Newsletter
Email:
Home | झन् नयाँ | के पढ्दै छन् तन्नेरीहरू ?

के पढ्दै छन् तन्नेरीहरू ?

Font size: Decrease font Enlarge font
image

कोर्सका किताब मात्र पढ्ने क्याम्पसे ठिटा-ठिटी अहिले पुस्तक प्रदर्शनी तथा राम्रा र धेरै पुस्तक पाइने पसल खोज्दै हिँड्छन्

 

 

 

यो लेख लेख्नुभन्दा पहिले मैले मानिसका पुस्तक रुचि बुझ्न सहरका केही पुस्तक-पसल चहारेँ । पुस्तक-पसलमा मानिसहरू चलायमान थिए । गएको बुधबारका दिन करिब २ बजेतिर बागबजारकै रत्न पुस्तक भण्डार पुग्दा केही युवा पाठक पुस्तकका खात नियालिरहेका थिए । 'किताब नकिने पनि हेर्नुको मज्जा बेग्लै,' त्रिचन्द्र क्याम्पसमा बिएस्सी पढ्ने सहपाठी रमिला पाठकसँग डुलिरहेकी २२ वर्षे सरिना मास्केले भनिन्, 'साझा पुस्तकले निकालेको शंकर लामिछानेको 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' किन्न खोेजेको, तर पाइएन ।' उनले त्यो किताब किन्न धेरै पुस्तक-पसल चहारे पनि नपाएको गुनासो गरिन् ।

म एउटा र्‍याकमा खगेन्द्र संग्रौलाको 'सम्झनाका कुइनेटाहरू' हेरिरहेको थिएँ । ध्यान छेवैको युवतीतिर गयो । कालो सर्ट लगाएकी रीता शाहले किताबले खाँदिएको र्‍याकबाट एउटा किताब निकालिन्-'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म' । एकैछिन किताब हेरिन् । मूल्य जाँचिन् र त्यसलाई त्यहीँ फिर्ता राखिन् । त्यसपछि अलि टाढा सरेकी उनले 'द अल्केमिस्ट' निकालिन्, पल्टाइन्, राखिन् र धु्रव सापकोटाको 'अकल्पनीय'लाई पनि त्यसै गरिन् । पढेका पुस्तकमध्ये नारायण वाग्लेको 'पल्पसा क्याफे' र पारिजातको 'शिरीषको फूल'ले रीताको मन छोएका रहेछन् । एकछिन पुस्तकको गफपछि रीता अरू किताब निकाल्न भित्र पसिन् । म अर्कोतिर फर्किएँ ।

किताबले भरिएका र्‍याकअगाडि उभिएका थिए अनुपराज कँडेल । उनी बजार घुम्न निस्कँदा 'यसो किताब किनौँ' भनेर आएका हुन् । केहीबेरपछि उनले र्‍याकबाट शंकर लामिछानेको 'माक्र्सवादको रूपरेखा' र 'गौँथलीको गुँड' निकाले । 'ओझेलमा परेका लेखक हुन्,' अनुपले शंकर लामिछानेबारे भने, 'उनी एउटा मिथक र हिस्ट्री हुन् ।' लामिछानेका सबै किताब खोजी-खोजी पढ्ने भएकाले आफू लामिछानेको ठूलो प्रशंसक भएको बताए । म कनकमणि दीक्षितको 'धुमधामको घुमघाम' र खगेन्द्र संग्रौलाको 'जूनकीरीको संगीत' किनेर पसलबाट बाहिरिएँ ।

यिहाँ पुस्तकालय बढेका छन् । नेपाली पुस्तक संसारले एउटा उद्योगको रूप लिइसकेको छ । निजीस्तरमा खुलेको ए-वान लाइब्रेरीमा मात्रै हजारौँ पाठक सदस्य छन् । 'रिड' र 'रुम टु रिड' जस्ता संस्थाले गाउँ-गाउँमा पुस्तकालय बनाइसकेका छन् । बर्सेनि हुने पुस्तक प्रदर्शनीहरूले पनि पुस्तक संसार फैलिएको पुष्टि गर्छन् ।

तर, हामी परम्पराबाट धेरै माथि आइसकेका छौँ । यहाँ आफूले पढेका पुस्तकबारे चर्चा र संवाद गर्ने चलन सुरु भइसकेको छ । इन्टरनेट इन्जिनमा सर्च गरेर पुस्तक खोज्ने र किन्नेको संख्या बढेको छ । हुन पनि १० वर्षअघिसम्म बजारमा पुस्तकका १५ सय आइटम पाइनेमा अहिले कम्तीमा १५ हजार पाइन थालेका छन् । यहाँ एक सयभन्दा बढी प्रकाशक छन् । हनुमानचालिसा र महाभारतका कथाहरू खोजिने बजारमा 'ह्यारी पोटर' र 'पल्पसा क्याफे'को प्रवेश भएको छ । 'ग्लोबल वल्र्डमा' जुन भाषामा पनि लेखेर र पढेर आफूमा विकास गर्न सकिन्छ,' दार्जिलिङबाट केहीअघि भेटघाटको मेसोमा नेपाल पसेका कवि मनप्रसाद सुब्बाले भनेका थिए, 'पाठकले नयाँ कुरा पढ्न पाउनुपर्छ, यहाँ नपढीकन लेख्नेहरू बढेका छन् । तिनीहरूले कहिले पनि स्तरीय लेख्न सक्दैनन् ।'

अहिलेका युवा कस्ता किताब बढी पढ्छन् ? हाम्रो खोजीको विषय थियो यो । 'म बढीजसो ननफिक्सन र सामाजिक क्रान्तिका किताब पढ्छु । नेपाली आख्यान साहित्य पढ्न बढी मन पर्छ,' कीर्तिपुरमा भेटिएकी एमए पहिलो वर्षमा पढ्ने कृष्णमाया पण्डकले सुनाइन्, 'पारिजातका सबै उपन्यास पढेकी छु । उनको 'शिरीषको फूल' मलाई असाध्यै मन पर्छ । तसलिमा नसरिनको 'लज्जा' र 'बिग्रेकी केटी' पनि मन परेका उपन्यास हुन् ।' पारिजात र तसलिमा पढ्ने केटी अब कस्तो किताब पढ्ने सोचमा छिन् होला ? 'अब जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' र कृष्ण धरावासीको 'टुँडाल' पढ्ने सुरमा छु ।'

एमएका अर्का विद्यार्थी श्रीकृष्ण थापालाई क्रान्तिसम्बन्धी किताब पढ्न मन लाग्दो रहेछ । 'फ्र

ेन्च रिभोल्युसनका किताबहरू पढेको छु ।' उनी अरूलाई सुझाब दिन्छन्, 'यस्तो किताब पढ्नुस्, जसले आफ्नो विचारलाई नै परिवर्तन गरोस् ।'

'मलाई माक्र्सवादी चिन्तन बोकेका किताब पढ्न रुचि छ,' बागबजारमा भेटिएकी प्रतिमा बरालले भनिन्, 'मैले पहिलोपटक पढेको मेक्सिम गोर्कीको 'आमा'ले खुब मन छोयो, र मलाई शोषण र दमनबारे लेखिएका किताबले तान्न थाले । खगेन्द्र संग्रौलाको 'जूनकीरीको संगीत' नेपाली साहित्यमा मन परेको किताब हो । पछिल्लोपटक पढेको डा. गोविन्दराज भट्टराईको 'मुगलान' पनि मन पर्‍यो । उपन्यासमा चित्रण गरिएको ठुले र कान्छा सुतारको नियति अब कोही पनि नेपालीले भोग्नु नपरोस् भन्ने सोचँे । कृष्ण धरावासीको 'शरणार्थी' र शंकर लामिछानेको 'माक्र्सवादको रूपरेखा' पनि धेरै मन परेका किताब हुन् ।'

'म ननफिक्सन नै पढ्छु,' पुतलीसडकको पैरवी पुस्तक-पसलमा भेटिएका रामेछापका रामेश्वर बन्जारा भन्छन्, 'पर्ल एस बकको 'द गुड अर्थ', मेक्सिम गोर्कीको 'आमा'देखि ओशोका 'सम्भोग से समाधि की ओर'सम्म पढ्न भ्याएको छु । पारिजातको 'शिरीषको फूल' पनि साह्रै मन पर्छ । राजधानीमा विदेशी साहित्यको भण्डार नै छ । मोफसलमा भने केही पाइँदैन ।'

अहिलेे सकारात्मक सोचका किताबहरू मात्रै पढ्ने पाठक पनि छन् । राजेन्द्र कक्षपती सकारात्मक सोच भएका किताब बढी पढ्ने गरेको बताउँछन् । 'विकासानन्दको 'मनोक्रान्ति', 'माइन्ड पावर', कर्ण शाक्यको 'सोच', शाक्यको भर्खरै प्रकाशित 'म सक्छु' जस्ता किताब पढेको छु ।'

काभे्र बनेपाका शैलेन्द्र सापकोटा अंग्रेजी साहित्यका किताब खुब पढ्छन् । सानैदेखि 'पारिवारिक वातावरण' नै साहित्यका किताब पढ्ने खालको भएको बताउने शैलेन्द्रलाई केहीअघि पढेको जर्ज अरबेलको 'एनिमल फार्म'ले धेरै समयसम्म छोएको थियो रे । 'एन्टी कम्युनिज्मको किताब हो,' शैलेन्द्रले भने, 'उपन्यासमा जनावरहरू कुरा गर्छन्, एउटा जनावरले अर्कोलाई माया गर्छ । र, त्यहाँ विद्रोह पनि हुन्छ । मैले नेपाली साहित्यमा पछिल्लोपटक पढेको नारायण ढकालको 'प्रेतकल्प' पनि साह्रै मनपर्‍यो । पुरानो समयको नेपाली समाजको चित्रण गज्जब छ उपन्यासमा । केहीअघि मात्रै पढेर सकेको पर्ल एस बकको, 'द गुड अर्थ' र हर्मन हेस्सेको 'सिद्धार्थ'ले मनमा एउटा छाप छोडेको छ ।' उनले केहीपटक दोहोर्‍याएरै पढेको किताब पाउलो कोयल्होको 'द अल्केमिस्ट' हो । 'उपन्यासमा एउटा भेडागोठालेले जीवनका धेरै पाटा भोग्छन् । उपन्यासले पाठकलाई सपना देख्न सिकाउँछ,' शैलेन्द्र भन्छन्, 'उपन्यासका घटना पनि रमाइला मोड पार गर्दै अघि बढ्छन् । त्यो रमाइलो कुरा हो ।' उनले चेतन भगतका किताब पनि रुचिसाथ पढ्ने गरेको सुनाए ।

बानेश्वरका नवीन शर्मा 'हिमालयन बुक सप'मा डोरबहादुर विष्टका किताब खोज्न आएका रहेछन् । 'विष्टको फेटलिज्म एन्ड डेभलोपमेन्ट पढेको छु,' उनले सुनाए ।

पिछिल्ला पुस्तामा सञ्जीव उप्रेतीको 'घनचक्कर', नारायण वाग्लेको 'पल्पसा क्याफे', नारायण ढकालको 'प्रेतकल्प', कृष्ण धरावासीको 'शरणार्थी', सरुभक्तको 'पागलबस्ती' जस्ता पुस्तकले राम्रो बजार पाइरहेका छन् । यसले युवाहरूको आकर्षण नेपाली साहित्यतर्फ पनि बढेको देखाउँछ । नेपाली र अंग्रेजी साहित्यका पुस्तकहरू पढ्ने विष्णु रेस्मी मगर भन्छन्, 'मलाई पाउलो कोयल्होको 'द अल्केमिस्ट', जर्ज अरबेलको 'एनिमल फार्म' मनपरेका अंग्रेजी पुस्तक हुन् । पछिल्लोपटक मैले पढेका नेपाली पुस्तकमा जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' र खगेन्द्र संग्रौलाको 'सम्झनाका कुइनेटाहरू' हुन् । 'अन्तर्मनको यात्रामा दुःखमा पनि बाँच्न सक्नुपर्छ भन्ने छ,' उनले थपे, 'तर, उनी त सम्पन्न परिवारका परे र माइलोमा क्यान्सरको उपचार गरे, सामान्य परिवारका भएका भए उनी बाँच्ने थिएनन् । सामान्य पाठकलाई उनका कति कुरा अपच लाग्न सक्छन् ।'

कालो टिसर्टमा सजिएकी शान्ता चेम्जोङलाई 'कथा र उपन्यास' बढी पढ्न मन लाग्दोरहेछ । उनले पढेमध्येको सबैभन्दा मनपरेको उपन्यास 'गोविन्दबहादुर मल्ल गोठालेको 'पल्लो घरको झ्याल' हो रे । 'पारिजातको 'शिरीषको फूल' सबैभन्दा बढी दोहोर्‍याएर पढेको उपन्यास हो,' उनले सुनाइन्, 'पाउलो कोयल्होको 'द अल्केमिस्ट' पनि खुब मन परेको रोमान्टिक उपन्यास हो ।'

अंग्रेजी साहित्य पढ्ने नेपाली पाठक बढ्दै छन् । पाउलो कोयल्होको 'द अल्केमिस्ट', अर्नेस्ट हेमिङ्ग्वेको 'द ओल्ड म्यान एन्ड द सि', इरिक सेगलको 'लभ स्टोरी', सम

्राट उपाध्यायको 'एरेस्टिङ गड इन काठमाडौं', मञ्जुश्री थापाको 'टिल्ड अर्थ', जेके रोलिङको 'ह्यारी पोटर', डिजे स्यालिन्जरको 'द क्याचर इन द राइज' जस्ता पुस्तकबारे युवापुस्तामा धेरै बहस चल्ने गरेको छ ।

हिर्मन हेस्सेको पूर्वीय दर्शनमा आधारित विश्वप्रसिद्ध उपन्यास 'सिद्धार्थ' लगायत यौनजीवन र अनुभूतिमा आधारित एवं विवादित भ्लादिमिर बोबोकोबको नोबेल पुरस्कारप्राप्त उपन्यास 'लोलिता' पढ्दा पाइने सुन्दरतम आनन्द र सन्तुष्टि त ब्राड पिटले अभिनय गरेका सिनेमामा पनि नपाइने पाठकको अनुभव छ ।

हातमा किताब च्यापिरहेका बेला भेटिएका मास्टर्स पढ्दै गरेका सुरेन्द्र तिमल्सिनालाई 'अन्तर्मनको यात्रा' खुब मन परेको उपन्यास हो रे । 'सम्राट उपाध्यायको 'द रोयल गोस्ट', किरण देसाईंको 'द इनहेरिटेन्स् अफ लस', भर्खरै पढेर सिध्याएको 'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म' नेपाली र अंग्रेजी साहित्यमध्ये मन पर्ने पुस्तक हुन् ।' पछिल्लो समय बढेका पाठकमा बढी सहरी युवा र अंग्रेजीप्रति रुचि राख्नेहरू छन् । कोर्सका किताबहरू मात्र पढ्ने क्याम्पसे ठिटाहरू अहिले पुस्तक प्रदर्शनी र सहरका राम्रा र धेरै पुस्तक पाइने पसलहरू खोज्दै हिँड्छन् । बजारमा पुस्तक आउनेबित्तिकै युवामा त्यसको अध्ययनपश्चात् विचार र विमर्श पनि हुन थालेका छन् । यसले सिर्जनात्कमता र बौद्धिकता बढ्नमा पनि मद्दत गरेको छ ।

किताबलाई किताबकै रूपमा मात्र बेच्ने र पढ्नेभन्दा पनि अहिले किताबलाई जीवनकै एउटा अंगका रूपमा हेर्ने युवा जमात बढेको छ । पुस्तक भनेको संसार हेर्ने र बुझ्ने स-साना आँखा रहेछन् । किताबको व्यापार राजधानीमा मात्र सीमित नगराई मोफसलमा पनि व्यापक गराउने हो भने राजधानीबाहिरका थुप्रै पुस्तकप्रेमीले सहरका सरह पुस्तकको स्वाद चाख्न पाउने थिए । राजधानीबाहिरका पाठक पुस्तकको भोकले डोरिएर राजधानीसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुनेथियो ।

तस्बिर : दीपक

 

spkt.deepak@gmail.com

Subscribe to comments feed Comments (3 posted):

anuz kulung on 29/08/2009 20:59:48
avatar
Kitab padhnu awta alchhipan jasto hamro ahileko yuwaharu garcchhna tara ahileko yuwaharule kati ta kitab padhnu nasako rupma pani liyeka chhan yo pani awta upalabdhi hamro yuwaharuko lagi ho ni ta.
Hoina ra dai.
Thumbs Up Thumbs Down
0
dilu chitwan loktantra sandesh daily on 01/08/2009 11:17:29
avatar
bro subject matter best 6. ma pani 2,4 din ma lekhdai 6u ani banipako sailendra sapkota chahe ko ni ke aaphnai bhai? any way ramro 6 hadeline readerko maan tanni capable 6. feature vanda hedeline ramro.
Thumbs Up Thumbs Down
0
bhandari punam on 01/08/2009 10:18:18
avatar
malai partima ji ko kura sunada ramro lago kirpaya tapaiko mail id duna huna ma anurod garda6u
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?