यसरी जन्मियो सोलार-कार
बाग्लुङका कुशल केसीले सोलार-कार बनाएर सफल परीक्षण गरेपछि सर्वत्र उनको चर्चा र प्रसंशा भयो । छ महिनाअघि 'स्पीडिइगल' नामको हेलिकप्टर प्रदर्शन गर्ने क्रममा सोलार-कार बनाउने घोषणा गर्दा उनको घोषणलाई धेरैले पत्याएनन् । अन्ततः उनले त्यो अविश्वासलाई चिरेरै छाडे । अर्थात् सबैका अगाडि सोलार-कार गुडाएर देखाए । अमृत आदर्श उच्च मावि बाग्लुङमा कक्षा १० मा अध्यनरत १६ वषर्ीय कुशल केसीले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी 'सोलार-कार' निर्माण गरेका हुन् । कुशलद्वारा निर्मित कारमा तीनजना बस्न सकिन्छ । सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम, विभिन्न संघ/संस्था र व्यक्तिगत गरी ६ लाखको लागतमा उक्त सोलार निर्माण गरेको बताए । यसरी बन्यो सोलार-कार यसअघि उनले स्पीडिइगल नामक रोबोट हेलिकप्टरको सफल प्रदर्शन गरिसकेका थिए । सोलार कार बनाउने घोषणा गरेपछि कहाँ र कसरी खर्चरकम जुटाउने भन्ने समस्याले उनलाई पिरोल्यो । 'आर्थिक संकलन कसरी गर्ने भन्ने समस्याले पिरोलेको थियो,' कुशलले भने, 'विद्यालय र सहपाठीको सहयोगमा आर्थिक संकलन अभियान चलाइयो ।' उनको आँटलाई प्रोत्साहित गर्न विद्यालयले परिसरमै सांस्कृतिक कार्यक्रमको आयोजना गरी विभिन्न संघसंस्थालाई सहयोगको लागि आग्रह गर्यो । कुशलका पिता भीमबहादुर प्राइभेट क्षेत्रको पानी, बिजुली र फोनको महसुल उठाउने काम गर्छन् । स्थानीय सिलाई प्रशिक्षण केन्द्रमा काम गर्छिन् उनकी आमा रुद्र खड्का । छोराको सोलार-कार निर्माणका लागि रकम उपलब्ध गराउने हैसियत उनीहरूको थिएन । विद्यालयले आर्थिक संकलनमा पूर्ण रूपमा सहयोग गरेपछि उनी रातदिन नभनी अनवरत खटिइरहे । 'कारका लागि सामान जुटाउन बुटवलदेखि देशका विभिन्न भाग धाउनुपर्यो,' कुशलले भने, 'सामग्री जुटाउनमात्रै ३ महिना लाग्यो ।' आर्थिक संकलन गर्नका लागि विद्यालयले सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन गरेको थियो भने कुशलका पिता भीमबहादुरले केही रकम आफन्तसँग ऋण गरेर जुटाएका थिए । उनले भने, '४२ दिनमा यो कार निर्माण सम्पन्न भयो ।' उक्त सोलार-कार ३ क्विन्टल तौलको छ । 'यो प्रतिघन्टा ५० किमीका दरले गुड्न सक्छ,' उनले भने, 'सोलार-कारमा जोडिएको सोलारको फोटोसेलले लाइट इनर्जीलाई इलेक्टि्रक इनर्जीमा परिवर्तन गर्छ र सोही ब्याट्रीबाट चार्ज भएको इनर्जी मोटरमा पुगेर कार गुड्छ ।' गेयर नभएको कारलाई एउटै स्वीचले अगाडि-पछाडि चलाउन सकिन्छ । यसमा २० वाटको प्यानल ६ ओटा, १८ एम्पायरको ब्याट्री २० ओटा र मोटरको प्रयोग गरिएको छ । सोलार-कार नै किन ? टेक्नोलोजीको विकासमा माहिर जापानले काम गर्नका लागि जनशक्तिबिनाको रोबोट प्रयोग गर्न थालेको छ । स्वचालित रोबोटको आविस्कार विकल्प बनेका धेरै उदाहरण छन् । अर्कोतिर पेट्रोलियम इन्धनको मूल्य बढ्दै गएको छ । 'नेपालमा पेट्रोलको बारम्बार अभाव हुनुले पनि सोलार-कार निर्माण गर्ने सोच जन्मियो,' कुशलले भने, 'धूवाँबाट प्रदूषित बन्दै गएको विश्वको वातावरण जोगाउन र नेपालमा सधैँ खड्किरहने डिजेल/पेट्रोलको अभावको विकल्पमा सोलार-कार निर्माण गर्ने रुची जाग्यो ।' नेतादेखि प्रधानमन्त्रीसम्मको ध्यान तान्यो कारले सोलार-कारको सफल परीक्षणपछि पार्टीकामको सिलसिलामा बाग्लुङ आएका नेपाली काँग्रेसका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कारको निरीक्षण गरी सहयोग गर्ने आश्वासन दिए । बाग्लुङ, पोखरा र काठमाडौँमा कारको प्रदर्शनी गरियो । प्रधानमन्त्री माधव नेपालले कुशलनिर्मित कारमा कुशलसँगै बसी फोटोसमेत खिचाए । कुशललाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले बुटवलमा रथयात्रासमेत गरायो । नेतादेखि प्रधानमन्त्री, विभिन्न संघसंस्थाबाट सम्मान र आश्वासन पाएका कुशलले राज्यबाट भने पर्याप्त सहयोग नपाएको गुनासो गरे । 'सरकारी निकायबाट कुनै सहयोग पाएको छैन,' उनले भने, 'सरकारले सपोर्ट गरेमा नयाँ प्रविधिको विकास गर्न सकिन्छ भन्ने सोच छ । नेताहरूले आश्वासनमात्रै दिने चलन छ, यस्तो परिपाटीले प्रतिभाले प्रष्फुटन कसरी पाउन सक्छ र ?' मिसन एसएलसी २०५० सालमा जन्मिएका कुशल अहिले एसएलसी परीक्षाको तयारीमा छन् । सोलार-कार निर्माणपछि चर्चाको पात्र बनेका कुशललाई सम्मान थाप्न भ्याइनभ्याइ छ । बाग्लुङमा आयोजित प्रायः कार्यक्रममा उनलाई सम्मान गरिन्छ । 'अब एसएलसीमा डिस्टिङ्सन ल्याउने र त्यसपछि सोलार-कारलाई आधुनिक बनाउने योजना छ,' कुशलले भने । एसएलसी परीक्षा आउन दुई महिनामात्रै बाँकी रहेकाले विभिन्न मेला/महोत्सवमा सोलार-कार प्रदर्शनका लागि आएका अफर पनि पूरा गर्न नसकेको उनले बताए । सोलार-कार निर्माणसँगै विद्यालयको नाम राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल कुशलबारे अमृत आदर्श उच्च माविका पि्रन्सिपल महेशचन्द्र प्रधान भन्छन्, 'एसएलसीमा उत्कृष्ट अंक ल्याउनेमा म ढुक्क छु । उनको आगामी योजनालाई सफल बनाउने कार्यमा सहयोग भइरहनेछ ।' बाल्यकालको स्वभाव केटाकेटीमा जिद्दी स्वभावका कुशलले दुई कक्षामा पढ्दै गर्दा पहिलो पटक बिग्रेको टेपको मोटरबाट पङ्खा बनाएका थिए । इलेक्ट्रोनिक्स सामान बिगारेर पुन मर्मत र नयाँ सामग्री बनाउन तल्लीन हुने उनको यात्राको विरासत टेलिस्कोप, माइक्रोप्रोजेक्ट, डाइनामो, फोटोप्रोजेक्टर, इस्पीडिइगलहुँदै सोलार-कार निर्माणसम्म पुगेको हो । हठी र जिज्ञासु स्वभावका कुशलको नाम 'सोलार-कार' निर्माणसँगै देशभरि बालवैज्ञानिकका रूपमा चर्चित हुँदो छ । बाग्लुङ नगरपालिका-३ गुठीमा बस्दै आएका कुशल अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चासो र चर्चाका पात्र बनेका छन् । सम्मान र सहयोगको ओइरो सोलार निर्माणपछि कुशललाई मानसम्मान र सहयोग थाप्न भ्याइनभ्याइ छ । जिल्ला विकास समिति बाग्लुङ, बाग्लुङ नगरपालिका, स्थानीय राजनीतिक दल, व्यवसायी, विद्यालय, क्लबदेखि थुप्रै स्थानीय संघ/संस्थाहरूले उनलाई सम्मान गरिसकेका छन् ।
रामकृष्ण बोहरा



del.icio.us
Digg
Post your comment