को के भन्छन् शैलजाबारे ?
नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको निधनबाट मुलुकले होनहार महिला नेत्री तथा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शकी प्रतिमूर्ति गुमाएको छ ।
माधवकुमार नेपाल
प्रधानमन्त्री
नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको निधनबाट मुलुकले होनहार महिला नेत्री तथा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शकी प्रतिमूर्ति गुमाएको छ । म राज्यका तर्फबाट स्वर्गीय आचार्यप्रति उच्च सम्मान प्रकट गर्दछु । स्वर्गीय आचार्यको नैतिक मूल्यको राजनीतिलाई कठिन परिस्थितिमा पनि आत्मसात् गरिरहने विशेषता सबैका लागि उदाहरणीय छ । आफ्नो विचार र मान्यतामा अडिग रहिरहने उहाँले राजकीय ओहोदामा रहँदासमेत भ्रष्टाचार, अनियमितताजस्ता गलत प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गरेको कुरा नेपाली इतिहासले कहिल्यै भुल्ने छैन ।'
गिरिजाप्रसाद कोइराला
सभापति, नेपाली कांग्रेस
नेपालको राजनीतिमा उनी एउटा नेता मात्र होइन गौरवपूर्ण गाथा र इतिहास पनि हो । मैलेभन्दा मुलुकका लागि उनले धेरै ठूलो योगदान पुर्याएकी छिन् ।
कृष्णप्रसाद भट्टराई
संस्थापक सदस्य, नेपाली कांग्रेस
ठूलो महिला नेत्रीलाई आज हामीले गुमाउनु परेको छ । नेत्री आचार्यको निधनले नेपाली राजनीति लामो समयसम्म अपूरणीय नै रहने छ । भगवान्ले उहाँलाई राम्रो लोकमा राख्नुहुनेछ । उहाँले मुलुकको प्रजातान्त्रिक आन्दोलन र जनताका लागि अपूरणीय योगदान पुर्याउनुभएको छ । कांग्रेसका लागि पनि ठूलो दुःख उठाउनुभएको थियो । जेल, नेलसमेत सहनुपरेको थियो । तर पनि उहाँले पार्टीलाई अहित हुने काम कहिल्यै पनि गर्नुभएन । उहाँको उचित सम्मान र कदर हुनेछ भन्ने मैले आश लिएको छु ।
शेरबहादुर देउवा
वरिष्ठ नेता, नेपाली कांग्रेस
राजा महेन्द्रले सैनिकको सहायतामा प्रजातन्त्रलाई 'कु' गरेर मुलुकको सम्पूर्ण शासन व्यवस्था आफ्नो हातमा लिएपछि त्यसको विरोधमा शैलजा आचार्य नेपालको राजनीतिमा उदाउनुभएको हो । २०१७ साल फागुन ७ गते राजाको कदमको विरुद्ध कालो झन्डा लिएर टुँडीखेलमा पहिलोपटक उभिने साहसिक महान् वीरांगना हुनुहुन्छ उहाँ । उहाँको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको छ । मान्छे रहेसम्म उसको कुनै महत्त्व रहँदैन जब मान्छे रहँदैन तब मात्र उसको महत्त्व थाहा हुन्छ । आज कांग्रेस र सिंगै मुलुकले उहाँको रिक्तताको महसुस गरेको छ । मैले पनि त्यही महसुस गरेको छु । शैलजा कांग्रेसको नेत्री मात्र होइन, महिलाहरूका लागि सिद्धान्त पनि हुनुहुन्थ्यो ।
सुवासचन्द्र नेम्वाङ
संविधानसभाका अध्यक्ष
निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय कांग्रेस नेत्री एवं संघर्षशील शैलजा आचार्यलाई हामीले गुमाएका छौं । लोकतन्त्र र जनताको मुक्तिका लागि जोडिएको नाम हो शैलजा । लोकतान्त्रिक आन्दोलनमा उहाँले आफ्नो जीवनको अन्तिम समयसम्म पनि लडिरहनुभयो । लोकतन्त्र र शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्याउने एउटा गम्भीर योजनामा मुलुक जुटिरहेको समयमा उहाँको निधनले मुलुकलाई गम्भीर क्षति पुगेको छ । लोकतन्त्र र शान्ति-प्रक्रियाको पक्षमा अविचलित लागिरहने नेत्री आचार्यको लगनशीलताले हामी सबैलाई निरन्तर घचघच्याइरहनेछ । समुन्नत मुलक निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न थप प्रेरित गरेको छ ।
झलनाथ खनाल
अध्यक्ष, एमाले
२००७ सालको राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिको विरुद्ध राजा महेन्द्रले उठाएको साथै सबै प्रकारका तानाशाहविरुद्ध अविछिन्न संघर्षरत महिला नेत्रीलाई हामीले गुमाएका छौं । उहाँको संघर्ष अविष्मरणीय छ । उहाँको योगदानलाई इतिहासले मूल्यांकन गर्नेछ । जनता र लोकतन्त्रको पक्षमा निरन्तर लागिरहन आचार्यले सबैलाई प्रेरित गर्नुभएको छ ।
कृष्णबहादुर महरा
नेता, एकीकृत माओवादी
नेपाली राजनीतिक आन्दोलन र महिला आन्दोलनको एक एक हस्तीलाई हामीले गुमाएका छौं । उहाँले नेपाली जनताको मुक्तिका लागि जुन प्रकारको भूमिका निर्वाह गर्नुभयो आफ्नो जीवनभरि त्यसलाई हामी सबैले सम्मान गर्नुपर्छ । उहाँले अंगाल्नुभएको विचार र निष्ठाको राजनीतिलाई हामी सबैले अंगीकार गर्नुपर्छ । शैलजा दिदीले हामी सबैलाई निष्पक्ष, निर्भीक भएर काम गर्न सिकाउनुभएको छ । उहाँको निधनले नेपाली लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।
पशुपतिशमशेर राणा
अध्यक्ष, राप्रपा
शैलजा आचार्यलाई नेपाली राजनीतिको अत्यन्त इमान्दार राजनीतिज्ञको रूपमा मैले हेरेको छु । नेपाली जनता र राजनीतिज्ञका लागि दुर्भाग्य नै भन्नुपर्छ निष्ठा र इमान्दारको राजनीति गर्ने व्यक्तिलाई हामीले गुमाएका छौं । उहाँको जस्तो त्यागको राजनीति गर्ने नेताहरूको मुलुकमा आवश्यकता खड्किरहेको समयमा उहाँको निधनले सबैलाई मर्माहत बनाएको छ । जुन नेपाली राजनीतिका लागि अपूरणीय क्षति हो । मानिस इमान्दार हुनुपर्छ भन्ने पाठ नेत्री आचार्यबाट राजनीतिज्ञले मात्र होइन सबैले सिक्नु जरुरी छ ।
विजय गच्छदार
उपप्रधानमन्त्री एवं भौतिक योजनामन्त्री
नेपाली राजनीतिमा उहाँको अतुलनीय योगदान छ । देश र जनताका लागि उहाँले लामो संघर्ष गर्नुभएको छ । जीवनका ऊर्जावान सबै समय देश र जनताको पक्षमा समर्पित गर्ने नेत्री आचार्यको निधनले नेपाली राजनीतिमा ठूलो रिक्तता छाएको छ । यो रिक्ततालाई नेपाली राजनीतिले तत्काल पूर्ति गर्न सक्दैन । संघर्षशील प्रजातन्त्रवादी नेत्रीलाई हामीले गुमाएका छौं । कांग्रेसका लागि त निकै ठूलो क्षति भएको छ । आफ्नो आदर्श र विचारमा दृढ नेतालाई हामीले गुमाएका छौं ।
विद्या भण्डारी
मन्त्री, रक्षा
नेपाली जनताको मुक्तिका लागि घरपरिवार र आफ्नो स्वार्थलाई त्यागेर जनताको स्वतन्त्रताका लागि निरन्तर संघर्ष गर्ने नेत्री आचार्यको निधनले महिला आन्दोलनलाई मात्र होइन सम्पूर्ण आन्दोलनलाई अपूरणीय नोक्सान भएको छ । उहाँले नेपाली राजनीतिमा पुर्याउनुभएको योगदानको हामी सबैले कदर गर्नुपर्छ । उहाँ आबद्ध पार्टी नेपाली कांग्रेसले पनि अवश्य नै कदर गर्ने नै छ भन्ने लागेको छ ।
सहाना प्रधान
नेत्री, एमाले
कलिलो उमेरबाट नै नेपालको राजनीतिमा सक्रिय शैलजा आचार्यको संघर्षमय गाथाबाट सबै नेपालीले सिक्नुपर्छ । २०१७ सालमा नै तत्कालीन राजालाई कालो झन्डा देखाउने आचार्य निडर, निष्ठावान र इमान्दार राजनेताको रूपमा नेपाली राजनीतिमा रहिरहनुहुनेछ । नेपाली महिलाले आज ठूलो क्षति सहनुपरेको छ । उहाँको साहसिक कदमबाट नेपालका राजनीतिक दलका नेताहरूले पाठ सिक्नु जरुरी छ ।
सशांक कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
शैलजा दिदीको सपनालाई साकार बनाउन नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन गरेर जानु जरुरी छ । कांग्रेसले अहिलेको च्यालेन्जलाई मध्यनजर गर्दै नयाँ संविधान निर्माण गर्न जुट्नुपर्छ । उहाँ हुँदा नै नयाँ संविधान निर्माण गर्न सकेको भए उहाँको आत्माले शान्ति पाउँथ्यो, तर त्यो सम्भव भएन । अहिलेको अवस्थामा पार्टीलाई उहाँजस्तो निडर नेतृत्वको खाँचो रहेको समयमा दिदीको निधनले सबैलाई मर्माहत बनाएको छ ।



del.icio.us
Digg
Post your comment