Newsletter
Email:
Home | झन् नयाँ | भाष्कर

भाष्कर

Font size: Decrease font Enlarge font
image

  • शारदा शर्मा

अज्ञात आशंकाले मेरो सम्पूर्ण शरीर लुगलुग कामिरहेथ्यो । तर, म बोलिरहेँ- 'भाष्कर, म तिमीलाई गुमाउन चाहन्नँ !' भाष्करको सामीप्य प्राप्त गर्न मैले रिसिभर कानैनिर टाँसेँ र आँखा चिम्लिरहेँ ।

ऊ टेलिफोनमै व्यस्त छ । उसो त घरमा आएदेखि नै उसले मसँग कुरा गर्न नखोजेको होइन । तर, थाहा छैन, घरभित्र पाइला हालेपछि किन मेरो मनस्थिति पुनः हिउँजस्तो भएर जम्छ । अफिसबाट फकिर्ंदा मैले उसलाई बाटैमा भेटेकी थिएँ र सँगै मोटरसाइकलमा हामी घर आयौँ । बाटैभरि उसले दिनभरिका कुरा गरिरह्यो । दिनभरि हाकिमसँग चर्को बहस भएको कुरा पनि उसले मलाई सुनायो ।

उसले भन्यो- 'आज हाकिमलाई हामीले आच्छु-आच्छु पार्‍याँै । सम्भवतः सबैभन्दा शिष्ट तरिकाले मैले मात्रै बोलेँ ।' पछिसम्म मेरै कुरा दोहोर्‍याएर उसले आफूलाई बचाउन खोजिरह्यो । 'मैले उसलाई धम्की दिएर आएको छु, बुझ्यौ ?' ऊ उत्तेजित देखिन्थ्यो । मेरो मनःस्थिति एकपटक शून्यजस्तो भयो । हेभी ट्राफिक रोडमा ऊसँग कुरा गरिरहन मन लागेन मलाई ।

'चुप लाग अहिले ! राम्ररी चलाऊ मोटरसाइकल !'

ऊ चुप लागेन ।

'वीरगन्ज मिलका मजदुर नेताहरूलाई सेवाबाट हटाइएको निर्णय भोलि तीन बजेसम्म उसले फिर्ता लिएन भने हामीले देशव्यापी मजदुर हडताल गराउने निर्णय सुनाएका छौँ, उसलाई !'

म सन्न भएँ एकछिन, केही बोलिनँ । उसले मेरो प्रतिक्रिया पर्खिरह्यो र केही उत्तर नपाएर चुप लाग्यो । हामी केही नबोलीकनै घरसम्म आयौँ । खाना खाउन्जेल पनि भान्सामा चुइँक्क एक शब्द कसैले बोलेन । बाबुआमाको अप्रत्यासित गाम्भीर्यले केही दिनयतादेखि छोरीहरू पनि आश्चर्यचकित थिए । आपसमा मुखामुख गर्दै तिनीहरूले भात सके, तर्कारी खान्न भनेनन् । दाल पनि पिए । मलाई सन्चो लाग्यो ।

उसका दिनभरिका क्रियाकलाप बुझ्ने जिज्ञासा नलागेको होइन, तर सोध्न मन लागेन, लाग्दै लागेन । ऊसँग केही दिनअघि भयंकर विवाद भएको थियो मेरो । त्यसैदिनदेखि म अर्कै कोठामा सुत्न थालेकी थिएँ । थुप्रै असन्तुष्टि थिए ऊसँग, जसको कारण ऊसँग बोल्छु भनेर निर्णय गरेर छेउमै पुगे पनि उसको अनुहार देखेपछि क्रोधले भाउन्न होलाजस्तो हुन्थ्यो मलाई र चुपचाप र्फकन्थेँ । उसले आफूले बोलेका अपशब्दका लागि मसँग क्षमा नमागेको पनि कहाँ हो र ? ऊ मान्छे खराब होइन भन्ने मलाई थाहा नभएको पनि होइन र पनि मेरा आफ्नै केही मान्यता थिए- दाम्पत्यजीवनका सम्बन्धमा र ऊ तिनमा फिट हुन तयार थिएन, वास्तवमा सक्दैनथ्यो ।

म चिन्तित थिएँ, यसपटक ऊ पक्राउ पर्‍यो भने फेरि घरको सारा बोझ मैमाथि आउनेछ । छोरीहरूको पढाइखर्च, दालचामल, मट्टीतेल, लुगाफाटो, सासू-ससुरा, समाजको विधि-व्यवहार, खेतीपाती, दौडधुप सबै के गरी धान्ने ? ऊ भने यी सबै कुरा सोच्दैनथ्यो कि क्या हो ! अत्यन्त निष्पिmक्री देखिन्थ्यो र मलाई अझ रिस उठ्थ्यो । उसले कहिल्यै आफ्नो र हाम्रो भविष्यबारे कुरा गर्ने त के, सोच्नै चाहेन । उसको तलबले भात खान पनि मुस्किलले पुग्थ्यो । बाबुबाजेले जोरेको थोरबहुत जेथा नहुँदो हो त हामी उहिल्यै टाट पल्टेर सडकमा माग्न पुग्ने थियौँ होला । कत्तिपटक उसँग बिन्तीभाउ गरेँ- 'अब राजनीति नगर, ठेगान लागेर एउटा राम्रो काम समाऊ । सबैले गरिरहेकै छन्, तिमी मात्रै किन यस्तो अप्ठ्यारो बन्छौ ? किन दुःख भोग्छौ ? आखिर परिवार तिम्रो पनि छ नि भास्कर ?'

ऊ सधैँ आदर्शका कुरा गरेर मलाई सान्त्वना दिन्थ्यो । म चकित हुन्थेँ, यत्रो आदर्शवादी र इमानदार मान्छेलाई यो देशले किन उपद्रवी र विप्लवी भनेर सधैँ वारेन्ट काटिरहन्छ ? देशद्रोही यस्तैलाई भन्ने हो भने यस मुलुकमा साँच्चैको राष्ट्रवादी को हुन सक्छ ? यस विद्वान्, मेधावी मेकानिकल इन्जिनियरले अधिकांशतः भूमिगतै रहेर जीवन गुजारेको थियो र केही वर्षयता मसँग बिहे गरेपछि करैले फ्याक्ट्रीमा काम गर्न सुरु गरेको थियो ।

तर, मलाई आश्चर्य लाग्छ, उसलाई जागिरले पनि लेस मात्रै व्यवहारिक बनाउन सकेन । सारा कामको बोझ आफैँ उठाउनुपर्दा उसको जतिसुकै माया लागे पनि म ऊदेखि विरक्त हुन्थेँ र हाम्रो पारिवारिक जीवनमा तनाबका ज्वारभाटा उठिरहन्थे ।

०००

बाहिरबाट उसलाई जतिसुकै घुर्की देखाए पनि भित्रभित्रै दिनभरि उसले गरेका धपेडी अन्दाज लगाउँदा ऊप्रति मेरो अन्तर अत्यन्त करुण हुन पुग्यो । उसलाई आफ्नो शरीर र स्वास्थ्यको पटक्कै ख्याल रहँदैन । ओछ्यानबाट उठेर म आफ्नो कोठाको ढोकासम्म आएँ । ऊ टेलिफोनमै बोलिरहेको थियो- 'भोलि तीन बजेसम्मको भाखा दिएका छौँ हामीले, तत्काल त के गर्थे होलान् र ? त्यसैले हामीले सल्लाह गरेर भोलिका लागि एउटा निष्कर्ष तयार पार्नुपर्छ । अहिले हामी सबै एकछिन भेला हुनुपर्‍यो । ल, म एकछिनमै आउँछु... रञ्जनकहाँ पसेर उसलाई पनि लिएर आउँछु, तिमी कपिललाई पनि खबर गर है !'

दराज खुलेको आवाज आयो । मैले बुझेँ- ऊ लुगा झक्िने तरखर गर्दै छ । उभिरहन सकिनँ र बिस्तारै उसको कोठामा पसेँ ।

'कहाँ जाने यसवेला ?'

'सरोजकहाँ सानो मिटिङ छ । एकैछिनमा आइहाल्छु ।'

ऊ जीनको पाइन्ट, ठूलो मोटो ज्याकेट र उनीको टोपी लगाएर बाहिर निस्क्यो । माघको महिना बाहिर निकै जाडो थियो, सके सिमसिम पानी परिरहेको हुँदो हो ।

म अल्मलिइरहेँ । मभित्र नैतिकता र स्वार्थका बीच द्वन्द्व भइरह्यो । उसले लडेको लडाइँ नैतिकताको थियो, सत्यका पक्षमा थियो । तर, त्यो पथ दुर्गम, कण्टकमय र दुष्कर थियो । सत्यका पथमा हिँडेको मान्छेलाई रोक्ने सामथ्र्य कहाँबाट बटुल्थेँ म ? छोरीहरू ओछ्यानमै बसेर टेलिभिजन हेरिरहेथे । म पनि त्यहीँ घुस्रेँ । मोटरसाइकल स्टार्ट भयो र त्यसपछि बिस्तारै परपर हुँदै गएको आवाज एकछिनपछि सुनिन छाड्यो ।

टेलिफोन आयो । उठाएँ । मेरी मुमाको रहेछ । यसबखत उहाँ काठमाडौं आउनुभएको थियो । बुबा जिल्लामा आर्मीको मेजर हुनुहुन्थ्यो । पैसाका लागि मात्रै त होइन, मानका लागि, राजाको सिन्दुरका लागि जागिर खानुभएको । खुब गर्व थियो, उहाँलाई त्यसको, तर सरकारद्वारा बेपत्ता पारी आफ्नो छोरो मारिएपछि भने उहाँभित्र यस गौरवमाथि नै वेलाबखत प्रश्नचिह्न देखा पर्न लागेको मैले अनुभव गरेकी छु । निकै टुट्नुभएको थियो उहाँ, त्यो क्रुर र अत्यन्त दुःस्साहसी आर्मी अफिसरभित्रको 'पिता'को आत्माले आफ्नो ज्यादै सज्जन छोरालाई कसैगरी अपराधी प्रमाणित गर्न सकेको थिएन सम्भवतः ।

'ज्वाइँ राजा सवारी भो ?'

गलेको स्वरमा मैले भनेँ, 'भाष्कर त आएर पनि भर्खरै बाहिर गाको छ मुमा !'

'नानू, म के सुन्दै छु बा ! यस्तो दंगाफसादका बखत ज्वाइँलाई जहाँतहीँ जान नदिनू, त्यहाँमाथि यस्तो रातविरात ! मलाई त साह्रै पीर परिरहेछ छोरी ! राजनीति भनेको साह्रै खराब हुन्छ बाबु, तँलाई के थाहा छ र ? मैले जति कसले भोगेको छ ? सोझासीधालाई घानमा पारेर टाठाबाठाहरूले जहाँ पनि फाइदा लिइहाल्छन् । साह्रै स्वार्थी छ यो संसार...! ज्वाइँसापलाई राजनीतिबाट छुटा, बुझसि् ? त्यसैमा लाग्न दिइस् भने भोलि कंगाल हुन्छौ तिमीहरू, त्यत्रो जेथा थियो, सबै उडायौ, मोटर थियो त्यो पनि बेच्यौ र अब त्यही एउटा घर पनि बिकाउने सुर छ ? दुई/दुईवटी बालक छोरी छन्...' मैले सुनिरहेँ, यसअघि पनि सुनिनै रहन्थेँ, मसँग भन्ने कुरै के थियो र मुमासँग ?

टेलिफोनबाटै मुमाले सुँक्क-सुँक्क गरेको सुनेर मेरो मुटु कटक्क काट्यो ।

'बन्दना, तिमीहरूबाहेक को छ र अब हाम्रो ? बुबा पनि साह्रै दुःखी होइबक्सिन्छ । चिन्तैचिन्ताले सुगर बेस्सरी बढेको छ । तैँले बुबाको चित्त दुखाउन नहुने छोरी, ... नबुझ्ने छैनौ, विचार पुर्‍याएर काम गर्नू बा...!' यति भनेर मुमाले टेलिफोन राखिदिनुभयो । म झन् दुःखी भएँ । आ-आफ्नै ठाउँमा त्यहीँको स्थितिले मान्छेलाई कसरी व्यथित बनाउनेरहेछ । निर्मम र निष्ठुर भन्ने कुरा टाढाबाट हेर्दा मात्रै देखिने हुन्छ क्यारे, संसारमा । नजिकैबाट कोही पनि, केही पनि संवेदनाहीन हुँदैन क्यारे ! भाष्करसँग पनि गुनासो गर्ने कुनै बलियो आधार थिएन मसँग । परिस्थितिको यस दुर्भेद्य चक्रव्यूहभित्र मेरो मनस्थिति डुब्दै गयो । यसबखत मेरा आँखा अघिल्तिर मेरो सम्भवतः मृत दाजु प्रभातको कल्पना तरेली खेलिरह्यो । कत्ति माया गथ्र्यो ऊ मलाई ! कति उदार, फरासिलो र सधैँभरि माया गरिरहुँजस्तो लाग्ने मान्छे थियो । उसैले त हो, आफ्नो अत्यन्त पि्रय साथी भाष्करसँग मेरो बिहे गराइदिएको । विशेषगरी बुबाको चर्को असहमति हुँदाहुँदै उसले हामीलाई शिव-मन्दिरमा लगेर देउताका अगाडि दाम्पत्य सम्बन्धमा गाँसिदिएको थियो । बिहेपछि तीन/चार वर्षसम्म हामीलाई बुबाले आफ्नो घर आउन दिनुभएन । पछि मुमाको स्थास्थ्य निकै बिग्रेपछि मात्र बुबाले आफ्नो हठ खुकुलो बनाउनुभएको थियो र त्यहीवेला म माइती आएकी थिएँ । हाम्रो आगमनमा बुबाले कुनै उत्सुकता देखाउनुभएन । दुई वर्षकी टुकुटुकु हिँड्ने हाम्री छोरी मुनुलाई समेत उहाँले एकचोटि पनि मायाले उचालेर काखमा राख्नुभएन । वास्तवमा उहाँलाई दाइले राजनीति गरेको मन पर्दैनथ्यो र भाष्करप्रति त झन् उहाँको तीव्र रोष थियो ।

मुमालाई बुबा र हामीबीच सन्तुलन कायम गर्न कठिन परिरहेको म बुझ्थेँ । कुन्नि के गरेर धैर्य गर्नुहुँदो हो मेरी मुमा ! कत्रा-कत्रा भूकम्पलाई आफूभित्र थिचेर बाँच्ने प्राणी रहेछ मान्छे ? यो सानो सासको घिटीघिटीका लोभमा कत्रा-कत्रा पाशविक कृत्यलाई सहेर चुपचाप बस्ने साहस गर्नेरहेछ मान्छेले ! आश्चर्य हो, कति आक्रोश हुँदो हो उहाँको आत्मामा यस मनपरितन्त्रविरुद्ध ? उहाँको आफ्नै बुबाको सर्वस्वहरण गरेको थियो, सरकारले । भाइ गोली लागेर मारिएको थियो । मामाकै प्रेरणामा मेरो दाइ राजनीतितर्फ आकषिर्त भएको हो । मामाको मृत्युपछि पनि उसले यो बाटो छाडेन ।

निरपराध प्रभात दाइलाई ओछ्यानबाटै मध्यरातमा उठाएर लगेका थिए, प्रहरीहरूले । त्यसबखत पनि मुलुकको राजनीतिक स्थिति गर्माएको थियो । शान्तिपूर्ण आन्दोलन चलिरहँदा विभिन्न ठाउँमा बम पड्के, कैयौँ निर्दोष मान्छे मारिए । हामी जान्दथ्यौँ- यो षड्यन्त्रकारी कर्तुत स्वयं शक्ति ओढेर मात्तिएका शासकहरूकै निर्देशनमा भएको थियो र त्यसको सम्पूर्ण दोष निःशस्त्र आन्दोलनकारीमाथि थोपरियो । आन्दोलनका नेता पक्रिए । भाष्कर त्यसबखत भूमिगत थियो । म माइतीमै थिएँ । प्रभात दाइ आफ्नो क्लिनिकबाट निकै अबेला फर्केर भर्खर सुतेको थियो । सिपाहीहरूले हत्कडी लगाएको आफ्नो प्यारो दाइलाई समाएर म रोएँ । उसले भनेको थियो-

'नानू ! नरो भैगो, म दुई/चार दिनमा आइहाल्छु नि ! हामीले के गल्ती गरेका छौँ र ? न्याय र सत्यका पक्षमा बोल्नु पुण्य हो बैनी ! अनाचार सहेर बस्नु, मूकदर्शक भएर हेरिरहनु हामीजस्ता युवायुवतीका निम्ति लज्जाको विषय हो । तैंले त हामीलाई प्रेरणा दिनुपर्छ ।' कैयौँ बिरामीलाई मृत्युका मुखमा फर्काएर ल्याएको त्यस चिकित्सकका हात हत्कडीले बाँधिएका थिए, नत्र मेरा आँसु पुछिदिँदो हो उसले । मैले आफ्ना आँसु आफ्नै हातले पुछेँ र ऊतर्फ हेरेर मुस्कुराएँ । यद्यपि, मेरा ओठ थर्थराइरहेका थिए ।

बुबा तटस्थ रहेर टुलुटुलु हेरिमात्र रहनुभयो । नचाहिँदो काम गरेकोमा मुमाले एकैछिन दाजुलाई गाली गर्नुभयो र त्यसपछि सोफामा मुख लुकाएर रुन थाल्नुभयो- 'किन रुन्छौ बेकारमा ?' दाइलाई लगेको निकैबेरपछि बल्ल बुबाको वाक्य फुटेको थियो ।

'बेवकुफ ! दुई/चार महिना जेलको हावा खाएपछि आफैँ ठीक हुन्छ । ...कसैलाई नपरेको राजनीति गर्नुपर्ने, साले... भाषण गर्ने भएको, नेता हुने भएको' उहाँ बरबराइरहनुभयो । तर, उहाँको आवाजमा सिपाहीको क्रुरताभन्दा पिताको अधिकार बढी रहेको अनुभव गरेँ, मैले । आफूलाई जतिसुकै कठोर देखाउन खोजे पनि त्यसपछि उहाँ सुत्न सक्नुभएन । भोलिपल्ट बिहान उहाँको टेबुलमाथि थुपि्रएको खरानी र चुरोटका ठुटा त्यसका प्रमाण थिए ।

०००

भोलिपल्ट बिहानै म दादालाई भेट्न हनुमानढोका खोर गएँ । जिन्दगीमा पहिलोपल्ट आएकी थिएँ यस्तो ठाउँमा । त्यो स्थल मलाई आजसम्म मैले बाँचेको पृथ्वीभन्दा बेग्लै र अत्यन्त बिरानो लाग्यो । आफ्नो सम्बन्ध गाँसिएपछि बिराना र भयानक ठाउँमा जानैपर्नेरहेछ । काडाँदार गि्रलको ढोकाबाहिर र भित्र बन्दुक लिएका प्रहरी थिए । मैले आफू आउनाको प्रयोजन अत्यन्त विनम्र भएर ढोकाबाहिरको पुुलिससँग भनेँ । यतिखेर मलाई त्यो चौकीदार प्रहरी संसारको सबैभन्दा ठूलो र शक्तिशाली व्यक्ति लागिरहेको थियो । विनाकारण नै अत्यन्त क्रुद्ध दृष्टिले त्यसले मतर्फ हेर्‍यो र गाह्रो मानीमानी बडेमाको स्वरमा भित्रपट्टकिो मान्छेलाई कैदीलाई भेट्न आएको खबर दियो । निकैबेर पर्खिसकेपछि बल्ल प्रभातदादा आयो । हामीले एक-अर्कालाई हेरिरह्यौँ मात्र । त्यो सीमित समयमा बोल्ने कुरै ठम्याउन सकिनँ मैले । यस्तो पेलामा खुसी हुने हो अथवा रुने, यो पनि मेरा मस्तिष्कले छुट्याउन सकेन । तर, दाइको अनुहारबाट म के थाहा पाउन सक्थेँ भने- ऊ चरम पीडामा छ, निकै यातना दिइएको हुनुपर्छ उसलाई । त्यो पीडा मदेखि लुकाउन उसलाई निकै मुष्किल परिराखेको छ । उसले मसँग धेरैबेर आँखा जुधाउन सकेन । एकै मिनेटमा समय सकिएको संकेत दिइयो र भित्रको पुलिसले उसको पाखुरा समातेर लगभग घिच्याउँदै लग्यो । फर्केर जाँदाजाँदै थाकेको स्वरमा बाटैबाट केवल यत्ति भन्यो उसले- 'मेरो पीर नगर्नू, हामीलाई केही गरेको छैन, मुमालाई सम्हाल्नू, नआत्तिनू...।'

हेर्दाहेर्दै ऊ आँखाबाट ओझेल भयो । म चकित भएँ- आज म आफ्नै दाइसँग भेट्न र कुरा गर्न नपाउने स्थितिमा छु । मेडिकल डाक्टर भइसकेको त्यो भद्र मान्छेलाई यति अभद्र तवरले हाम्रै आँखा अघिल्तिर झाक्कलझुक्कल पारेर लगिइरहेको छ । के थियो उसको अपराध ? यत्ति कि जिन्दगीमा उसले कहिल्यै अविवेक गरेन, सर्वथा न्यायका बाटामा हिँडिरह्यो र अनैतिक कार्यमा कहिल्यै कसैसँग सम्झौता गरेन । मेरा अन्तरमा हुरी चलिरह्यो । म यति असहज भइसकेकी थिएँ, कुनै वेला पनि भक्कानिएर रुन सक्थेँ । म उभिइरहँे, मेरा आँखा त्यो लामो बरन्डाको त्यही मोडमा अल्मलिइरहे, जहाँबाट प्रभात छेलिएको थियो ।

'भीड नगर्नूस् ! तपाईंहरू गइहाल्नुस् ! गि्रलको ढोकाबाहिर बसेको पुलिसको कर्कश स्वरले मेरो तन्द्रा खल्बलियो । ऊ हामीतिरै संकेत गरिरहेथ्यो । तर, कसरी र्फकन सक्थेँ र म ? आफूले अत्यन्त स्नेह गरेको दाजु आततायी शासकको यस यातनागृहभित्र बन्दी छ, निर्घात पिटिएको छ, उसलाई । चरम यातना दिइएको छ । ढोकाबाट म सुस्तरी चोकतिर आएँ र कंक्रिटको त्यस विशाल भवनलाई नियालेर हेरिरहेँ । त्यसैभित्रको कुनै एउटा चिसो कुनामा मेरो दाइ होला, आफ्ना मान्छेहरूदेखि पर, आततायीका घेरा र पहरामा ! उसका क्षणक्षण पीडाले लप|mक्क भिजेर बितिरहेका होलान् । मलाई रिँगटा छुट्लाजस्तो भयो र दौडेर गेटबाहिर निस्केँ । दमको रोगीझैँ मेरो श्वास फुलिरहेको थियो ।

०००

त्यसपछि करिब एक महिनाजति म त्यहाँ गइरहेँ । तर, त्यसअवधिमा दाइलाई कसैसँग भेट्न दिइएन । मेरो बुबा एकदिन पनि दाजुलाई भेट्न जानुभएन, बरु मुमालाई पनि नजाने कडा आदेश दिनुभयो । मुमा दाजु सम्झेर दिनहँु रुनुहुन्थ्यो । म उहाँलाई सान्त्वना दिने प्रयास गर्थें । उहाँ दाइका निम्ति आफ्नै हातले खाना तयार पार्नुहुन्थ्यो र बिहान-बेलुकी मै खाना पुर्‍याउन जान्थेँ । खानेकुरा पुलिसका अगाडि आफँैले ढोकामै चाख्नुपथ्र्यो र मात्र पुलिसले त्यो भित्र लगिदिन्थ्यो । खाना दाइले सबुत पाउँथ्यो-पाउँदैनथ्यो, त्यो मैले कहिल्यै थाहा पाइनँ । तर, दादाको नाममा त्यसलाई जिम्मा लगाएपछि मलाई सन्तोष हुन्थ्यो । भाँडा पुलिसमार्फत नै र्फकन्थे । चाहिएका सामानको सूची चिटमा लेखेर दादाले पुलिसकै हात ढोकामा पठाउँथ्यो । उसको हस्ताक्षर मात्रै देख्दा पनि म गद्गद् हुन्थेँ र मुमालाई लगेर दिन्थेँ । उहाँले पनि प्रत्येक चिटलाई एउटा ज्यूँदो बालकझैँ स्याहार र जतन गर्नुहुन्थ्यो । ती सबै उहाँकै सिरानमुनि सुरक्षित रहन्थे । हामी क्रमशः यस्तैमा बानी पर्दै गइरहेथ्यौँ र यी सबै क्रिया स्वाभाविक किसिमले हाम्रा दिनचर्यासँग गाँसिन पुगेका थिए ।

तर, दुर्भाग्य ! हाम्रो चित्त बुझाउने यति सानो आधार पनि एक साँझदेखि खोसियो । खाना लिएर म एक्लै गएकी थिएँ । गेटको पुलिसले अत्यन्त सन्देहास्पद आँखाले मलाई घुरेर हेरिरह्यो र दाजुलाई अन्तै लगिसकिएको कुरा बतायो । तर, कहाँ लगिएको छ भन्ने कसैले बताएन । दाजु छैन भन्ने सुन्नासाथ म कसैसँग बोल्नै सकिनँ, आँखा आँसुले भरिए । यस संसारमा म नितान्त एक्लै छु भन्ने भावले मलाई विचलित बनायो । म खानेकुराको थर्मस लिएर यन्त्रवत् फकेर्ं । एकछिनका लागि मैले मेरा सबै आफन्त बिर्सें । म कहाँ छु, को हुँ र मेरो घर कहाँ हो भन्ने चेतना पनि सम्भवतः त्यो क्षण मसँग थिएन ।

मलाई त्योभन्दा नरमाइलो साँझ कहिल्यै अनुभव भएन । आजको रात कहाँ होला मेरो दाइ ? के खायो होला ? कुन अवस्थामा होला ? मेरो मानसिकता अत्यन्त व्याकुल बन्दै गयो । पुलिसको गेटबाट बाहिर निस्केर एकछेउतिर म थचक्कै भुइँमा इँटामाथि बसेँ । ल्याम्पपोस्टमा बत्ती धमाधम बल्दै थिए । साँझको सडकमा खुब भीड थियो । हस्याङफस्याङ गरेर हिँड्दै थिए मान्छेहरू, आ-आफ्नै काम हुँदा हुन्, तिनीहरूका पनि । ती आफ्ना जहान-परिवारसँग भेट गर्न गइरहेका हुँदा हुन् । तर म ? आज मेरो एउटै दाजु, त्यो पनि एउटा निरपराध सज्जन व्यक्तिलाई कुन लाञ्छना लगाएर कहाँ लगिएको

छ ? त्यो मैलाई थाहा छैन । हे ईश्वर ! म घर गएर मुमालाई के भनुँ ? मैले आफूलाई सम्हाल्न सकिनँ, आँखाबाट आँसुका धारा छुटे । घाँटीबाट घुँक्कघुँक्क आवाज निस्किरह्यो । आफ्नो चारैतिर अनुभव भएको गतिमान वातावरणभित्र एउटै मात्र निर्जीव र गतिहीन वस्तु, म आफूले आफैँलाई अनुभव गर्दै थिएँ, त्यसवखत । त्यो साँझको सम्झना मात्रैले पनि यसबखत मेरो हृदय छियाछिया भएर टुक्रिन्छ ।

त्यसपछि भने चारैतिर खोजी गर्दा पनि दाजुको कतै पत्तो लागेन । उसका नजिकका साथी भन्छन्- 'जेल सार्ने निहुँ गरेर हिँडाइएका तिनीहरूलाई जंगलको बीच गोली हानेर मारिसक्यो रे ! सरकारले ।' नमरेको भए त पक्कै केही न केही खबर अवश्य आउँदो हो ज्यूँदो मान्छेको । आज पाँच वर्ष बितिसक्यो । मलाई अचेल घरी-घरी ऊसँग सोध्ने इच्छा हुन्छ- 'तिमीले गल्ती गरेको छैन भन्थ्यौ नि दादा ! गल्ती नगरीकन पनि कहीँ सजाय हुन्छ र ? त्यो पनि यत्रो असैह्य ?

दादाको यस्तो समाचार सुनेपछि नै हो, म अधैर्य भएर बुबाका अघिल्तिर गएर रोएकी थिएँ- 'बुबा ! यस संसारमा हजुरले जस्तै मात्र सोच्ने मान्छे हुँदा हुन् त संसार कति डरलाग्दो हुने थियो होला ! निरस, शंकैशंकाले व्याप्त र अनास्थाले भरिपूर्ण ! दासता, बन्धन र आतंकका पासाभित्र छट्पटिइरहेको जीवनमा सौन्दर्यले स्थान नै कहाँ पाउने थियो ? अन्धकारकै कुवामा सबैले सधैँभरि बस्न स्वीकार गर्ने हो र त्यसको विरोधमा कुनै आवाज नउठ्ने हो भने यहाँ कहिल्यै सूर्योदय हुने थिएन । युगको गति नै समाप्त हुने थियो । बुबा, मान्छे भएर यतिविधि क्रुर पनि हुन सकिन्छ भन्ने उदाहरण मैले हजुरबाट पाएँ । हजुरकी छोरी भएर जन्मेकीमा मलाई अत्यन्त ठूलो दुःख छ ।'

त्यो फौजी बाबुले त्यसदिन मलाई गाली गरेन । अघिपछि भए ऊ मलाई यस्ता चारपैसे नेतागिरिका उपदेश सुनाउनुपर्दैन भनेर हकाथ्र्यो होला । तर, त्यसदिन उल्टो ऊ मेरा छेउमा आएर बस्यो । मेरो कपाल सुमसुम्यायो र मेरा गालाबाट बगिरहेका आँसु पुछ्यो । केटाकेटीमा उसले मलाई माया गथ्र्यो, गर्दैनथ्यो, मलाई त्यसको सम्झना छैन । त्यो अप्रत्याशित मायाले मलाई सान्त्वना दिनुको साटो अझ उत्तेजित बनायो । क्रुद्ध भएर मैले भनेँ, 'आजीविका र विवेकका द्वन्द्वयुद्धमा आजीविकाद्वारा पराजित भई विवेक गुमाउँदाका स्थितिमा सधैँ सबै युगका भीष्म पितामहहरूले अन्याय र अत्याचारलाई प्रोत्साहन गरिरहेका हुन्छन् । बुबा, हजुरको असमर्थता पनि त्यसैको उदारहण हो । हजुरले मेरो दाइसँग कहिल्यै सोझो मुखले कुरा गर्नुभएन । उसको खोजीका लागि, सुरक्षाका लागि कुनै प्रयत्न गर्नुभएन । ऊ साँच्चिकै अपराधी थियो भन्ने कुरामा हजुरलाई विश्वास छ, बुबा ? हजुरलाई सत्य र धर्ममा विश्वास छैन ? आफ्नो ३० वर्षको जिन्दगीमा प्रभातले आफ्नो बाबुलाई सधैँ आफ्ना शत्रुका पंक्तिमा पायो । हजुरभित्र संवेदना भन्ने कुनै वस्तु नै छैन, बुबा ? हजुरलाई साँच्चै नै हाम्रो माया नै लाग्दैन ?'

मैले बुबाको शिर कहिल्यै निहुरेको देखेकी थिइनँ । तर, त्यतिखेर त्यस आर्मी अफिसरबाट हाकिमीपनको कृत्रिम रोब उत्रेर गएको थियो । त्यसको बदलामा त्यहाँ केवल पिता बाँकी रहेको देखेँ, मैले । बुबाको निन्याउरो अनुहार देखेर म अत्यन्त दुःखी र व्यथित भएँ । तर, उहाँले प्रभात दादाप्रति गरेको अन्याय सम्भ"mदा मैले उहाँलाई क्षमा गर्न सकिनँ र रुँदै अर्को कोठामा गएँ ।

त्यसको भोलिपल्ट म घर फर्कें र त्यसपछि माइती गएकी छैन ।

०००

टेलिफोनको घन्टी फेरि बज्छ । उताबाट सरोजको आवाज आएको छ- 'वन्दना, भाष्कर छैन ?'

'ऊ त अघि नै गइसक्यो दाइ ! तपाईंकहाँ नै मिटिङ छ भनेर गएको । आइपुगेको छैन अझै ?'

'अहँ, अहिलेसम्म छैन । सुन्यौ तिमीले, आज दिउँसो राजेश र वासुदेव पक्डिएछन् । मानवअधिकारका विषयमा राजेशकै घरमा भएको सानो जमघटमा छापा मारेछ प्रहरीले दिउँसो पुल्चोक क्याम्पसमा घटेको गोलीकाण्डमा निकै विद्यार्थी सख्त घाइते छन् रे ! कति त मर्ने अवस्थामा छन् रे !' सरोजले अरू के भन्यो, मैले मेसो पाइन, टेलिफोन राखेँ । मन एकतमासको भयो । अचेल बजारमा केवल सरकारी संरक्षणका पत्रपत्रिका मात्र छन् । जनताको आवाज बोल्ने सम्पूर्ण सञ्चारमाध्यममाथि प्रतिबन्ध लागेको छ । ठूलो संख्यामा सम्पादक र सम्वाददाता थुनामा छन् । सैनिकका टोली बुट बजाउँदै बन्दुक लिएर सडक-सडकमा डुल्छन् । रातभर सैनिक भरिएका भ्यानले बाटामा गस्ती लगाउँछन् र यसैवखत भाष्कर यो रातमा बाहिर गएको छ ।

'हे भगवान् ! किन आगोमा फालहाल्न जाँदै छन् यी भर्खरका युवक ? कुन उन्मादले, कुन शक्तिले यिनीहरूलाई प्रेरणा

दिन्छ ? आफ्नो सर्वस्व सकेर किन विपन्नतातर्फ डोरिन्छन् यिनीहरू ? मलाई आश्चर्य लाग्छ, मुलुकको स्वतन्त्रता यिनीहरूको मात्रै ठेक्का हो र ? यिनीहरूको भविष्य खै कतै देखिँदैन । त्यही अन्धकारमा मेेरो दाइ हरायो । त्यस बाटामा

हिँड्दा खतरा छ भन्ने थाहा हुँदाहुँदै किन रोकिँदैनन् यिनीहरू ?

प्रभात दादा बेपत्ता भएपछि मैले भाष्करलाई अंकुश लगाउन सुरु गरेकी थिएँ । मैले उसलाई आफ्नो प्रेमले छेक्न खोजेँ, बालक छोरीहरूको स्नेहले छेक्न खोजेँ र पनि ऊ नफर्केको देख्दा हतास भएर म रिसाउँथँे र झगडा गर्थें । ऊ रिसाउँदैनथ्यो र मेरा अघिल्तिर आएर बिस्तारै सम्झाउँथ्यो- 'यस्ता कुरा कमसेकम तिमीले त नगर्नुपर्ने थियो ! मैले तिमीलाई, छोरीहरूलाई माया गर्छु भन्ने सत्य, त्यो पनि कहीँ प्रमाण दिइरहनुपर्ने कुरा हो ? मान्छेले एकदिन मर्नैपर्छ । वास्तविकता त के हो भने मृत्युलाई कसैको माया र स्नेहले छेक्दैन वन्दना ! तैपनि माया गर्नु मान्छेको धर्म हो र बाँचुन्जेल मान्छेले माया गरिरहन्छ । तर, यस मार्गबाट विमुख भएँ भने, मलाई प्रभातको आत्माले श्राप दिनेछ । म स्वयंलाई पनि आफ्नै विवेकले क्षमा गर्ने छैन । अब तिमी नै भन, म यसप्रकारको जीवित मृत्यु अथवा विकलांग मनस्थिति लिएर तानाशाही सत्ताको रापको न्यानोमा गुट्मुटिइरहुँ कि विवेक र आत्मसम्मानसहित कर्तव्यपथमा लागिरहँु ?'

एउटा सत्मान्छेलाई कर्तव्यपथबाट विचलित गर्ने खलनायिका कसरी हुन सक्थेँ र म ? प्रभात दाजुको हत्याको प्रतिशोध, बुबा-मुमाको दुःख, व्यावहारिक जीवनको कठिनाइ सबैबीच सन्तुलन गुमाउन पुगेका बखत ममा अधीरता पैदा हुन्थ्यो र म भन्थेँ- 'हामीलाई के नपुग्दो छ र, तिमी यस्तो विद्रोह गर्छौ भाष्कर ?'

'मैले हामीलाई नपुगेर विद्रोह गरेको होइन । हामी अभावग्रस्त छौँ भनेर भन्न पाइने र त्यसको समाधान खोज्न कुनै उपाय देखेकी छ्यौ तिमीले यस अन्धकारमा ? यहाँको चिसो ठिहीले कठ्यांगि्रएका लाखौँ तिमीजस्ता पत्नी, प्रभातजस्ता युवक र हाम्रा छोरीजस्ता कलिला जीवनलाई स्वाभिमानको न्यानो घाम दिने सूर्यको खोजी गर्न उडेका पक्षी हौँ हामी । हुन सक्छ- हाम्रो गन्तव्य अत्यन्त टाढा छ, हाम्रो कार्य अत्यन्त दुष्कर छ, तर हामी यही विश्वासमा अगाडि बढ्न सकेका छौँ- कुनै दिन त्यो सूर्यलाई हामी आफ्नो आकाशमा टाग्न सक्नेछौँ ।'

मसँग उसलाई प्रतिरोध गर्ने उत्तर हँुदैनथ्यो । सत्य र न्यायका अघिल्तिर कुनै उत्तर हुँदोरहेनछ र त शक्तिले थिचोमिचो गरेर सन्तुष्टि लिन लालायित हुने रहेछन् क्रुर दमनकारीहरू ! वास्तवमा पाण्डवहरूले अपमानित नै भएर आफ्नो हक गुमाउन स्वीकार गरेका भए त्यत्तिका मान्छे कुरुक्षेत्रमा निश्चय नै मर्दैनथे । तर, कौरवका अत्याचार प्रोत्साहि हुँदै जान्थे र संसारमा अन्याय र अत्याचारले मौलाउने वातावरण अझ राम्ररी पाउँदै जाने थियो । आतंक र अनाचारमुनि कहाँ बाँकी रहने थियो र मान्छेको संवेदनशीलता ? जीवन कसरी निर्भय र सहज रहिरहन सक्थ्यो ? वास्तवमा हरक्षण, हरपल हामी आफूसँग, आफ्नो मानसिकतासँग र वरिपरिका विषय, परिस्थितिसँग युद्धै त गरिरहेका हुन्छौँ । के म युद्ध गरिरहेकी छैन र ? मेरा यी सबै आफन्त युद्ध त गरिरहेका छन्, युद्ध त जीवनमा अनिवार्य पो रहेछ ! म आफँै छक्क पर्छु ।

मलाई महाभारतको कथाले खुब प्रभाव पारेको छ । जीवनका यावत् जोडघटाउ समाविष्ट त्यहाँका सबै पात्रमा जीवनका वास्तविकता छन्, विसंगति छन् । ती कहिल्यै, कुनै युगमा पुराना हुँदैनन् । घरी-घरी युद्धोपरान्तको संहारबाट नितान्त विचलित भएर म युद्धको निष्प्रयोजनीयताबारे भाष्करसँग बहस गर्थें र ऊ भन्थ्यो- 'युद्धको प्रयोजन केवल प्रतिशोध र संहारकै लागि हुनुहुँदैन । यहाँसम्म म तिमीसँग सहमत छु । तर, अन्यायी र अपराधीको मनोबल गिराउन, सत्य, न्याय र धर्मको रक्षा गर्न युद्ध आवश्यक छ । युद्धबाट पलायन अक्षमता हो वन्दना, असमर्थता हो । युद्ध त जीवनको धर्म हो !'

कहिलेकाहीँ मेरो हठ र जिद्दीका सामु ऊ अत्यन्त निराश भएर भन्थ्यो- 'मलाई आश्चर्य लाग्छ, वातावरणबाट नितान्त अप्रभावित भएर मान्छे कसरी बाँच्न सक्छ ? कहाँ थन्क्याउँछ उसले आफ्नो संवेदनालाई ? आफ्नो विवेक र ज्ञानलाई कुन खोपामा राखेर ऊ आफ्ना बन्धुवान्धव र आफैँमाथि गुजि्ररहेका अत्याचारलाई निस्पृहतापूर्वक टुलुटुलु हेरेर घुटुघुटु ग्लानि निल्न सक्छ ? तिमीलाई पोल्दैन वन्दना ? पटक्क पोल्दैन ? बदला लिने इच्छा नै हुँदैन ? मान्छे भएर पनि यतिविधि चिसो हुन सकिन्छ कहीँ ?' ऊ लामो सास फेरेर चकित भएर मलाई हेरिरहन्थ्यो । यस्तो वेलामा मलाई ऊ पृथ्वीको सबैभन्दा अनौठो प्राणी लाग्थ्यो ।

पुनः टेलिफोनको घन्टीले मेरो सोचाइको क्रममा बाधा पुग्छ । म टेलिफोन उठाउँछु- 'हेलो वन्दना, म भाष्कर ! पुलिसहरू हाम्रो पिछा गर्दै छन् । म यसबखत गौशालामा छु संकेतको घरमा । सके अलिक दिन हामी लुकेरै बस्नुपर्छ होला, तिमीहरू हिम्मत नहारिकन बस्नू । म चाँडै आउँछु, छोरीहरू सुते ?' म बोल्नै सकिनँ ।

'हेलो, किन नबोलेको ? धत् लाटी, यति सानो कुरामा पनि आत्तिएर हुन्छ ? हामी न्यायका लागि लड्दै छौँ, हाम्रो जित सत्यको जित हो ! ल, मिल्यो भने म आफैँ टेलिफोन गरूँला, राम्ररी बस्नू !'

'भाष्कर !' बल्ल मेरो बोली फुट्यो । 'प्रभात दादा पनि त्यसै भन्थ्यो...!' उताबाट टेलिफोन राखिसकेको थियो । अज्ञात आशंकाले मेरो सम्पूर्ण शरीर लुगलुग कामिरहेथ्यो । तर, म बोलिरहेँ- 'भाष्कर, म तिमीलाई गुमाउन चाहन्नँ !' भाष्करको सामीप्य प्राप्त गर्न मैले रिसिभर कानैनिर टाँसेँ र आँखा चिम्लिरहेँ ।

(रचनाकाल ०४७ )

 

Subscribe to comments feed Comments (1 posted):

roshan pulami on 16/08/2010 05:59:29
avatar
no comment.....!!!!!
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?