शिक्षा-सचिव गीत गाउँदै
काठमाडौं/ शिक्षा-सचिव दीपेन्द्रविक्रम थापा बिहीबार नक्सालको भर्जिन भ्वाइस रेकर्डिङ स्टुडियोमा गीत गाउँदै थिए । 'एल्बम निकाल्न लागेको छु ।
त्यसैको गीत हो,' कानबाट हेडफोन हटाउँदै उनले भने, 'सचिवभन्दा पहिला म गायक हुँ ।' उनी ०३६ सालतिर फर्किए, 'मैले ०३६ सालदेखि गाउन सुरु गरेको हुँ । त्यतिवेला म, उदीतनारायण झालगायत सँगै म्युजिक सिक्थ्यौं ।' स्वर्गीय चेतनाथ शर्मा र रंगराव कादम्बरीसँग त्यतिवेलै शास्त्रीय संगीतको प्रशिक्षण लिएका सचिव थापाले आफू बीचमा 'करिअर' बनाउनतिर लागेकाले गायनमा निरन्तर लाग्न नसकेको बताए । 'तर, हरेक दिन बिहान तान्पुरा र हार्माेनियम लिएर रियाज गर्दै आएको छु,' उनले भने, 'अब भने एउटा एल्बम निकाल्न मन लाग्यो । अचेल त्यसैमा लागिरहेको छु ।' ०३६ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनको धेरै धेरै प्रयास गरेँ... बोलको गीत त्यतिवेला निकै चलेको थियो रे । त्यतिवेलै तीनपटक राष्ट्रिय आधुनिक गीत गायन प्रतियोगितामा पुस्कृत भएका सचिव थापाले ०४४ सालसम्म मात्रै गायनमा सक्रिय भएको र त्यसपछि पढाइको लोड तथा जागिरे जीवनका कारण गीत रेकर्डिङ गर्न नभ्याएको बताए । उनको यो पहिलो एल्बमको नाम जाँदै छु माया सोचिएको छ । तर 'फाइनल' भइसकेको छैैन । सुगम, आधुनिक संगीतमा अत्याधुनिक धुन समिश्रण गरेका गीत सुन्न पाइनेछ रे उनको एल्बममा । बिहीबार स्टुडियोमा रेकर्ड गराइरहेको गीतको बोल जाँदै छु माया कहाँ हो कहाँ तिमीलाई छाडेर थियो । यो गीत वास्तविकतामा आधारित भएको उनले बताए । 'यो गीतमा उहाँको स्वर्गीय साथीको वास्तविक प्रेमकथा रहेको छ । त्यसैले सुरुदेखि नै म सँगै छु ।' गायक-सचिव थापाको उक्त गीतको म्युजिक भिडियो निर्देशन गर्ने जिम्मा पाएका फिल्म निर्देशक सुरेन्द्र शाहले भने, 'गीत एकदमै मार्मिक छ । अझ कसरी वास्तविक 'भिजुअल' तयार पार्ने भन्नेबारेमा सोचमग्न छु ।' दिनेश अधिकारी, प्रमोद ढुंगाना, अजय रायमाझी, राजकुमार थापालगायतका गीतकारको शब्द रचना रहेको यस एल्बमका गीतमा शम्भुजित बाँस्कोटा, प्रकाश गुरुङ, महेश खड्का, वसन्त सापकोटालगायतको संगीत रहनेछ ।



del.icio.us
Digg
Post your comment