँ मात्र दिएको जैसीथोक- ८ का ३२ वषर्ीय कृष्ण नेपालीले बताए । उनले भने, 'धनी भइन्छ भनेर मिर्गौला बेचियो, झन् गरिब पो भइयो ।'

मिर्गौला बेचेको पैसा घर-व्यवहार चलाउन प्रयोग गर्नेहरू निकै कम छन् । ज्याम्दीकी बिजुला परियारले मिर्गौला बेचेको पैसाले सानो घर बनाएकी छिन् भने कान्छीमायाले छोराछोरी पढाएको बताइन् ।

०४६ सालदेखि सुरु भएको मिर्गौला बेच्ने क्रम अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समयमा केही हदसम्म बिक्री गर्नेको संख्या कम भए पनि रोक्न नसकिएको शिक्षक ढुंगानाले बताए । उनले भने, 'कतिपय मिर्गौला बेच्नेहरू नै अहिले दलाल बनेका कारण समस्या झन् बढेको छ ।' उनका अनुसार मिर्गौला बेचिसकेकाहरूले आफूसँग पैसा भएको र स्वास्थ्यमा पनि असर नपरेको भन्दै लोभमा पारेर बिक्रीका लागि लैजाने गरेको बताउँछन् ।

Subscribe to comments feed Comments (3 posted):

Narea on 09/08/2009 11:31:14
avatar
YO NEPALI JANTA KATI SAMMA GARIB RA NIMUKHA CHAN BHANNE SAWAL HOINA. YO TA RAKSI LE MANCHE LAI KATI SAMMA DAS BANAUCHA BHANNE PRAMAN MATRA HO, AFANAI KIDNEY BECHI BECHI RAKSI KHANU PARNE. GARIBI TA BAHANA MATRA HO. KIDNEY NABECHERA PANI GARIB LE AFANO PARIVAR PALEKAI CHAN TA?
Thumbs Up Thumbs Down
1
Ramji Balami,rbalami2008@gmail.com on 09/08/2009 05:59:17
avatar
नेपाली जनता गरीब छन । नेपाली जनता भोका छन । नेपाली जनता निमुखा छन । नेपाली जनता सोझा छन । त्यसैले यो दलाली र ठग हरु लाई राहत मिलेको छ । यस्ता अपराधीक कार्य गर्ने लाई कारबाही को सटा प्रोत्सहन गर्ने गर्दछ । त्यसैले सुरुमा नाक को आधार मा मान्छे लाई हेर्नु हुँदैन, कारबाही कडा बनाउनु पर्छ ।
Thumbs Up Thumbs Down
0
dhunnakari on 09/08/2009 05:13:50
avatar
janata kati pidit, kati dayaniya 6an, desh ko aarthik sthity badhdo 6 bhaner kagaj ma lekhin6, janataaharu aafno amulya sharirik anga becher bachnu parne. Dhikkar 6 Nepal sarkaar ko arth mantrilaai.
Thumbs Up Thumbs Down
-1
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.33
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?