नेपाली नामको खडेरी
नौलो कथाको अभाव खेपिरहेको नेपाली फिल्मले नयाँ नाम पाउन पनि गाह्रो हुँदै गइरहेको छ । आफ्नो फिल्मको नाम के राख्ने भन्ने चिन्ताले निर्माता-निर्देशकलाई गाँजेको त छ, तर पछिल्लो समयमा केही निर्माता-निर्देशक नेपालीपन झल्कनेभन्दा हिन्दी र अंग्रेजी नाम राख्न लालायीत देखिएका छन् । हिन्दी फिल्मको नाम हुबहु राखेर नेपाली फिल्म बनाउनेहरू त बग्रेल्ती छन् । त्यसमाथि आफ्नो फिल्मको नाम अंग्रेजीमा राख्नेहरू पनि तमाम भेटिन थालेका छन् । नेपाली फिल्मका नियमित दर्शक भने नेपाली नामकै फिल्म हेर्न मन पराउँछन् भन्ने पछिल्लो उदाहरण कन्यादानले प्रस्तुत गरेको छ । अनि अंग्रेजी नामलाई बढवा दिँदा मार खाएको फिल्ममा परेको छ द फ्ल्यास ब्याक । असार मसान्तबाट एकैसाथ प्रदर्शन भएका यी दुई फिल्ममध्ये कन्यादान अहिलेसम्म सफलताका साथ प्रदर्शन भइरहेको छ भने द फल्यास ब्याक पोखराका हलमा एक हप्ताभन्दा बढी टिक्नै सकेन । मोफसलका अन्य हलमा पनि यो फिल्मको हालत उस्तै छ । पछिल्लो समयमा केही निर्माताले आफ्नो फिल्मको नाम अंग्रेजीमा जुराएका छन् । द मोस्ट वान्टेड, फस्ट लभ, जस्ट फर यु, च्यालेन्ज, ग्याम्बलर, आई एम सरी तथा मिस यु अहिले सार्वजनिक भएका नेपाली फिल्मका नाम हुन् । अहिलेसम्म अंग्रेजी र हिन्दी नाम राखिएका नेपाली फिल्मले उल्लेखनीय व्यापार गरेको पाइएको छैन । 'दर्शक नामले पनि झुक्किँदा रहेछन्,' पोखरामा द फ्ल्यास ब्याक हेर्न आएका दर्शक अंग्रेजी नामबाट झुक्किएर दिदी-भाइ हेर्न पसेको बताउँदै निर्देशक शोभित बस्नेत भन्छन्, 'कन्यादान दर्शकले अत्यधिक मन पराउनुमा नाम पनि ठूलो कारक तत्त्व भएको ठान्छु म । मेरो फिल्मको नामको अर्थ आम नेपालीले बुझ्छन् ।' अर्का निर्देशक मदन घिमिरे पनि फिल्मको नामले दर्शकमा ठूलो प्रभाव पार्ने बताउँछन् । 'नाम त क्याची नै हुनुपर्छ,' आम दर्शकले नबुझ्ने नाम राखेकोमा मार खाएको उदाहरण प्रस्तुत गर्दै उनले भने, 'हिन्दीमा चल्तीको शब्द र्फज राखेर फिल्म बनाइयो । हलमा आउने दर्शक अलमल्लिए । के हो र्फज भनेको ? उनीहरू एकअर्कालाई सोध्थे ।' उनको विश्लेषण पनि शोभितको झैँ छ, नाम त आम दर्शकले बुझ्ने नै राख्नुपर्छ । आफूले आमाको माया, घर संसार, बुबा-आमाजस्ता नेपाली नामका फिल्म निर्देशन गरेको बताउँदै उनले भने, 'कतिपय निर्माताको जिद्दीका कारण विदेशी शब्दका नाममा फिल्म बनाउनुपरेको छ । तर, म आफू भने नेपाली नाम नै राख्न चाहन्छु ।' निर्देशक मदन आफैँ निर्माता बनेको फिल्मको नाम भने स्वाभिमान छ । 'स्वाभिमान आम नेपालीले दैनिक जीवनमा प्रयोग गर्ने शब्द हो । हामी हरेक नेपाली स्वाभिमानी छाँै,' उनले भने, 'अरूका फिल्म निर्देशन गर्दा पनि मैले नेपाली नाम नै राख्ने जोड गर्छु ।' चलेका गीतको बोलबाट नाम राख्ने क्रम पनि मौलाएको छ अहिले । पछिल्लो समयमा निर्मात्री प्रज्ञा जोशीले अञ्जु पन्तले गाएको बुहचर्चित गजल नबिर्सेँ तिमीलाई नपाए तिमीलाई...बाट आफ्नो फिल्मको नाम जुराएकी छिन् । योेगेश घिमिरेको निर्देशनमा हालै छायांकन सुरु भएको आफ्नो फिल्मको कथाले नै यो नाम माग गरेकाले सम्बन्धित पक्षसँग सल्लाह गरेर फिल्मको नाम राखिएको प्रज्ञाले बताएकी छिन् । गोपीकृष्ण मुभिजले आफँैले दुईचोटि निर्माण गरेको कुसुमे रुमाल फिल्मको मायाको बारीमा प्रीतिको फूल...बोलको गीतबाट मायाको बारीमा र प्रीतिको फूल नामका दुईटा फिल्म निर्माण गर्ने घोषणा गरिसकेको छ । यसअघि यो मायाले लौन सतायो, मोहनी लाग्ला है, फेरि तिम्रो याद आयो, को होला मेरा मायालु, कहाँ छौ कहाँ, बसमा छैन यो मनलगायतका गीतका बोलबाट फिल्म निर्माण भइसकेका छन् । किशोर ढकाल निर्देशित अल्झेछ क्यारे पछ्र्यौरीको भने अहिलेसम्म निर्माण पूरा भएको छैन । उचित नाम अभावका कारण केही निर्माताले वर्षौँ पहिले निर्माण भइसकेका फिल्मको नाम दोहोर्याएका छन् । दस वर्षपछि नाम दोहोर्याउन पाउने नियम भएकाले सिन्दूर, सन्तान, सम्झना, कसुमे रुमाल, चिनो, कन्यादान, युगदेखि युगसम्म तथा कसम नाममा फेरि फिल्म बनेका छन् । केही निर्माताले सुरुमा आफ्नो फिल्मको उचित नाम जुराउन नसकेपछि विनानाममै सुटिङ गरेका उदाहरण पनि छन् । कसैले त आफ्नो फिल्मको नाम जुराउने जिम्मा उपहारसहित दर्शकमा सुम्पिए । सस्तो प्रचारबाजीका लागि गरिएको यस्तो जुक्तिले कुनै कमाल देखाउन भने सकेन ।



del.icio.us
Digg
Post your comment