उचाइ नायक हिलारीलाई श्रदाञ्जलि
सन् १९५३, मे २९ का दिन सर्वोच्च शिखर सगरमाथा विजय गर्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी वैश्विक नागरिक बने । सन् १८५२ मा भारतीय सर्वेक्षक राधानाथ सरकार र नेपाली सर्वेक्षक तेजवीर बुढाथोकीद्वारा पत्ता लगाइएको र भारतीय सर्वेक्षण टोलीले पन्ध्रौं चुचुरो नाम दिएको यस शिखरको पछि बि्रटिस सर्वेक्षक जर्ज एभरेस्टको नामबाट माउन्ट एभरेस्ट नामकरण गरियो । सगरमाथा विजय अभियान १९२२ देखि सुरु भएपश्चात् विभिन्न समयमा विभिन्न आरोहण टोलीका भगिरथ प्रयत्नका बाबजुद ८५७० मिटरभन्दा माथि मानव-पाइला पर्न सकेन । यो असफलताको शृंखला अन्ततः तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा तोडिदिए र मानव-सौर्यगाथाको इतिहासमा एक अध्याय थपिदिए ।
सन् १९१९ जुलाई २० मा न्युजिल्यान्डको अकल्यान्डमा जन्मेका थिए एडमन्ड हिलारी । हिमालको फेदमा अवस्थित शेर्पाबस्तीमा जीवनभर रमाए उनी । सगरमाथा फत्ते गर्ने प्रथम व्यक्तिको वीरतापूर्ण जीवनको आनन्द हिलारीले आधा शताब्दीभन्दा बढी लिए । विश्वलाई उनले योगदानका रूपमा साहस, मानवता र प्रकृतिप्रेम दिएका छन् । नेपालको शिक्षा तथा वातावरणका क्षेत्रमा उनले गरेको सेवा हिमालप्रति र तेस्रो धु्रवमा बसोबास गर्ने मानिसप्रति उनको सम्मानको उदाहरण हो । हिमाली क्षेत्रको वातावरण र मानिसका जीवन समृद्ध बनाउन उनले उदाहरणीय भूमिका निर्वाह गरेका छन् । सन् २००८, जनुवरी ११ मा यस धर्तीबाट बिदा लिएका हिलारीले । राजनीतिक अस्थिरताका कारण नेपाल सरकारले हिलारीको वियोगमा राष्ट्रियस्तरमा शोक प्रकट गर्न नसकेको प्रतीत हुन्छ । नेपालका सम्पूर्ण पत्रपत्रिकाले हिलारीलाई भावपूर्ण श्रदाञ्जलि व्यक्त गरेका थिए । राजुदेव भट्टराईले स्वदेशी तथा विदेशी पत्रपत्रिकामा छापिएका हिलारीसम्बन्धी लेखहरू मिहिनेतपूर्वक संकलन तथा सम्पादन गरेर तयार पारिएको पुस्तक टि्रब्युट टु सर एडमन्ड हिलारीले हिलारीका व्यक्तित्वका विभिन्न आयाममाथि प्रकाश पारेको छ । हिलारीबारे मेरो ज्ञान न्यून थियो । स्पष्ट भन्नुपर्दा राजुदेव भट्टराईको यस किताबले मलाई हिलारीका जीवनका विभिन्न पक्ष बुझाएको छ । म यी महान् आरोही, महान् पर्यावरणवादी, महान् हृदय भएका मानिसका बहुआयामिक पक्षहरूसित त्यति परिचित थिइनँ । टि्रब्युट टु सर एडमन्ड हिलारी आफैंमा एक नौलो किताब बन्न पुगेको छ । यसमा हिलारीको जीवनी, उनीसँग सम्बन्धित अन्य अभिरुचिपूर्ण तथ्य र विभिन्न व्यक्तिका संस्मरण पढ्न पाइन्छ । राजुदेवले यस अनुसन्धनात्मक किताबमा तथ्यहरू संकलन गर्न गरेको परिश्रम साँच्चिकै प्रशंसनीय छ । लेखहरूको अनुवाद तथा व्यवस्थापन सफल देखिन्छ । विविध जानकारी र तस्बिर संकलन गर्न कडा परिश्रम गरेका छन् उनले । यस किताबमा एडमन्ड हिलारीको जीवनको राम्ररी चित्रण गरिएको छ । यसमा हिलारीको जीवनी र उनको निधनपश्चात् व्यक्त समवेदनाका शब्दहरू उनिएका छन् । हिलारीसँग सम्बन्धित विभिन्न घटनाका विवरण प्रस्तुत गरिएको यस किताबमा नेपाल र न्युजिल्यान्डका प्रधानमन्त्रीदेखि विभिन्न लब्धप्रतिष्ठित व्यक्तिका भावपूर्ण शोकसन्देश संकलित छन् । राजुदेव भट्टराईले एक दशक पुराना पत्रपत्रिकाका हिलारीसम्बन्धित लेखहरूसमेत समावेश गरेका छन् । यस किताबमा नेपाली पत्रपत्रिकामा प्रकाशित प्रायः सबै हिलारीसम्बन्धी लेख संकलित छन् । यस कितावले एडमन्ड हिलारीजस्ता महान् व्यक्तिका जीवनका विभिन्न पाटा खुलाउन त सफल भएकै छ, नेपाल र न्युजिल्यान्डबीचको सम्बन्ध प्रगाढ बनाउनसमेत यो सफल हुने आशा गर्न सकिन्छ ।



del.icio.us
Digg
Post your comment