यौनसम्पर्क गर्न नमान्ने बुहारी घरबाट निकालिइन्
नयाँ पत्रिका सप्तरी, २२ मंसिर यौनसम्पर्क गर्न नमानेपछि सप्तरीकी एक महिलालाई ससुराले घरबाट निकालिदिएका छन् । अर्नाहा-४ निवासी शिवशंकर साहकी २८ वषर्ीया श्रीमती प्रमिलादेवीलाई ससुराले घरबाट निकालेका हुन् । श्रीमान् काम गर्न विदेश गएको मौका पारी ससुरा जितन साहले आफूलाई यौनसम्पर्क गर्न प्रस्ताव गरेको र नमानेपछि विभिन्न किसिमका लान्छना लगाएर कुटपिट गर्दै घर छाड्न बाध्य पारेको प्रमिलाले नयाँ पत्रिकालाई बताइन् । 'अनैतिक प्रस्ताव अस्वीकार गरेपछि ससुराले मलाई अन्य व्यक्तिसँग विवाह गर्न दबाब दिए,' प्रमिलाले भनिन्, 'त्यो पनि नमानेपछि निर्घात कुटपिट गर्दै घरबाट निकाले ।' कुटपिट गर्दै ससुराले श्रीमान्सँग अलग हुने कागजातमा सहीछापसमेत गर्न दबाब दिएको उनको आरोप छ । आफूमाथि भएको अन्यायका सम्बन्धमा प्रहरीसमक्ष उजुरी गर्दा पनि ससुरा पक्षको डर, धम्कीका कारण अहिलेसम्म घर जान नसकिरहेको उनको भनाइ छ । उनले न्यायका लागि राजविराजस्थित हुपेक संस्थामा निवेदन दिएपछि हुपेकले पीडकमाथि कारबाही गर्न र पीडितलाई घरमा राख्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घर जान नपाएपछि उनी १५ दिनदेखि राजविराजस्थित आफन्तकहाँ दुई कलिला छोरासहित शरण लिएर बसिरहेकी छिन् । उनले ससुरामाथि जिल्ला अदालतमा कुटपिट र करकाप मुद्दा चलाएको बताइन् । न्यायका लागि हुपेकनामक संस्थामार्फत जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको उजुरीमाथि गत शुक्रबार भएको छलफलमा पीडितका ससुरा जितनले आफूले कुनै जोरजबर्जस्तीबाट प्रमिलालाई घरनिकाला नगरेको दाबी गरेका छन् । सामान्य झगडाको निहुँमा प्रमिला घर छाडेर हिँडेको उनको आरोप छ ।



del.icio.us
Digg
Post your comment