बजेट पारित
काठमाडौं/ सरकारले पेस गरेको चालू आर्थिक वर्षको बजेट व्यवस्थापिका संसद्को बैठकले पारित गरेको छ । संसद्को बुधबारको बैठकले बजेटसित सम्बन्धित तीनवटा थप विधेयक पारित गरेपछि बजेट पूर्णरूपमा पारित भएको हो । बुधबारको बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत सत्रौँ संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । तीनवटै विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । मंगलबारको बैठकले बजेटको महत्त्वपूर्ण अंग मानिने विनियोजन विधेयक बहुमतले पारित गरेको थियो । सरकारले पेस गरेको झन्डै पाँच महिनापछि संसद्बाट बजेट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल माओवादीले लगातार सदन अवरुद्ध गरेपछि सरकारले गत असारको अन्तिम साता पेस गरेको बजेटमाथिको छलफलसमेत पूरा हुन पाएको थिएन । बजेट पास नहुँदा 'जनतामा परेको मार्का' लाई ध्यानमा राख्दै माओवादीले सोम, मंगल र बुधबार तीन दिनका लागि सदन चल्न दिएपछि बजेट पारित भएको हो । सरकारले चालू आर्थिक वर्षका लागि कुल दुई खर्ब ८५ अर्ब ९३ करोड रुपैयाँको बजेट पेस गरेको थियो । जसमध्ये चालू खर्चतर्फ एक अर्ब ६० अर्ब ६३ करोड -करिब ५६ दशमलव १८ प्रतिशत) र पुँजीगत खर्चतर्फ एक खर्ब ६ अर्ब २८ करोड ४८ लाख -३७ दशमलव १७ प्रतिशत) रहेको छ । त्यस्तै, सावाँ भुक्तानीतर्फ १९ अर्ब एक करोड -६ दशमलव ६२ प्रतिशत) रुपैयाँ रहेको छ ।



del.icio.us
Digg
Post your comment