Newsletter
Email:
Home | अर्थ | बैंकमा तरलता घट्न थाल्यो

बैंकमा तरलता घट्न थाल्यो

Font size: Decrease font Enlarge font

 

नयाँ पत्रिका

काठमाडौं, ४ मंसिर

विभिन्न कारणले बैंकिङ प्रणालीमा तरलता कमी हुँदै गएको छ । तरलता कमीकै कारण पछिल्लो समय रिपोको दर ८.४४ प्रतिशत र अन्तरबैंक कर्जा दर १०.४ प्रतिशत पुगेको छ ।

यो साता राष्ट्र बैंकले ५ अर्बको रिपो जारी गरेको छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले आठ अर्ब प्रवाह गरिसकेको छ । दसैंपछि एकपटक १ अर्ब, तिहारपछि एकपटक २ अर्ब र यो साता ५ अर्ब प्रवाह गरिएको हो । वाणिज्य बैंकले राष्ट्र बैंकबाट झन्डै ९ प्रतिशत ब्याजमा नगद लिएर ग्राहकलाई उपलब्ध गराउँदा ब्याजदर बढ्न जान्छ । ब्याज महँगो भई लागत बढ्दै गएको उद्योगी व्यापारीले बताएका छन् ।

बैंकको निक्षेप दर पनि बढेको छ, तर अपेक्षित निक्षेप संकलन हुन नसकेको राष्ट्र बैंकले विश्लेषण गरेको छ । ऋणात्मक सरकारी खाता धनात्मक हुने क्रममा छ । बजेट पारित नभई सरकारी खर्चमा प्रभाव परेपछि यो आर्थिक वर्षमा सरकारी खातामा ४ अर्ब रुपैयाँ थपिएको छ ।

बजेट पारित नभई सरकारले हरेक शीर्षकमा विनियोजनको एक तिहाइभन्दा बढी खर्च नसक्ने भए पनि पुससम्म बजेटमा घोषित दरमा राजस्व असुल गर्न पाउने अधिकार छ । बजेट पारित हुन ढिलाइ भएपछि सरकारले करको माध्यमबाट बजारबाट पैसा जम्मा गरे पनि खर्च गर्न नपाउँदा बजारमा पैसा अभाव उत्पन्न हुन जान्छ । हाल डलरको सटही दर घटेकाले विदेशमा रहेका कामदारले रेमिट्यान्स पठाउन कम गर्दा पनि तरलता कम भएको राष्ट्र बैंकको अनुमान छ ।

राष्ट्र बैंकले बुधबार वाणिज्य बैंकका कार्यकारी प्रमुखलाई बोलाई तरलता अवस्थाबारे छलफल गरेको छ । केही बैंकले निक्षेपभन्दा बढी कर्जा लगानी गरेको पाइएको राष्ट्र बैंक अधिकारीले बताए । वाणिज्य बैंकको कर्जानिक्षेप अनुपात उच्च भएकाले तरलता अभाव नभएको बैंक अफ एसियाका कार्यकारी प्रमुख पर्शुराम क्षेत्रीले बताए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?