तीन महिनाकी सुत्केरी कुटपिटपछि घरनिकाला
बच्चालाई नुहाइदिन साबुन माग्दा श्रीमान्ले कुटेर गम्भीर घाइते श्रीमती न्याय खोज्दै सदरमुकाममा
प्रेम बास्तोला/नयाँ पत्रिका सुनसरी, १५ भदौ
तीन महिनाको शिशुलाई नुहाइदिन साबुन माग्दा सुनसरीकी एक महिला श्रीमान्बाट निर्घात कुटिएर घरबाटै निकालिएकी छिन् । इनरुवाबाट सात किलोमिटर दक्षिण-पूर्व श्रीपुर- ७ की २२ वर्षीया मन्जुलाई आफ्नै श्रीमान् राजकिशोर पण्डितले मरणासन्न हुनेगरी कुटेर घरबाट निकालिदिएका हुन् ।
श्रीमान्बाट निकालिएपछि तीन महिनाकी सुत्केरी मन्जु न्याय माग्दै सोमबार ओरेक नेपाल इनरुवाको शरणमा आएकी छिन् । श्रीमान्को कुटाइबाट बेहोस भएकी मन्जुको उपचार अहिले जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।
'बच्चालाई नुहाइदिन र लुगा धुन साबुन र सर्फ माग्दा काठको पिराले टाउको र खुट्टामा रगताम्मे हुनेगरी पिटेर घरबाट निकाले,' बच्चासमेत सँगै लिएर घरबाट निस्किएकी घाइते मन्जुले भनिन् ।
पहिलादेखि नै विभिन्न बाहानामा निहँु खोजेर श्रीमान्ले कुटपिट गर्ने गरेको उनले बताएकी छिन् । 'बिहे गरेको पाँच वर्षसम्म छोराछोरी नभएपछि विभिन्न लाञ्छना लगाएर परिवारका सदस्यले मानसिक यातना दिन्थे,' मन्जुले भनिन्, 'श्रीमान्ले सुरुमा दाइजो नल्याएको भन्दै पिट्थे, पछि ढिलो बच्चा पाएको भनेर पिट्न थाले ।'
श्रीमान्ले आफूलाई आवश्यक सामान खटाएर दिने गरेको उनले सुनाइन् । '१५ दिनका लागि एउटा नुहाउने साबुन र लुगा धुने एउटा सर्फ दिन्थे, यसपटक साबुन र सर्फ माग्दा एक्कासि आफू बसेको काठको पिराले टाउकोमा बजारे,' जिउको नीलडाम देखाउँदै मन्जुले भनिन् ।
श्रीमान्ले बेहोस हुनेगरी कुटपिट गर्दासमेत घरका अन्य सदस्यले वास्ता नगरेको उनको गुनासो छ । पहिला-पहिला जति कुटे पनि घरको विषय किन गाउँमा ल्याउनु भनेर कसैलाई नभनी घटना लुकाउने गरेको, तर आइतबार बेहोसै हुनेगरी कुटेपछि न्यायको खोजीमा लागेको उनले सुनाइन् । 'घरमै सुरक्षा नभएपछि सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई गुहार्न इनरुवा आएको हुँ,' मन्जुले भनिन् ।
अहिले मन्जुको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको छ । उपचार गराउन ओरेक नेपाल सुनसरीले पहल गरेको हो । उनलाई उपचार गराउँदै कानुनी उपचार र मनोविमर्शका लागि ओरेक नेपालको मोरङ जिल्ला कार्यालय विराटनगरमा राख्ने तयारी गरिएको छ ।
सुत्केरी महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्नु अमानवीय व्यवहार भएको अधिकारकर्मी वीरेन्द्र यादवले बताए । देशमा लोकतन्त्रको स्थापनापछि पनि महिलामाथिको हिंसा कम नभएको भन्दै उनले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिए ।



del.icio.us
Digg
australia
lolplay@yahoo.com
tekraj.koirala@yahoo.com
afu galti nagara
testo pasu haru ko yatana sahane kam nagara nepali dd bahini haru mero anurodh chha
Post your comment