युनिटीका सातजना सार्वजनिक
वित्तीय ऐन र ठगीमा मुद्दा चलाइने
नयाँ पत्रिका काठमाडौं, २७ जेठ एक महिनायता पक्राउ परेका युनिटी इन्टरनेसनलमा आबद्ध सातजनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । युनिटीको नेतृत्व तहमा रहेका उनीहरूलाई ललितपुर प्रहरीले शुक्रबार जिल्ला अदालतमा पेस गर्ने भएको छ । प्रहरीले युनिटीका आइटी निर्देशक नेत्र राजवंशी, अर्थ-निर्देशक भीम गुरुङ, महाप्रबन्धक शिशिर योगी, आइटी इन्चार्ज सुदीप घिमिरे, लेखापाल भीमबहादुर खत्री, मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रबन्ध-निर्देशक रामदेव यादव र डिपार्टमेन्ट स्टोर निर्देशक इन्द्रबहादुर विकलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी ऐनको ठगी महलअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । फरार रहेका युनिटीका अध्यक्ष काशीराम गुरुङ, प्रबन्ध-निर्देशक विष्णु क्षेत्री, फिल्ड-निर्देशक कृष्णबहादुर क्षेत्री, सञ्चालक महेन्द्र केसी, विश्वनाथ गौतमविरुद्ध समेत सोही मुद्दा दायर गरिएको छ । प्रहरीले उनीहरूलाई 'मस्ट वान्टेड'को सूचीमा राखेर खोजी गरिरहेको छ । यस्तै पक्राउ परेका सातजना र फरार १२ जनाविरुद्ध बैंक तथा वित्तीय संस्था ऐन २०६३ बमोजिमसमेत मुद्दा चलाइने प्रहरीले जनाएको छ । यसका लागि प्रहरीले आवश्यक प्रतिवेदन तयार पारिसकेको छ । वित्तीय ऐन ०६३ अनुसार अनुमति नलिई निक्षेप संकलन गर्नेलाई सो ऐनअन्तर्गत बिगोबराबरको रकम जफत गरी सोभन्दा तीन गुणा बढी रकम जरिवाना तथा दोषीलाई तीन वर्ष कैद सजायको व्यवस्था छ । यस्तै मुलुकी ऐनको ठगी महलमा ठगी गर्नेलाई बिगोबराबरको जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था छ । युनिटीविरुद्ध हालसम्म दुई हजार सात सय ४१ वटा ठगीको उजुरी परेको प्रहरीले जनाएको छ । हालसम्म युनिटीमा तीन लाख ६६ हजार तीन सय ४२ जना सदस्य रहेको र उनीहरूबाट तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार एक सय तीन रुपैयाँ संकलन भएको पाइएको प्रहरी परिसर ललितपुरका एसपी विक्रम थापाले बताए । थापाका अनुसार युनिटीको नाममा प्रतिव्यक्ति आठ हजारदेखि एक हजार सात सय ५० रुपैयाँ संकलन गरेको पाइएको छ । युनिटीको केन्द्रीय कार्यालयमा रहेको सर्भरबाट मात्रै यति सदस्य र रकम उठेको देखिए पनि थप अनुसन्धान भइरहेकाले उनीहरूले उठाएको रकम र सदस्य संख्या बढी हुनसक्ने थापाले बताए । युनिटी ग्रुपले डिपार्टमेन्ट स्टोर, बिमा पोलिसी, एयरलाइन्सलगायत २६ वटा क्षेत्रमा प्रत्यक्ष लगानी रहेको अनुसन्धानबाट खुलेको छ । युनिटीको नाममा काठमाडौं, सुनसरीलगायत नौवटा जिल्लामा र त्यसका सञ्चालकको नाममा देशका विभिन्न स्थानमा थुप्रै जग्गा खरिद भएको पाइएको प्रहरीले जनाएको छ । तर, युनिटीको नाममा विभिन्न वित्तीय संस्था तथा वाणिज्य बैंकमा २६ करोड ३२ लाख ८२ हजार रुपैयाँ नगद फेला परेको र अन्य नगद लगानीको विषयमा अनुसन्धान भइरहेको थापाको भनाइ छ । युनिटीको माथिल्लो तहमा रहेका ३० जना तथा 'डबल प्रेसिडेन्ट'को भूमिकामा रहेकालाई पक्राउ गरेर मुद्दा चलाउन सबै जिल्लामा पत्राचार भइसकेको बताउँदै एसपी थापाले लाखौँ जनतालाई ठगेर हिँड्ने सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, 'सरकारी वा गैरसरकारी जुनसुकै क्षेत्रको माथिल्लो तहको कर्मचारी भए पनि गल्ती गरेको भए सजाय हुन्छ ।'



del.icio.us
Digg
Post your comment