ठूला निक्षेपकर्ता फाइदामा
नयाँ पत्रिका काठमाडौं, १४ माघ बैंक तथा वित्तीय संस्थाले पैसा -तरलता) समस्याका कारण धमाधम ब्याज बढाउन थालेपछि ठूला तथा संस्थागत निक्षेपकर्तालाई फाइदा पुगेको छ । बैंकहरूले ब्याज बढाउँदा मुद्दती खातामा जोड दिएका छन् । ठूला लगानीकर्तालाई लक्षित गरेर उनीहरूले त्यसो गरेका हुन् । अहिले वाणिज्य बैंकहरूको मुद्दती बचतको औसत ब्याजदर १० प्रतिशत कायम भइसकेको छ भने कतियले १२ प्रतिशतसम्म दिइरहेका छन् । ब्याजदर बढेपछि आफ्नो आम्दानीमा सकारात्मक प्रभाव पर्ने ठूला निक्षेपकर्ताहरू बताउँछन् । कर्मचारी सञ्चय कोष, नेपाली सेनाको कल्याणकारी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषजस्ता ठूला निक्षेपकर्ताहरूलाई ब्याज वृद्धिले विशेष फाइदा पुगेको छ । कर्मचारी सञ्चय कोषको ८० अर्ब रुपैयाँँ विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा लगानीको रूपमा रहेको छ । कोषको कुल रकममध्ये ३५ प्रतिशत मुद्दती निक्षेमा रहेको प्रशासक डा. रमेश भट्टराईले जानकारी दिए । उनले बैंकहरूले बढाएको ब्याजदरले कोषको आम्दानी पनि बढ्ने बताए । 'विगतमा कायम गरिसकिएको सर्तसहितको निक्षेप त चलाउन पाइँदैन,' उनले भने, 'तर सर्त अवधि सकिएको पैसाको भने बढेको ब्याजदरअनुसार बैंक तथा वित्तीय संस्थामा राखिरहेका छौँ, जसबाट हाम्रो आम्दानी पनि बढ्नेछ ।' करिब ४ अर्ब रुपैयाँँ बढेको ब्याजदरमा बैंकहरूमा राखिसकेको उनले जानकारी दिए । कोषले सञ्चयकर्ताहरूलाई अहिले साढे ६ प्रतिशत ब्याज दिइरहेको छ । 'हाम्रो ब्याज आम्दानी बढ्ने भएकाले आउँदो वर्ष सञ्चयकर्तालाई दिने ब्याजदर पनि साढे ७ प्रतिशत पुर्याउँछौँ,' उनले भने । नेपाली सेनाको कल्याणकारी कोषको पनि करिब १३ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपको रूपमा छ । त्यसको अधिकांश हिस्सा मुद्दती बचतमा रहेको उच्च सैनिक स्रोतले जानकारी दियो । अहिलेको ब्याजदर वृद्धिले नियमित ब्याज आम्दानीमा ३/४ प्रतिशत वृद्धि हुने अपेक्षा लिएको सैनिक स्रोतले बतायो । ठूला निक्षेपकमध्येको नेपाल टेलिकमले यस वर्ष १ अर्ब ब्याज आम्दानी गर्ने लक्ष्य राखेकोमा त्यसमा वृद्धि हुने भएको छ । 'गत वर्षजस्तै यस वर्ष पनि १ अर्ब ब्याज आम्दानी हुने अपेक्षा गरेका थियौँ,' टेलिकमको फाइनान्स विभागका नायब प्रबन्धनिर्देशक रामेश्वर कर्माचार्यले भने, 'बैंकहरू बीचको निक्षेप प्रतिस्पर्धाले त्यसमा वृद्धि हुने देखिएको छ ।' टेलिकमको ११ अर्ब रुपैयाँ राष्ट्र बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपको रूपमा रहेको छ । त्यसमध्ये राष्ट्र बैंकमा रहेको पैसाको ब्याज नपाए पनि वाणिज्य बैंकहरूबाट आउने ब्याज बढ्ने उनले जानकारी दिए । गत वर्षसम्म मुद्दती निक्षेपमा ८ प्रतिशतमा राखेको पैसा अहिले साढे १० प्रतिशतसम्म पुगेको उनले बताए । 'मुद्दती खातासँगै बचत खातामा पनि ब्याजदर बढिरहेको छ,' उनले भने, 'गत वर्ष ३ प्रतिशत पाउने ब्याज अहिले ५ प्रतिशतसम्म पुगेको छ ।' राष्ट्रिय बिमा संस्थानले पनि करिब ११ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपको रूपमा राखेको छ । ब्याजदर वृद्धिले बिमितले पाउने बोनस बढ्ने अपेक्षा राखेको संस्थानका प्रशासक तथा महाप्रबन्धक डा. शिवहरि श्रेष्ठले बताए । 'आर्थिक वर्ष २०६०/०६१ तथा २०६१/०६२ को आन्तरिक लेखा परीक्षण अन्तिम चरणमा पुर्याएका छौँ,' उनले भने, 'साथै बाह्य लेखा परीक्षक नियुक्त गरेरसमेत काम थाली सक्यौँ, त्यो परीक्षण सकिएर साधारणसभा गर्नेबित्तिकै एक्चुरीलाई बिमांकीय मूल्यांकन गराई नयाँ बोनस निर्धारण गर्छौं ।' त्यसबेला बिमितले पाउने प्रतिफल वृद्धि हुने अपेक्षा राखेको उनले जानकारी दिए । संस्थालने जीवन बिमा गर्नेलाई अहिले प्रतिहजार ६५ रुपैयाँँ वाषिर्क बोनस दिइरहेको छ ।



del.icio.us
Digg
Post your comment