Newsletter
Email:
Home | देश | क्रान्तिकारी भूमिसुधार लागू गर्न दलहरू सहमत

क्रान्तिकारी भूमिसुधार लागू गर्न दलहरू सहमत

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, १० मंसिर

संविधानसभा प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने नयाँ संविधानमा समावेश गर्नुपर्ने विषयवस्तु समावेश गरेर अवधारणापत्र र प्रारम्भिक मस्यौदासहितको प्रतिवेदन तयार गरेको छ ।

समितिको बुधबार बसेको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो । यद्यपि, मस्यौदालाई औपचारिक रूपमा हस्ताक्षर गरेर अन्तिम रूप भने शुक्रबार दिइनेछ । समितिले फरक मत राख्नका लागि शुक्रबारसम्मको समय तोकेको छ । त्यस्तै, त्रुटिहरू पत्तालगाउन सदस्यहरूलाई मस्यौदा बाँडिएको छ । शुक्रबार बस्ने समितिको बैठकले मस्यौदालाई पारित गर्नुका साथै सबै सदस्यको हस्ताक्षर गर्ने समितिले जनाएको छ ।

बुधबारको बैठकमा समितिमा मतभेद रहेको क्रान्तिकारी भूमिसुधारसम्बन्धी व्यवस्थामा दलहरूबीच सहमति जुटेपछि मस्यौदाले अन्तिम रूप पाएको हो । संविधानको नीतिमा माओवादीले प्रस्ताव गरेअनुसार सामन्ती भू-स्वामित्व अन्त्य गर्दै क्रान्तिकारी भूमिसुधार लागू गर्ने भन्ने शब्द राख्न दलहरू तयार भएका छन् ।

मस्यौदा तयार गर्ने यो संविधानसभाको आठौँ समिति हो । संवैधानिक समिति, राज्यको शासकीय स्वरूप निर्धारण समिति र राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले भने अझै मस्यौदा तयार गर्न सकेका छैनन् ।

प्राकृतिक स्रोत समितिमा यसअघि, मुआब्जासम्बन्धी व्यवस्थामा फरक मत परेको छ । कांग्रेस र एमालेका अधिकांश सभासद् बैठकमा उपस्थित नरहेको वेला हदबन्दीभन्दा धेरै जग्गा राज्यले अधिग्रहण गर्दा मुआब्जा दिनु नपर्ने माओवादी प्रस्ताव पारित गरिएको थियो । जसमा कांग्रेस र एमालेले फरक मत जाहेर गरेका छन् ।

यसअघि संविधानसभाका राष्ट्रिय हितको संरक्षण समिति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक-अधिकार संरक्षण समिति, सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति, संवैधानिक निकायको संरचना निर्धारण समिति, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, न्याय प्रणालीसम्बन्धी समिति र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिले अवधारणापत्र र प्रारम्भिक मस्यौदासहितको प्रतिवेदन तयार गरिसकेका छन् ।

न्यायप्रणाली समितिको मस्यौदामाथि संविधानसभामा छलफल जारी छ भने अन्य समितिको मस्यौदामाथि संविधानसभाले छलफल गरिसकेको छ ।

Subscribe to comments feed Comments (1 posted):

Rajaram Shrestha on 26/11/2009 05:59:34
avatar
हदबन्दीभन्दा धेरै जग्गा कसैले राख्न नपाउने व्यवस्था नै राम्रो हो । सामन्ती भू स्वामित्वको अन्त्य गर्नु नै पर्छ र भूमि बांझो राख्न नपाइने व्यवस्था पनि हुनुपर्छ । समय सीमा तोकी भूमि बांझो राख्नेको जग्गा अधिग्रहण गर्नुपर्दछ । अनि मात्र नेपालीहरुको मेहनत गर्ने बानी बस्ला की ?
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?