'हस्तक्षेपकारी विदेशीलाई नो इन्ट्री’
कपिलवस्तु, १० पुस : एमाले नेता केपी शर्मा ओलीले माओवादीले देश बर्बादीतिर धकेल्न विदेशीलाई सार्वजनिक रूपमा निमन्त्रणा गरेको बताएका छन् । सार्वजनिक रूपमा निमन्त्रणा गर्ने र मानेर आउनेविरुद्ध एमालेले वैचारिक संघर्ष गर्नेसमेत ओलीले चेतावनी दिएका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस वाणगंगामा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्यसमेत रहेका ओलीले तीन दिनसम्म लगातार बन्दपछिको सार्वजनिक कार्यक्रममा गएर विदेशीलाई हस्तक्षेप गर्न निमन्त्रणा गरेको आरोप लगाए । माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा भारतलाई हस्तक्षेप गर्न बोलावट गरेको ओलीको भनाइ थियो । एमाले मातहतका विभिन्न पाँच जनवर्गीय संगठनको संयुक्त जिल्ला अधिवेशन उद्घाटन गर्न कपिलवस्तु आएका ओलीले कुनै पनि हालतमा भारत वा अन्य कुनै पनि मुलुकलाई आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिकामा रमाउन नदिने बताए । जस्तोसुकै मामिलामा पनि एमालेले वैचारिक रूपमा संघर्ष गर्दै अघि बढ्ने उनको भनाइ थियो । माओवादी अध्यक्ष प्रचण्ड जिम्मेवार रूपमा प्रस्तुत नहुँदा विदेशीलाई सहयोग पुगेको ओलीको दाबी थियो । माओवादीको शैली बाँदरको जस्तो रहेको बताउँदै उनले सदन र सडकमा उच्छृंखलता देखाएर अराजकता निम्त्याउन खोजेको आरोप लगाए । समस्या समाधान गर्न एकीकृत माओवादी र कांग्रे्रस दुवैलाई एकै ठाउँमा राखेर छलफल गर्न एमाले तयार रहेको ओलीले बताए । एमाले नेता ओलीले माधव नेपाल नेतृत्वकै सरकारले तोकिएको समयमा संविधान निर्माण गरेर छाड्ने ठोकुवासमेत गरे । ओलीले जातीय राज्यको निर्माणबाट नयाँ नेपाल विखण्डित हुने बताए । ओलीले शान्ति, सम्वृद्धि र लोकतन्त्रको संस्थागत विकासबाट मात्र नयाँ नेपाल निर्माण हुने बताए । 'जनतालाई मूर्ख बनाउन एकीकृत माओवादीले विभिन्न सघंसंगठनमार्फत देशलाई हानी पुर्याइरहेको छ,' ओलीले भने । उनले सडक र सदनमा लडाइँ मात्र लडेर माओवादीले जनभावनाको उपेक्षा गरेको आरोप लगाए । विभिन्न झाँकी, जुलुस र र्यालीसहित सिद्धार्थ क्याम्पस वाणगंगाको प्रांगणमा आयोजित पाँच हजार जनसहभागिताको सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसालले वर्तमान अवस्थामा संविधान बन्न नसक्ने देखिए पनि संविधान निर्माण गर्नु र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताए ।



del.icio.us
Digg
Post your comment