हेलो नेपाल टेलिकम सञ्चालनमा
नेपाल स्याटलाइट टेलिकम प्रालिले बिहीबारदेखि दाङमा मुख्य कार्यालय राखेर हेलो नेपाल फोन सेवा सुरु गरेको छ ।
आधारभूत टेलिफोन सेवा नपुगकामध्ये र सुदूर-पश्चिमाञ्चलका गाविसलाई लक्षित गरी कम्पनीले फोन सेवा सुरु गरेको हो । प्रमुख दलका नेताहरूलाई विभिन्न ठाउँबाट एकैसाथ कुराकानी गराई हेलो नेपाल फोनको उद्घाटन गरिएको हो । काठमाडांैबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, रोल्पाबाट एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र दाङबाट एमाले महासचिव ईश्वर पोख्रेलले हेलो नेपाल फोनमार्फत एकैसाथ कुराकानी गरेका थिए । मध्य तथा सुदूरपश्चिमका दुई सय ७३ गाविसमा टेलिफोन सेवा पुर्याउने गरी अनुमति पाएको स्याटलाइट नेपालले बिहीबारबाट परीक्षण सेवा सुरु गरेको कम्पनीका अध्यक्ष अस्मिता सुमार्गीले जानकारी दिइन् । उदघाटनका क्रममा फोनबाटै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले दलहरूबीच देखिएको असमझदारी हटाउन माओवादी अध्यक्ष र एमाले महासचिवलाई आग्रह गरे । उनले राजनीतिक गतिरोधले अस्थिरता छाएकाले नयाँ संविधान निर्माणमा ढिलाइ हुनसक्ने भन्दै दिगो शान्तिका लागि जुट्न आग्रह गरे । कोइरालाले १२ बुँदे समझदारी तथा विस्तृत शान्तिसंझौताअनुसार अघि बढ्न माओवादी अध्यक्ष प्रचण्डलाई सुझाबसमेत दिए । काठमाडौंबाट कोइरालाले यस्तो आग्रह गरेपछि रोल्पाको लिवाङबाट माओवादी अध्यक्ष प्रचण्डले सहमति र सहकार्यका लागि माओवादी तयार रहेको बताए । उनले साझा सहमति जुटाउन आफू राजधानी आएलगत्तै कोइरालालाई भेट्ने प्रतिबद्धता जनाए । दुवै शीर्षनेताहरूको कुरा सुनिरहेका एमाले महासचिव ईश्वर पोख्रेलले दाङबाट दलहरूबीचको तिक्ततालाइ थाती राखेर नयाँ सहमतिका लागि अघि बढ्न एमालेका तर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए ।



del.icio.us
Digg
Post your comment