Newsletter
Email:
Home | अर्थ | कोसी ग्यासमा कम तौल

कोसी ग्यासमा कम तौल

Font size: Decrease font Enlarge font

 

विराटनगर, १४ साउन : कोसी ग्यास उद्योगबाट उत्पादित अधिकांश खाना पकाउने ग्यास सिलिन्डरमा कम तौल भेटिएको छ । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरले मंगलबार विराटनगरमा गरेको अनुगमनका क्रममा त्यस्तो तथ्य फेला परेको हो ।

कार्यालयले विराटनगरका ५ ग्यास डिलरमा अनुगमन गरेको थियो । त्यसमध्ये कोसी ग्यासका अधिकांश सिलिन्डरमा १६० ग्राम देखि ४५० ग्रामसम्म कम तौल भेटिएको थियो । अनुगमनका क्रममा अधिकांश डिलर किराना पसल तथा चिया पसलमा रहेको साथै यस्ता अनधिकृत डिलरले कम्पनीबाट ग्यास बिक्री गर्ने अनुमतिपत्रसमेत नलिएको पाइएको छ । अनुमतिपत्रसमेत नलिई ग्यास बिक्रीवितरण गर्न नहुने र किराना पसल, पानपसल र चियापसलबाट ग्यास बिक्रीवितरण गर्न नहुने ग्याससम्बन्धी आचारसंहितामा उल्लेख भए पनि पालना नगरेको अनुगमनका क्रममा भेटिएको थियो ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशीभूषण यादवले कोसी ग्यासका अधिकांश सिलिन्डरमा नापतौल कम भेटिएको र सुविधा ग्यास डिलरले अनुमतिपत्र नै नलिई ग्यास बिक्री गर्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिए ।

'ग्यास बिक्रेताले आफूखुसी एडप्टर प्रयोग गरी सानो सिलिन्डरमा ग्यास भर्ने गरेको भेटियो,' यादवले भने । एडप्टर प्रयोग गरी ग्यास भर्दा स्वास्थ्यमा असर पर्नुको साथै सुरक्षादृष्टिले पनि खतरनाक हुने प्रमुख यादव बताउँछन् । एडप्टर प्रयोगले ग्यासमा आगलागी हुनसक्ने भएकाले अवैध रूपमा ल्याएका सिलिन्डर नियन्त्रण गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने उनको धारणा छ । विराटनगरको विराट सिद्धार्थ इन्टरप्राइजेजले एडप्टर प्रयोग गरी सानो सिलिन्डरमा ग्यास खन्याउने गरेको गुणस्तर कार्यालयले जनाएको छ । त्यस्तै, पंकज किराना पसल, लक्ष्मीनारायण किराना पसल, विराट सिद्धार्थ इन्टरप्राइजेजमा राखिएका कोसी ग्यासका सिलिन्डरमा प्रतिसिलिन्डर ४ सय ग्रामसम्म कम ग्यास भेटिएको छ । त्यस्तै, बाबा ग्यास स्टोर्स सौरी स्टोर्सको ग्यास बिक्री गर्ने अनुमतिपत्र नभएको पाइएको छ । कम तौल भएका सिलिन्डरको प्रतिसिलिन्डर १ हजार रुपैयाँ जरिवाना गरेर छाडिएको प्रमुख यादवले बताए ।

कम्पनीले नै बढी नाफा खाने उद्देश्यले कम तौल भएका सिलिन्डर पठाएको बिक्रेताको आरोप छ । कम्पनीका मार्केटिङ प्रमुख सतीस उपाध्यायले तौल कम भएको स्वीकार्दै केही दिन अगाडि कम्पनीको फाइनल रिड गर्ने मेसिनमा समस्या आएकाले अबदेखि त्यस्तो गल्ती नहुने बताए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?