राजीनामा दिँदा मोसो
'एमालेको अघिल्लो सरकार नौ महिनामै ढल्यो भने माओवादी सरकारको पनि आयु त्यति नै भयो । संयोग नै मान्नुपर्छ हामी पनि नौ महिनाकै कार्यकाल पूरा गरी राजीनामा दिँदै छौँ’
नयाँ पत्रिका
काठमाडौं, १८ साउन
पदत्यागको घोषणा गर्दैगर्दा आइतबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गिरिराज भण्डारीले माओवादी कार्यकर्ताबाट कुटपिट र कालोमोेसोसहितको दुव्र्यवहार सहनुपरेको छ ।
अघिल्लो सरकारबाट लिमिटेडलगायत उद्योग मन्त्रालयका विभिन्न संस्थानका अध्यक्ष र महाप्रबन्धकका रूपमा नियुक्त ११ जनाले राजीनामा दिन आयोजना गरेको पत्रकार सम्मेलनमा नै भण्डारीमाथि हातपात भएको हो । २५/३० जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले एक्कासि भण्डारीमाथि हातपात सुरु गरेका थिए । आफ्नो नौमहिने कार्यकालको समीक्षासहित राजीनामाको घोषणा गर्ने क्रममा नै उनीमाथि सो समूह जाइलागेको थियो । सामान्य घाइते भण्डारीलाई उपचारका लागि प्रहरीले काठमाडौं मोडल अस्पताल पुर्याएको छ । उनलाई बचाउन खोज्ने लिमिटेडका केही कर्मचारीसमेत घाइते भए ।
'एमालेको अघिल्लो सरकार नौ महिनामै ढल्यो भने माओवादी सरकारको पनि आयु त्यति नै भयो,' भण्डारीले पत्रकार सम्मेलनमा बोल्दै थिए, 'संयोग नै मान्नुपर्छ हामी पनि नौ महिनाकै कार्यकाल पूरा गरी राजीनामा दिँदै छौँ ।' उनले यति भनिसकेलगतै वाइसिएल कार्यकर्ताले उनीमाथि आक्रमण गरेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघको पक्षमा नारा लगाउँदै आएका उनीहरूले 'औद्योगिक क्षेत्रबाट वाइसिएल हटाउने तँ नै होइनस्' भन्दै भण्डारीमाथि हातपात सुरु गरेका थिए ।
भण्डारीलाई दुव्र्यवहार गरी केही मिनेटमै उनीहरू बाहिरिएका र झन्डै आधा घन्टापछि मात्र प्रहरी पुगेको लिमिटेडका एक कर्मचारीले बताए । लिमिटेडलगायत, उद्योग मन्त्रालयअन्तर्गतका घरेलु तथा साना उद्योग विकास समिति, हेटौंडा सिमेन्ट, जनकपुर चुरोट कारखानालगायतका संस्थान अध्यक्ष तथा कार्यकारी प्रमुखले राजीनामा दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
सम्मेलनपश्चात उद्योग मन्त्रालयमा राजीनामा दिन जाने उनीहरूको योजना भने वाइसिएल आक्रमणका कारण सफल हुन सकेन । सुरुमा उद्योगमन्त्री महेन्द्रराय यादवले संयुक्त सरकार भएकाले अघिल्लोपटक पनि एमालेबाटै नियुक्त संस्थान प्रमुखले पद छाड्नुनपर्ने बताए पनि पछि राजीनामाका लागि दबाब दिन थालेको उनीहरू बताउँदै आएका थिए । औद्योगिक क्षेत्रबाट वाइसिल हटाउन कडाइ गरेका कारण भण्डारीको सुरुदेखि नै माओवादीले विरोध गर्दै आएको थियो । कुटपिटका क्रममा उनलाई भ्रष्टाचारी भएको समेत आरोप लगाइयो ।
एमाले केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्यसमेत गरेका भण्डारीमाथिको कुटपिट र दुव्र्यहारले माओवादीको वास्तविक चरित्र उदांगो भएको भन्दै एमालेले विरोध जनाएको छ । आफ्नो पार्टीबाट नियुक्त ११ जना संस्थान अध्यक्ष तथा कार्यकारी प्रमुखहरूले राजीनामा घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी आक्रमण भएको एमाले पार्टी सचिव गंगालाल तुलाधरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



del.icio.us
Digg
Post your comment