Newsletter
Email:
Home | अर्थ | ३० प्रतिशत वास्तविक बेरोजगार

३० प्रतिशत वास्तविक बेरोजगार

Font size: Decrease font Enlarge font

काठमाडौं, २६ साउन : नेपालमा बेरोजगार संख्या २.१ प्रतिशत मानिए पनि वास्तविक संख्या ३० प्रतिशत रहेको छ । रोजगार नपाएका र पाए पनि थोरै मात्र आम्दानी गर्नेलाई बेरोजगार मान्दा वास्तविक आँकडा ३० प्रतिशत पुगेको हो ।

अन्तर्राष्ट्रिय परिभाषाअनुसार, सातामा एक घन्टामात्र काम गर्ने व्यक्ति पनि रोजगार हुने भएकाले बेरोजगार संख्या कम देखिएको हो । केन्द्रीय तथ्यांक विभागले सोमबार सन् २००८ को श्रमशक्ति सर्वेक्षण नतिजा सार्वजनिक गर्दै सो जानकारी गराएको हो । १५ वर्षमाथिका आर्थिक क्रियाकलापमा संलग्न व्यक्तिको श्रम अल्पउपयोग दर करिब ३० प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । विभागले तीन मौसम समेटेर मुलुकभरका करिब १६ हजार घरपरिवारबाट जानकारी संकलन गरेको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन -आइएलओ) ले सन् २००८ मा श्रम अल्पउपयोग दरको विकास गरेको हो । विकासोन्मुख मुलुकमा विभिन्न माध्यमबाट सातामा एक घन्टा काममा संलग्न भएको पाइएकाले अन्तर्राष्ट्रिय परिभाषाअनुसार रोजगारी दर झन्डै शतप्रतिशत देखिने गरेको छ । अल्पउपयोग दरभित्र २.१ प्रतिशत बेरोजगार, ६.७ प्रतिशत चाहेर पनि पूर्ण रोजगारी नपाएका, ८.१ प्रतिशत अपर्याप्त कमाइ भएका र १३.२ प्रतिशत शिक्षासुहाउँदो पेसा नभएका व्यक्ति परेका छन् । श्रम अल्पउपयोग दर सहरी क्षेत्रमा ५० र ग्रामीण क्षेत्रका लागि करिब २७ प्रतिशत रहेको छ । यो दर पुरुष र महिलाका लागि क्रमशः ३८ र २३ प्रतिशत रहेको अनुमान छ ।

त्यस्तै, उमेर समूहअनुसार, २५/२४ वर्षको श्रम अल्पउपयोग दर सबैभन्दा बढी अर्थात् ४६ प्रतिशत रहेको अनुमान छ । २५-२९ वर्ष, १५-१९ वर्ष र ३०-३४ वर्ष उमेर समूहका लागि श्रम अल्पउपयोग दर क्रमशः ३९, ३५ र ३१ प्रतिशत छ । सातामा ४० घन्टाभन्दा बढी काम गर्ने ६६.८, २० देखि ३९ घन्टा काम गर्ने १९.५ प्रतिशत, १९ घन्टाभन्दा कम काम गर्ने ११.६ प्रतिशत र शून्य घन्टा काम गर्ने २.१ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

४० घन्टाभन्दा बढी काम गर्नेलाई पूर्ण रोजगार, त्योभन्दा कम काम गर्नेलाई अर्धरोजगार र कामै नगर्नेलाई बेरोजगार भनिन्छ । विभागले श्रमशक्ति सहभागिता दर ८३.४ र रोजगारी दर ९७.९ प्रतिशत रहेको जनाएको छ । हाल १५ वर्षमाथिका ८३ प्रतिशत जनसंख्या आर्थिक क्रियाकलापमा सक्रिय छ भने १७ प्रतिशत जनसंख्या निस्त्रिmय रहेको अनुमान छ । यो सहभागिता दर नौ वर्षअघि गरिएको सर्वेक्षणमा ८५.८ प्रतिशत थियो । सो सहभागिता दर ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा घट्दो क्रममा छ ।

सहरी क्षेत्रमा सो दर पहिलो सर्वेक्षणमा ७३.३ प्रतिशत रहेकोमा घटेर अहिले ६७.३ प्रतिशतमा झरेको छ । आइएलओको परिभाषाअनुसार रोजगार व्यक्ति, काम खोजेका र कामका लागि उपलब्ध भएको व्यक्तिको समूहलाई श्रमशक्ति भनिन्छ । गैरकृषि क्षेत्रमा रोजगारीमध्ये करिब ७० प्रतिशत अनौपचारिक क्षेत्रमा छ । यो गत श्रमशक्ति सर्वेक्षणमा ७३ प्रतिशत थियो ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?