जेल परे शेरचन
काठमाडौं/ 'दरबार-हत्याकाण्डको मुख्य योजनाकार मै हुँ' भनेर कुर्लिने तुलबहादुर शेरचनलाई सरकारले जेल हालेको छ । चिकित्सकले उनी कडा मानसिक रोगी भएको ठहर्याएका थिए ।
अस्पतालमा राखेर उपचार गराउन चिकित्सक टोलीले दिएको सुझाबविपरीत शेरचनलाई जेल हालिएको हो । मानसिक अस्पतालले दिएको प्रतिवेदनमा उनी कडा खालको मानसिक रोगबाट ग्रस्त भएको उल्लेख छ । उपचारको साटो उनलाई जेलमा राखिएकामा अस्पतालले आपत्तिसमेत जनाएको छ ।
'हामीले उपचारका लागि सिफारिस गरे पनि उनलाई जेलमा लगियो,' अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनले नयाँ पत्रिकासित भने ।
आठ वर्षअघि भएको दरबार-हत्याकाण्ड आफ्नै योजनामा घटाइएको भन्दै ६० वषर्ीय शेरचन सञ्चारमाध्यममा प्रकट भएका थिए । राजधानीमै पत्रकार-सम्मेलन गरेर उनले आफू कथित रोयल इन्टेलिजेन्स ब्युरोको प्रमुख भएको दाबी मात्र गरेका थिएनन्, हत्याकाण्डका योजनाबारे सबै प्रमाण आफूसित सुरक्षित रहेकोसमेत बताएका थिए । लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको थियो । हनुमानढोका ल्याएर केरकार गरेपछि मानसिक रोगी भएको आशंकामा उनको स्वास्थ्य परीक्षण गराइएको थियो ।
शेरचनलाई साइक्याटि्रक सोसाइटीका अधिकारीहरू सम्मिलित टोलीले परीक्षण गरेको थियो । मानसिक अस्पतालले आफ्नो प्रतिवेदन मजबुत बनाउन शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेजका विशेषज्ञबाट पनि शेरचनको स्वास्थ्य परीक्षण गराएको थियो । सबैले उनी कडा प्रकारका मानसिक रोगी भएको प्रमाणित गर्दै उपचारका लागि सिफारिस गरेको नेपाल मानसिक अस्पतालका निर्देशक शेरचनले बताए ।



del.icio.us
Digg
Post your comment