कांग्रेस नेताहरू जिल्लामा
आज क्षेत्रीय अधिवेशन काठमाडौं, १४ साउन : पार्टीको क्षेत्रीय अधिवेशनका लागि कांग्रेस नेताहरू जिल्लामा पुगेका छन् । क्षेत्रीय अधिवेशन शनिबार ६० जिल्लामा हुँदै छ । क्षेत्रीय अधिवेशनबाट नै महाधिवेशन प्रतिनिधि आउने र त्यसले केन्द्रीय नेतृत्वलाई प्रभाव पार्ने भएकाले नेताहरू जिल्लामा पुगेका हुन् । अधिकांश समय राजधानीमा रहने नेतासमेत यतिवेला जिल्लामै व्यस्त छन् । कांग्रेसले शनिबार देशका दुई ४० क्षेत्रमा एकैसाथ क्षेत्रीय निर्वाचन हुने निर्णय गरेको थियो । तर, आन्तरिक विवाद र समयमा नै केन्द्रीय प्रतिनिधि नपुगेका कारण १५ भन्दा बढी जिल्लाको अधिवेशन केही पछि सर्ने भएको छ । आन्तरिक विवादका कारण भक्तपुर, पर्सा, सप्तरी, सर्लाही, सिराहा, महोत्तरी, कैलाली, डोटी, कालीकोट, मुगु र भोजपुरलगायतका जिल्लाको क्षेत्रीय अधिवेशन शनिबार नहुने भएको हो । सोलुखुम्बु, डोल्पासहितका जिल्लामा समयमा नै निर्वाचन अधिकृत र निर्वाचन सामग्री नपुगेका कारण अधिवेशन रोकिएको छ । आन्तरिक विवादका कारण भक्तपुरमा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन । सप्तरीमा पनि क्रियाशील सदस्यताको विवाद भएको छ । विवाद मिलाउन निर्वाचन समितिले सभापति र सहसभापतिलाई केन्द्रमा झिकाएको छ । सिराहामा पनि सदस्यता विवाद रहेको छ । सर्लाहीको क्षेत्र नम्बर ६ मा विवाद भएपछि अन्य क्षेत्रको अधिवेशनसमेत प्रभावित भएको छ । यसैबीच, गुल्मी, ओखलढुंगा, धनकुटा, सल्यान, सिन्धुली, प्युठान, जाजरकोट, गोरखा, मुस्ताङलगायतका जिल्लामा भने १७ साउनमै जिल्ला अधिवेशन हुने भएको छ । जुम्ला, लमजुङ, पाँचथरमा भने १६ साउनमा र दोलखामा १९ साउनमा जिल्ला अधिवेशन हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य प्रकाशमान सिंह राउतले शनिबार ६० जिल्लामा क्षेत्रीय अधिवेशन हुने जानकारी दिँदै पहाडी र हिमाली गरी एक दर्जन बढी जिल्लामा अधिवेशन नहुने बताए । मौसमका कारण समयमा नै प्रतिनिधि नपुग्दा अधिवेशन हुन नसकेको उल्लेख गर्दै उनले भने, 'मौसमको खराबीका कारण केही जिल्लाका अधिवेशन प्रभावित भएका छन् ।' कांग्रेसको जारी स्थानीय तहको निर्वाचनमा तीन लाख १० हजार क्रियाशील सदस्य प्रत्यक्ष सहभागी छन् । कांग्रेसले एक लाख २८ हजार क्रियाशील सदस्यता नवीकरण गरेको छ भने एक लाख ८२ हजार नयाँ सक्रिय सदस्यता वितरण गरेको छ । त्यसमध्ये महिलाको संख्या १७ प्रतिशत रहेको छ । कांग्रेसको १२औँ महाधिवेशनका लागि हरेक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । त्यसमध्येबाट पाँचजना महासमिति सदस्यसमेत छनोट हुन्छन् ।



del.icio.us
Digg
Post your comment