गुणस्तरहीन चामलबारे छानबिन आयोग गठन माग
काठमाडौं/ उपभोक्तावादीले विश्व खाद्य कार्यक्रमद्वारा सुदूरपश्चिमाञ्चलमा खाद्य सहयोगअन्तर्गत वितरित चामलको गुणस्तरबारे उठेको विवाद अध्ययनका लागि उच्चस्तरीय आयोग गठर्न माग गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चले सोमबार राजधानीमा गरेको छलफलमा उनीहरूले सो क्षेत्रमा वितरित चामल गुणस्तरहीन रहेको भनी खाद्य तथा गुण नियन्त्रण विभागले ठहर गरेकाले आयोग गठन माग गरेका हुन् । विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामलको नमुना जाजरकोटको ठिमेबाट ल्याएर विभागमा परीक्षण गराउँदा न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएकाले छानबिनका लागि तत्काल आयोग गठन गर्नुपर्ने उनीहरूले बताए । कार्यक्रममा इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले सरकारले अहिलेसम्म कुहेको चामल वितरण गर्ने विश्व खाद्य कार्यक्रममा कर्मचारीलाई कारबाही नगर्नु गैरजिम्मेवारी भएको आरोप लगाए । उनले परीक्षणबाट समेत गुणस्तरहीन चामल रहेको पत्ता लाग्दा पनि कारबाही नगर्नुले राज्य निरीह अवस्थामा रहेको देखिने बताए । मञ्चका महासचिव ज्योति बानियाले सरकारको वैदेशिक सहायता नीतिका कारण विश्व खाद्य कार्यक्रमले गुणस्तहीन चामल वितरण गर्दा पनि कारबाही गर्न नसकेकाले आयोग बनाउनुपर्ने बताए । उनले आयोग बनाएर कारबाही अघि बढाउन माग गरे । कृषि मन्त्रालयका सहसचिव डा. हरि दाहालले विश्व खाद्य कार्यक्रमले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी नभएकाले समस्या आएको खुलासा गरे । उनले भने, 'उसले कहाँ, कति चामल वितरण गर्न भन्ने थाहा हुदैन यसले पनि समस्या देखिएको छ ।' दाहालले कृषि मन्त्रालयसँग अर्थ मन्त्रालयले गुणस्तरहीन चामलबारे जानकारी माग गरेकाले सोमबार पठाइएको बताए । यसैबीच मञ्चले सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापन बुझाई गुणस्तरहीन चामल विषयमा छानबिन माग गरेको छ ।



del.icio.us
Digg
Post your comment