फेसन उद्योगबारे मेला
नयाँ पत्रिका काठमाडौं, २१ भदौ स्वदेशी फेसन उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार होटल याक एन्ड यतीमा टिजिआइएफ फेसन सप्ताह सुरु हुँदै छ । १२ अघि काठमाडौंमा स्थापित आइइसी स्कुल अफ आर्ट एन्ड फेसनले आयोजना गरेको यो पाँचांै फेसन मेला हो । संस्थाले सन् २००४ मा पहिलोपटक फेसन मेला आयोजना गर्दा ६३ डिजाइनर सहभागी थिए । हरेक वर्ष सहभागी डिजाइनरको संख्या बढ्दै अहिले एक सय ५० पुगेको आयोजकले जनाएको छ । यस संस्थाले फेसन डिजाइन र इन्टेरियर डिजाइनसम्बन्धी कक्षा सञ्चालन गर्दछ । पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रम नेपालको सर्वाधिक ठूलो जीवनशैली र ग्लामर प्रदर्शन कार्यक्रम रहेको आयोजकको दाबी छ । मुलुकभरबाट एक सय ५० डिजाइनर सहभागी रहेको कार्यक्रम फेसन व्यवसायमा प्रवर्द्धनमा केन्दि्रत हुने आयोजकले बताएको छ । मेलामा नेपाली डिजाइनरद्वारा तयार गरिएका दुई हजारदेखि एक लाखसम्म मूल्य पर्ने पोसाक प्रदर्शन गरिनेछ । फेसन सप्ताहले नेपाली पहिरन, टेक्सटायल र फेसन उद्योगलाई योगदान पुग्ने आयोजकको भनाइ छ । फेसन मेलाले डिजाइनर, व्यापारी र मिडियाबीच प्रत्यक्ष कुराकानी भई व्यापार सम्बन्धका लागि प्लेटर्फम तयार हुने तथा आवश्यकताअनुसार उत्पादन गर्न र बिक्री बढाउन सहयोग पुग्ने बताइएको छ । 'गार्मेन्ट डिजाइनिङले नेपाललाई तुलनात्मक फाइदाको स्रोत पनि प्रदान गर्नेछ,' आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



del.icio.us
Digg
Post your comment