शिक्षामा उपलब्धि निराशाजनक
नयाँ पत्रिका काठमाडौं, २५ असार सरकारले शिक्षामा गरेको लगानीअनुरूप उपलब्धि हासिल हुन नसकेको एक अध्ययनले देखाएको छ । शिक्षा विभागले कक्षा आठ र पाँचका विद्यार्थीमाझ गरेको राष्ट्रिय उपलब्धि मापन अध्ययन र लगानी प्रभावकारिता अध्ययनबाट उपलब्धि निराशाजनक रहेको स्पष्ट देखाएको छ । विभागले गरेको अध्ययनले राजधानीभन्दा दुर्गम जिल्लामा प्रतिविद्यार्थीका लागि ३५ गुनाले बढी लगानी गरेको पाइएको छ । आर्थिक वर्ष ०६४/६५ मा शिक्षा विभागले सामुदायिक विद्यालयमा सरकारी सहयोगको प्रभावकारितासम्बन्धी गरेको अध्ययनमा यस्तो पाइएको हो । दस जिल्लाका २० विद्यालयमा प्रभावकारिताको अध्ययन गरिएको थियो । अध्ययन प्रतिवेदनका अनुसार मुस्ताङको ज्वालामुखी प्राथमिक विद्यालयमा प्रतिविद्यार्थी ६१ हजार एक सय ९९ सरकारले खर्च गरेको छ । तर, काठमाडौंको नवजागृति माध्यमिक विद्यालयले प्रतिविद्यार्थी एक हजार ६ सय ८५ रुपैयाँ मात्र पाएको उल्लेख छ । प्रभावकारिता अध्ययनकर्ता सिएम अधिकारीले पूर्वाधार निर्माणमा थोरै रकम मात्र खर्च भएको पाइएको बताए । अधिकारीको अध्ययन प्रतिवेदनका अनुसार ६९ प्रतिशत पैसा प्रशासनिक खर्च भएको छ । विद्यालयका पक्की भवन छन्, झ्यालढोका छैनन् । लाइब्रेरी, ल्याबरूम छन्, तर आवश्यक सामग्री नभएको पाइयो । कक्षा आठ र पाँचका विद्यार्थीको राष्ट्रिय उपलब्धि मापनको प्रतिवेदनले उपलब्धि निराशाजनक भएको देखाएको छ । कक्षा आठको राष्ट्रिय उपलब्धि मापनका अध्ययनकर्ता शिक्षाविद् तीर्थराज खनियाँले छोटो उत्तर दिनेबाहेकका प्रश्नको उत्तरमा निकै कमजोर पाइएको बताए । उनका अनुसार देशभरका विद्यार्थीमा एउटै इनपुट भए पनि आउटपुट विद्यार्थीअनुसार फरक पाइएको बताए । निजी विद्यालयका केटाकेटीलाई अभिभावकले दिएको चासोका कारण उपलब्धि धेरै भएको तर सरकारीमा अभिभावकको कुनै चासो नभएको पाइएको बताए । कक्षा पाँचको उपलब्धि पनि उस्तै रहेको छ । शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले विभिन्न अध्ययनले शिक्षाको अवस्थालाई झल्काएको भन्दै कक्षाकोठाभित्रैबाट अब सुधारको सुरुवात गर्नुपर्ने खाँचो औंल्याए । शर्माले गुणस्तर सुधार गर्न नीतिनियममा सुधार गर्नुपर्ने बताए । उनले भने, 'गुणस्तरीय शिक्षाका लागि पहिले योग्य शिक्षक र राम्रो प्रशासक चाहिएको छ ।'



del.icio.us
Digg
Post your comment