छोरो खोज्दै बंगाली बाबुआमा
काठमाडौं, १४ साउन : पर्वतारोहणका क्रममा दुई वर्षअघि बेपत्ता भएका छोरो खोज्न बंगाली बाबुआमा नेपाल आएका छन् । उनीहरूले नेपाल प्रहरीका अधिकृतहरूलाई भेटेर छोराको खोजीका लागि आग्रह गरेका छन्् । बेपत्ता छोरो मसरुर मोइन सन्नीको खोजीका लागि बंगालादेशका अब्दुल मोइन र उनी श्रीमती जेबुन्निसा मोइन शुक्रबार नेपाल आएका हुन् । बंगालादेशी दूतावासकी प्रवक्ता नसरिनका जाहान लिपीका अनुसार उनीहरूले शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी र प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई भेटेर छोरो खोजिदिन आग्रह गरेका हुन् । प्रहरी महानिरीक्षक ठकुरीले मसरुरको खोजीका लागि सक्दो प्रयास गर्ने आश्वासन दिएको बंगालादेशी दूतावासकी प्रवक्ता जाहानले जानकारी दिइन् । मसरुर सन् २००८ अगस्टमा पर्वतारोहणका लागि भाष्कर नामका सहकर्मीसहित भारतको बाटो हुँदै नेपाल आएका थिए । नेपालस्थित बंगालादेशी दूतावासका अनुसार नेपाल आएलगत्तै उनीहरू ठमेलको ओमतारा होटलमा बसेका थिए । पर्वतारोहणका लागि धादिङ गएकामध्ये नेपाली गाइड भद्र गौली र मसरुरका सहकर्मी भाष्कर फर्किए । तर, मसरुर बेपत्ता छन् । त्यतिवेला बंगालादेशी दूतावासकै आग्रहमा उनको खोजी गरे पनि नेपाल प्रहरीले पत्ता लगाउन सकेको थिएन ।
सहमतिको विकल्प छैन : साना दल काठमाडौं/ मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने तीन राजनीतिक दलले सहमतिमा अगाडि बढ्न प्रमुख तीन दलललाई आग्रह गरेका छन् । कांग्रेसले शुक्रबार आफ्नै दलको कार्यालय सिंहदरबारमा गरेको बैठकमा नेकपा माले, नेकपा संयुक्त र नेपाल प्रजातान्त्रिक समाजवादी दलका नेताले प्रमुख तीन दल सहमतिमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनीहरूले आफूहरू लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् । बैठकमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो उम्मेदवारलाई सघाउने आग्रह गरेका थिए । साना तीन दलका नेताले भने आफूहरूको सहयोगले मात्र बहुमत नपुग्ने भएकाले पहिले एमालेको समर्थन लिनुपर्ने धारणा राखेका थिए ।



del.icio.us
Digg
Post your comment