बीभत्स पशुबलि
यत्रतत्र लम्पसार परेका देखिन्छन् टाउको काटिएका राँगाहरू । पूरै युद्धक्षेत्रझँै रगताम्य देखिएको छ, बाराको गढीमाई मन्दिर आसपासको क्षेत्र । अठार हजारभन्दा बढी राँगा ढाल्दै सुरु भएको छ पाँचवर्षे गढीमाईको मेला । यस्तो पशुबलिको सिलसिला लाखौँको संख्यामा हाँस, कुखुरा र बोकाको बलिसम्म जारी रहनेछ मेलारूपी बधशालामा । हिंसाको यो बीभत्स खबर संसारभरिका हजारभन्दा बढी मिडियाले प्रमुखतका साथ प्रचार-प्रसार गरेका छन् । यसले नेपालको हिंस्रक तस्बिर विश्वसामु प्रस्तुत गरेको छ । पशुबलिको संख्या ठूलो हुनुको पछाडि धर्मको आड रहेको पाइन्छ । पशुबलिका लागि हतारिएका धर्मभीरुहरूलाई आफ्ना मनोकामना पूरा हुने आशाले पनि बल प्रदान गरेको देखिन्छ । विशेषतः हिन्दुधर्म र धर्मको नाममा गरिने हिंसाचारी संस्कृतिले बलिप्रथालाई धेरै नै टेवा दिएको छ । यस अर्थमा गढीमाई मेलामा जारी लाखौँको बलिको पृष्ठभूमिमा धर्म, संस्कृति र मानवीय आकांक्षा जोडिएको छ । निःसन्देह व्यक्तिका सांस्कृतिक तथा धार्मिक आस्थाको सम्मान हुनैपर्छ । तर, धार्मिक आस्थाका नाममा हुने हिंसा कहीँ-कतै स्वागतयोग्य हुन सक्दैन । मनोकामना सिद्धि गर्ने नाममा गढीमाईमा भएको पशु-हत्या पनि विवादरहित हुन सकेन ।
हप्ता दिनमा लाखौँको संख्यामा पशुबलि दिइनु कदापि गर्वको विषय हुन सक्दैन । गढीमाईको मेलामा दिइएको लाखौँको पशुबलि संसारकै ठूलो बलिप्रथा पनि हुनसक्छ, तर त्यो आफँै गर्व गर्नलायकको सुप्रथा भने होइन । सांस्कृतिक-धार्मिकप्रथाको नाममा गरिने ठूलो संख्यामा बलिप्रथाले वास्तवमा हिंसाचारको नमुना र बीभत्सताको कुरूप तस्बिर मात्रै प्रस्तुत गरेको छ । यस अर्थमा यस्तो बलिप्रथा र हिंसाचार विरोधयोग्य देखिन्छ, त्याग्नयोग्य देखिन्छ । हुन त धर्मका नाममा हुने बलिप्रथा रोक्न माग नभएको होइन, विरोध नभएको पनि होइन । यसरी बलि रोक्न माग गर्नेमा भारतीय लोकसभाकी सदस्य तथा वातावरणवादी कार्यकर्ता मेनका गान्धीदेखि नेपालका नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीसम्म देखिएका थिए । त्यस्तै, कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठदेखि तपस्या गरेर चर्चामा आएका रामबहादुर बमजनले समेत बलिप्रथाको विरोध गरेका थिए । बमजनले बलिप्रथा रोक्न बधशालाको मुख्यढोकैमा पुगेर विरोध दर्ज गर्ने र बलिप्रथा रोक्ने प्रचार पनि गरिएको थियो, जुन उनको अज्ञातवाससँगै हल्लामै सीमित भएको छ । बेठीक कुप्रथाको विरोधमा उठेका आवाज सही भए पनि विरोधको तरिका सही भएन भने विरोधको औचित्यमाथि नै प्र्रश्न उठ्न सक्छ । यस तथ्यतर्फ बलिप्रथाका विरोधीहरू सचेत हुनु जरुरी छ ।
मानव सभ्यताको विकासको क्रममा मानिसले अँगालेका यस्ता बलिप्रथा आज-भोलि पनि उत्तिकै महत्त्वका साथ धान्दै आएका छन् । आजभन्दा २५ सय वर्षअगाडि नै पशुहरू कृषि उत्पादनका लागि अत्यावश्यक भएकाले नेपाललगायत सिंगो दक्षण्िा एसियामा पशुबलिविरुद्ध अभियान नै छेडिएको थियो । धर्म र संस्कृतिको नाममा व्याप्त पशुबलिविरुद्ध नेपालबाटै अहिंसा र शान्तिको सन्देशसहित बौद्ध अभियान चलेको तथ्य यहाँ स्मरणीय छ । अहिंसा र शान्तिको सन्देश दिने नेपालमै आजसम्म पनि लाखौँको संख्यामा अत्यन्त बीभत्स ढंगले पशुमाथि हिंसाचार जारी राखिनु पक्कै पनि लाज र शर्मको विषय हो । त्यसैले कुनै पनि धर्मको नाममा जारी बीभत्स पशुबलिविरुद्ध आवाज उठाउन, अनि अहिंसा र शान्तिको सन्देश छर्न आवश्यक छ ।



del.icio.us
Digg
Devi lai chaupaya ko bali hoina timro dimag bhitra ko pashu bali chahiyeko ho.
Bharat le 80 hazzar hector simana chyapyo bali diyera firta maga na ho.
Chhya nepali ko buddhi.he daiba yi bewkoof haru lai budhhi deu.
Post your comment