Newsletter
Email:
Home | देश | महायज्ञमा सवा-करोड संकलन

महायज्ञमा सवा-करोड संकलन

Font size: Decrease font Enlarge font

नयाँ पत्रिका

सिन्धुपाल्चोक, ३० असोज

सदरमुकामलाई शैक्षिक नगरीका रूपमा विकास गर्ने उद्देश्यले चौतारा बहुमुखी क्याम्पसद्वारा आयोजित महायज्ञमा एक करोड २२ लाख रुपैयाँ नगद संकलन भएको छ । शनिबारबाट सुरु भएको महायज्ञ शुक्रबार समापन भयो ।

महायज्ञको अन्तिम दिन सबैभन्दा बढी २२ लाख रुपैयाँ नगद संकलन भएको आयोजकले जनाएको छ । किसान, उद्योगी, व्यापारी, निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, राजनीतिकर्मी, सभासद्, संघ/संस्था तथा सरकारी कार्यालयले दान गरेका छन् । महायज्ञमा संस्थाको तर्फबाट चौतारा गाविसले सबैभन्दा बढी १० लाख रुपैयाँ नगद प्रदान गरेको छ । चौताराका इन्द्रमणि र कमलमणि श्रेष्ठको परिवारले सबैभन्दा बढी पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 'सन्ततीको भविष्यका लागि सर्वदलीय बैठकबाट निर्णय गराएर दान गर्‍यौँ,' चौतारा गाविस सचिव शेरबहादुर श्रेष्ठले भने ।

महायज्ञको तेस्रो दिनबाट दान गर्नेको घुइँचो नै लागेको थियो । आर्थिक अवस्था कमजोर भएका किसान पनि दान गर्न पछाडि परेनन् । क्याम्पसको आजीवन सदस्य बन्दै अधिकांशले पाँच हजार दान गरेका थिए । चौतारा क्याम्पसमा अध्यापनरत शिक्षकले एक महिनाको पारिश्रमिकबराबर सातदेखि ५० हजार रुपैयाँ दान दिए ।

अमेरिकामा बस्ने चौताराका रामचन्द्र श्रेष्ठले तीन लाख रुपैयाँ नगद दान दिए । 'नयाँ पुस्ताले उच्च शिक्षाका लागि राजधानी धाउनुपर्ने बाध्यता हट्छ भने सहयोग गर्न लोभ लागेन,' एक लाख ५६ हजार रुपैयाँ दान दिएका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने ।

त्यस्तै, पीपलडाँडा गाविस र सानोसिरुवारी गाविसले गाउँको विकासमा आएको अनुदान कटौती गरेर क्रमशः ६ र दुई लाख रुपैयाँ आर्थिक सहयोग गरे । आयोजकका अनुसार सभासद् ल्यार्केल लामाले एक लाख ५६ हजार, अर्की सभासद् डोल्मा तामाङले ५० हजार रुपैयाँ नगद दान दिए । अरनिको यातायात सेवा समितिले तीन लाख रुपैयाँ सहयोग गर्‍यो भने समितिका अध्यक्ष केदार क्षेत्रीले एक लाख ५१ हजार रुपैयाँ दिए ।

जिल्लामै पहिलोपटक स्नातकोत्तर तह सञ्चालन र विज्ञान संकाय थप गर्न महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा करिब ३० लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी दान गर्ने दातालाई आयोजकले पञ्चेबाजासहित बजार परिक्रमा गराएको थियो । चर्चित पण्डित दीनबन्धु पोखरेलले पुराणवाचन गरेका थिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?