ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं, १४ साउन : कर्मचारी सञ्चयकोष, विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक जीवेन्द्र झा, कोषका तर्फबाट प्रशासक रमेशकुमार भट्टराई र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक भोजराज रेग्मीले शुक्रबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार आयोजनामा कोषको १० अर्ब दीर्घकालीन ऋण प्रवाह रहनेछ । ऋणको ब्याजदर ११ प्रतिशत कायम गरिएको छ । बजारमा ब्याजदर थपघट भए ब्याजदरलाई वाषिर्क रूपमा पुनरावलोकन गर्ने सहमति भएको छ । हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री प्रकाशशरण महतले वित्तीय व्यवस्थापन भएकाले आयोजनाको निर्माण अब कुनै पनि कारणले नरोकिने बताए । कोषका प्रशासक भट्टराईले आयोजनाको सफल कार्यान्वयनका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बताए । कम्पनीका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी निर्देशक झाले आयोजनाको मुख्य संरचना निर्माणका लागि ठेकेदारसँग छिट्टै सम्झौता हुने बताए । कम्पनीले ठेकदारसँग आइतबार सम्झौता गर्ने तयारी गरिरहेको बताइएको छ । आयोजनाका अन्य ऋण लगानीकर्ता नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानबीच पनि छिट्टै ऋण सम्झौता हुने कम्पनीले जनाएको छ ।



del.icio.us
Digg
Post your comment