एकै दिन ४५ गोल
काठमाडौं/ कोकोकोला कप अन्तरविद्यालय राष्ट्रिय लिग फुटबल प्रतियोगिताको अन्तिम चरणका खेल मंगलबारदेखि सुरु भएको छ । दरशथ रंगशालामा सम्पन्न चार खेलमा ४५ गोल भयो । बोटलर्स नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा सौंठा उच्चमाविले डि्रमल्यान्ड हाइस्कुललाई १९-२ को फराकिलो अन्तरले हरायो । सौंठाका लागि प्रेम तामाङ र फिरोज तामाङले दोहोरो हयाटि्रक गरे । यसैगरी सन्तोष सेलिङले पाँच गोल ठोके । यसैगरी, अमन कुमारको चार गोलको मद्दतले जनक बोर्डिङ स्कुलले ठेकराज माविलाई ८-२ ले पाखा लगायो । अमनले खेलको ४३औं मिनेटमा आफ्नो हयाटि्रक पूरा गरे । ठेकराजका लागि कृष्ण चौधरीले दुई गोल गरे । छनोट चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेको सिद्धार्थ बोर्डिङ स्कुलले अन्तिम चरणमा खराब सुरुवात गर्यो । पोखराको गण्डकी आवासीय बोर्डिङबाट सिद्धार्थ ८-० ले पराजित भयो । टोलीको जितमा कपिल आलेमगरले चार गोल गरे । दिनको अन्तिम खेलमा राधिका माविले शान्तिनिकुञ्ज बोर्डिङलाई प्रतिस्पर्धात्मक खेलमा ५-३ ले निराश गर्यो । यसैबीच करार कर्मचारी समितिले राष्ट्रिय खेलकुद परिषद्मा अनिश्चितकालीन तालाबन्दीका कारण प्रतियोगिताको अन्य खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने आयोजकले जनाएको छ । ( सुमिना शर्मा -प्रशिक्षार्थी)



del.icio.us
Digg
Post your comment