पाँच महिनापछि हत्यारा पहिचान
नेपालगन्ज, ११ माघ : विद्यार्थी वसन्त मल्लको अपहरण गरी हत्या गरिएको पाँच महिनापछि हत्यामा संलग्नहरूको पहिचान भएको छ । बाँके प्रहरीले हत्याराहरूको पहिचानसँगै हत्या गरिनुको कारण पनि सार्वजनिक गरेको छ ।
पुरैना— २ बाँके घर भई प्रमाणपत्र तहमा अध्ययनरत २२ वषीय मल्लको गत २१ भदौमा अपहरण गरी हत्या भएको थियो । प्रहरीले मल्लको अपहरणपछि हत्याको अभियोग गोविन्द रैदास, ओमकार गोसाईं, राकेशकुमार लोनिया र विक्रान्तमाथि लगाएको छ ।
तीमध्ये रैदास यसअघि नै हातहतियार तथा खरखजना मुद्दामा थुनामा रहेका छन् भने गोसाईं केही दिनअघि प्रहरीसँग भएको दोहोरो भिडन्तमा मारिएका थिए । लोनियालाई प्रहरीले पछिल्लोपटक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखेको छ । विक्रान्तलगायतका केही अभियोगी फरार रहेको प्रहरीको दाबी छ ।
प्रहरी नियन्त्रणमा रहेका राकेशकुमार लोनिया वसन्तका मिल्ने साथी हुन् । उनीहरू एकसाथ गाउँको विद्यालयमा पढेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार लोनियालाई सार्वजनिक गरेको हो ।
प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारका अनुसार २१ भदौको राति अभियुक्तहरू पुरैनामा मदिरासेवन गरी मुखमा कालोपट्टी बाँधिरहेको अवस्थामा मल्लले उनीहरूलाई चोर भएको आशंकामा सोधपुछ गरेका थिए । तर, उनीहरूले आफूहरू मधेस मुक्ति टाइगर्सका कार्यकर्ता भएको बताउँदै त्यहीँबाट अपहरण गरी लगेका थिए । उनीहरूले आफूहरूलाई हिँडडुलमा बाधा पुर्याएको भन्दै विद्यार्थी मल्लको हत्या गरेको प्रहरी नायब उपरीक्षक बैदवारले बताए ।
हत्यापछि वसन्तका भाइ विजयलाई फोन गरी आफ्नो पार्टीविरुद्व काम गरेको र कार्यकर्तामाथि हातपात गरेकाले हत्या गरिएको बताएका थिए । मल्लको हत्यामा संलग्न रहेकाहरू यसअघि जिल्लामा भएका अपहरण, हत्या, आतंक, बम विस्फोटलगायतका घटनामा संलग्न रहेको दाबी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा पुगेका वसन्तका परिवारले कुनै पनि हालतमा अपराधीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । यसअघि बाँके प्रहरीले अपहरण हत्या र चन्दा आतंकमा संलग्न रहेका रमेशकुमार यादव, केशव गडरियालाई पक्राउ गरेको थियो ।



del.icio.us
Digg
Post your comment