कतै ताला, कतै हाजिरपुस्तिका कब्जा
ध्रुव दंगाल/नयाँ पत्रिका सिन्धुपाल्चोक, ७ भदौ शिक्षकले मानोमानी गरेको भन्दै विद्यार्थीले एउटा विद्यालयको शिक्षक हाजिरपुस्तिका एक सातादेखि कब्जामा लिएका छन् भने अर्को एक विद्यालयमा ताला ठोकिएको छ । सिन्धुपाल्चोक ठूलोपाखरको ककलिङ-हरिसिद्धि उमाविका विद्यार्थीले शिक्षक हाजिरपुस्तिका कब्जामा लिएका हुन् भने ठूलोधादिङको धर्मोदय माविमा ताला लगाएका हुन् । विद्यालयमा शिक्षकको अनियमितता बढेपछि आक्रोशित ककलिङका विद्यार्थीले मंगलबार शिक्षक हाजिरपुस्तिका कब्जामा लिएका थिए । शिक्षक लापरबाही छानबिनको माग गर्दै हाजिरपुस्तिका अझै फिर्ता गरिएको छैन । विद्यालय खुले पनि शिक्षकले दैनिक हाजिर गर्न पाएका छैनन् । शिक्षक विद्यालयमा अनियमित उपस्थित हुने गरेको, विनाजानकारी आफूखुसी हिँड्ने गरेको, विद्यालय नआए पनि हाजिर भने गर्ने गरेको आरोप विद्यार्थीले लगाएका छन् । १८ मध्ये मंगलबार एकैदिन १० जना शिक्षक विद्यालय नआएपछि हाजिरपुस्तिका कब्जामा लिएर विद्यार्थी छानबिनका लागि व्यवस्थापन समितिकोमा पुगेका थिए । अहिले हाजिरपुस्तिका व्यवस्थापन समितिको नियन्त्रणमा छ । विद्यार्थी आन्दोलनपछि आठ सय विद्यार्थी अध्ययनरत विद्यालयमा शिक्षकको लापरबाही र अनियमितता पाइएको व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अभिभावक सूर्य लामाले बताए । 'विद्यालय व्यवस्थापनलाई पत्रसमेत नलेखी शिक्षक हप्तौंसम्म बेपत्ता हुने, एकै दिन ठूलो संख्यामा गयल हुने तर हाजिर भने नआएको दिनको पनि गर्दै आएको पाइयो,' लामाले नयाँ पत्रिकासँग भने । विद्यालय व्यवस्थापन समितिले छानबिन गरेर शिक्षकद्वारा अनियमित भएको निष्कर्ष निकाल्दै कारबाहीको निर्णय गरेको छ । 'अनियमितता गर्ने शिक्षकलाई कारबाही गर्ने निर्णय गरेका छौं,' कांग्रेस नेतासमेत रहेका लामाले भने, 'कारबाही सिफारिसको निर्णय जिल्ला शिक्षा कार्यालय पठाउँछौं ।' बर्खे बिदापछि ११ साउनमा विद्यालय खुले पनि पाँच दिन पनि पूरै घन्टी पढ्न नपाएको विद्यार्थीको गुनासो छ । लामा भन्छन्, 'शिक्षकहरूको लापरबाही यो पहिलो पटक होइन, लामो समयदेखि यस्तो हुँदै आएको छ ।' उता बर्खे बिदामा घर गएका प्रधानाध्यापक विद्यालय खुलेको एक महिना बित्दा पनि नफर्केपछि विद्यार्थीले आइतबार धर्मोदयमा तालाबन्दी गरेका हुन् । उनीहरूले पाँच सूत्रीय मागसमेत अघि सारेका छन् । बर्खे बिदामा असार पहिलो साता घर गएका प्रधानाध्यापक राजकुमार राउत अझै विल्द्यालय नफर्केका हुन् । जनकपुर घर भएका राउत विद्यालय खुलेको एक महिना बिते पनि सम्पर्कमा नआएको विद्यार्थीले बताए । साउन पहिलो साता विद्यालय खुलेको हो । 'हेडसर नै नआएपछि ताला लगाएका हौं,' कक्षा १० का छात्र लक्ष्मण लामाले आक्रोश पोखे, 'यसको फाइदा उठाउँदै अरू सर पनि नियमित विद्यालय आउनुहुन्न, पढ्न पाइएन ।' उनले प्रधानाध्यापक नभएपछि अन्य शिक्षककोे मनपरी बढेको बताए ।



del.icio.us
Digg
Post your comment