'अब र्याप ठोक्दिनँ'
विनाश घिसिङ र्याप ठोकेरै चर्चामा आएका गायक हुन् । ल्हासाको चिसोले, मैले तिमीलाई अबला सम्झे, धानकै बाला झुलौँला, पूर्वै जाने रेलजस्ता चर्चित गीतमा र्याप ठोकेकैले अविनाश संगीत क्षेत्रमा चिनिए । तर, घिसिङले अब र्याप नगर्ने निर्णयमा पुगेका रहेछन् । 'र्याप भनेको पश्चिमा संस्कृति हो,' उनले भने, 'आफ्नो संस्कृति छाडेर अरूको संस्कृतिलाई किन बढावा दिनु ? यही सोचेर मैले यो निर्णय लिएको हुँ ।'
उनी आफूलाई बजारअनुसार चल्ने गायक बताउँछन् । उनले र्यापर हुनु पनि बजारकै माग रहेको बताए । पछिल्लो समय मेलोडी पपगायकबाट चिनिएका उनले अब कुनै पनि हालतमा र्यापमा नर्फकने बताए । अब उनी मेलाडी संगीतबाटै नेपाली संस्कृति झल्काउन चाहन्छन् । देशका विभिन्न ठाउँ पुगी आफ्नो गीतको भिडियोमार्फत विश्वलाई चिनाउन चाहन्छन् । उनलाई यो सोचाइ ल्यायो- जेरो प्वाइन्ट एल्बमको सुनको बाला र ल्हासाको चिसो गीत लोकपि्रय भएपछि । त्यसपछि उनलाई मेलोडी गीतबाटै सांगीतिक क्षेत्रमा केही योगदान गर्ने रुचि जाग्यो । त्यसपछि उनले पहाडी क्षेत्र एल्बमको दर्शन ला गीतको भिडियोबाट सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रका संस्कृति झल्काए । चम्पा गीतबाट आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई देखाए । 'दर्शन ला गीतको भिडियो हेरी कति त सोलुखुम्बु नै घुम्न गएछन्,' उनले भने, 'त्यहाँबाट फर्केपछि मलाई भेटेर उनीहरूले सुनाउँथे ।'
एक दशकको सांगीतिक-यात्रामा पाँचवटा एल्बम निकालिसकेका उनी नेपालका विभिन्न जातजातिका भाषा/संस्कृतिलाई चिनाउने अभियानमा छन् । उनी अहिले छैटौँ एल्बमको तयारीमा छन् । उनको आगामी एल्बमको नाम हो- हिमाली छोरो । उनी अहिले सोही एल्बमको गीत रेकर्डिङमा व्यस्त छन् । उनले सो एल्बममा दुई/तीन जातिका मौलिक गीतलाई पनि समावेश गरेको बताए । 'रसुवाको मौलिक गीतको मैले कम्पोज गरिसकेको छु,' उनले भने, 'त्यो गीतको छायांकन पनि रसुवाकै लाङटाङ हिमाल आसपासमा गर्छु ।' उनी भर्खरै लाङटाङ हिमालको अवलोकन गरी फर्केका छन् ।
उनले सो एल्बमबाट तीनवटा गीतको म्युजिक भिडियो बनाउने जानकारी दिए । जसका लागि उनले लोकेसनसमेत हेरिसकेका रहेछन् । 'अबको मेरो भिडियोमा दर्शकले लाङटाङ हिमालसँगै सोलुखुम्बुको तेम्बोचे, बेस क्याम्प शिविर र अन्नपूर्ण क्षेत्रको घान्द्रुक हेर्न पाउनुहुनेछ,' उनले भने ।
उनी शब्द पनि आपै कोर्दा रहेछन् । उनले एल्बमका प्रायः गीत आपैले लेखेको बताए । 'अरूलाई गीत लेख्न लगाउँदा पनि यस्तो प्रकृतिको लेखिदिनु भनेर भन्ने गरेको छु,' उनले भने, 'उहाँहरूले पनि मैले सोचेजस्तै लेखिदिनुहुन्छ ।' उनलाई अब थारू संस्कृतिमा केही गर्ने रुचि रहेछ । त्यसका लागि उनले थारू संस्कृतिको अध्ययन गरिरहेका रहेछन् । 'मैले थारू संस्कृतिको पनि अध्ययन गरिरहेको छु,' उनलले भने, 'मेरा पछिल्ला एल्बममा त्यो पनि हेर्न पाइनेछ ।'
भर्खरै युरोप भ्रमणबाट फर्केका उनी एसिया भ्रमणको तयारीमा छन् । शास्त्रीय संगीतको ज्ञान लिएर यो क्षेत्रमा प्रवेश गरेका उनलाई देशको भाषा/संस्कृति चिनाउने गायक भनेर चिनिने इच्छा रहेछ । 'मलाई सबै जातजातिका मान्छेले चिनून्, यो क्षेत्रमा मैले त्यो काम गर्नु छ,' उनले भने ।



del.icio.us
Digg
Post your comment