Newsletter
Email:
Home | सप्तरंग | गंगाको पानीले सुन्दर बनायो मलाई

गंगाको पानीले सुन्दर बनायो मलाई

Font size: Decrease font Enlarge font
image

'आमाको सुन्दरता बच्चा जन्माएपछि शक्तिशाली भएर आउँछ, उसले त्यही वेला आफूलाई सुन्दर अनुभव गर्छे’

सानैदेखिका पढाइ र हामीले घोकेका दृष्टान्तहरूमा सुन्दरताको प्रतीक हिमाल भनेर पढिन्थ्यो । कसरी बुझ्ने हिमालको सौन्दर्य ? तर, सुन्दरता भन्नेबित्तिकै हाम्रा आँखामा सबैभन्दा पहिले सुन्दर हिमाल टल्किन्छ । हामी हिमालका सन्तानहरू चिसोमा कठ्यांगि्रँदै हिमाल हेर्छौं र मख्ख पर्छौं । आँखाले हिमाल नजिकबाट हेर्न नपाए पनि हृदयको पाइलासराइ मास्तिरका हिमशृंखलातिर अघि बढ्छ । हाम्रो आँखामा हिउँचुलीमुन्तिरका हरिया पहाडहरू, एक्लो अनुभूतिमा सुलुल्ल बग्ने पहाडी खोलाहरू, सुरिला ठडिएका रूखहरू, क्षितिजको रंगमा कक्रिएको आकाश, मनको ग्लोबमा फनफनी घुम्छन् । यहाँ वर्णन गरिएका यी सबै सुन्दरताका प्रतीक हुन्, सुन्दर दृश्यावली हुन् ।

बिहान ओर्लिएको वेला । मेरो चेतनामा पिङ खेलिरहेछ सुन्दरताले । सुसेली हालेको पाउँछु उत्सुकताका । सर्सराइरहेछ चिसो हावा, बर्सिरहेछ सिमसिमे पानी । त्यो पानीले, नजिकैको सुन्दर हिमालबाट बगेर आएको चिसो हावाले धोएर गइरहेछ मलाई । जीवन, सुन्दरता र प्रेमको त्रिकोणमा साँच्चै सुन्दरता ओर्लिएका छन्- हिमालको जस्तै सुन्दरता ।

यो संवाद जीवन र जगत्को सुन्दरताबारे छ । हुन त यसबारे दार्शनिकहरूले लामै आख्यान दिइसकेका छन् । कापीका धेरै पाना खर्चिएका छन् सुन्दरताबारे लेखेर । तर, मैले राजनीति गर्ने नेत्रीलाई सोधेँ- सुन्दरताका अनेक पक्षहरू । राजनीतिमा अनेक फोहोरी खेलहरू खेलिन्छन् । 'सौन्दर्य' राजनीतिमा नअटाउने शब्द हो । फेहोरी खेलहरूका अगाडि केको सुन्दरता ? राजनीतिमा सौन्दर्य कठोरताको रूप हो । सरिता गिरी सद्भावनाकी नेत्री । सानै दल भए पनि राजनीतिमा सरिता गिरीको प्रभाव ठूलो छ । उनको व्यक्तित्व र सुन्दरताले सायद यहाँको राजनीतिमा उनको प्रभाव बढेको हो । आज उनले जीवन र जगत्को सौन्दर्यको खुलरै व्याख्या गरिन् ।

सरिता भारत गंगातटको पहलिजाघाटमा जन्मिन् । गंगामा प्रत्येक वर्ष आउने बाढीले धेरैलाई दुःख दिएको छ । धेरैको सुन्दर घरबास बढारिदिएको छ । तर, सरितालाई त्यही गंगातटले सुन्दर बनायो रे । उनी सानैदेखि त्यहीँ नुहाउने गर्थिन् । एकपटक उनी गंगामा डुबिछन् र भाग्यबस, उनलाई गंगाले माथि उचालिदिएछ । 'चमत्कार भयो त्यो वेला,' सरिताले सुनाइन्, 'मलाई जुन गंगाले पानीमुनि डुबायो, पछि त्यही गंगाले पानीमाथि उचालिदियो ।' उनलाई आफू सुन्दर हुनुमा आफू जन्मेको गंगातटको ठूलो भूमिका छ भन्ने लाग्दो रहेछ । 'गंगाको कञ्चन पानीले मलाई सुन्दर बनायो,' सरिताका यी शब्द गएको मंगलबार उनकै निवास विशालनगरमा नोट गरिएका हुन् । सरितालाई 'म सुन्दर छु' भन्ने कहिले थाहा भयो ? 'मलाई म सुन्दर होइन, तेज छु भन्ने लाग्थ्यो । मेरो अनुहारको तेज र चमकले मलाई इन्दिरा गान्धी भन्थे,' सरिताले सुनाइन्, 'ममा एउटा दृढता थियो, म पढ्नमा पनि साह्रै तेज थिएँ, मेरो त्यही दृढताले मलाई इन्दिरा भनेका हुन् ।'

यो उमेरमा पनि हेर्दा यति चम्किली र राम्री सरिता जवानीमा झन् कति सुन्दर थिइन् होला ? उनलाई आफू सुन्दर छु भन्ने नलागे पनि भएको सुन्दरताको पछि लाग्ने कति पुरुष थिए होलान् ? 'स्कुल पढ्दा धेरै आउँथे प्रेम प्रस्ताव,' सरिताको जवाफ थियो, 'तर मेरो खोजी अर्कै थियो, सायद केही अलौकिक, म अरूभन्दा भिन्न छु भन्ने लाग्थ्यो । सायद सुन्दर थिएँ, आकर्षण थियो पुरुषहरूको मप्रति । उनीहरू प्रेम पाउन रुन्थे, बाटो छेक्थे, तर मेरो हृदय त ढुंगाको जस्तो थियो, म कसैलाई 'भ्याल्यु' दिन्नथेँ ।'

यिनको कोही केटासँग प्रेम नबसे पनि प्रकृतिसँग भने गहिरो प्रेम बसेछ । 'त्यो झरना, पानीका थोपाहरू देख्दा पानी हाँसिरहेको लाग्छ, गंगा सम्झँदा नदी पनि हाँसिरहेको ठान्छु, गंगाको सुन्दरतासँग एउटा मोहनी छ, प्रेम छ,' सरिताले भनिन्, 'मैले त्यो सुन्दर पानी रिसाएको, पानी कठोर भएको पनि देखेको छु, तर पनि प्रकृतिको शाश्वत सुन्दरता लुकेको देखेको छैन ।' सरिताले यो उमेरसम्म देखेको सबैभन्दा सुन्दर कुरा प्रकृति रहेछ । 'प्रकृतिको पानी सबैभन्दा सुन्दर लाग्छ । त्यो पानी भनेको चिसोको प्रतीक हो, र मलाई चिसो पनि सुन्दर लाग्छ, चिसो भनेकै अर्को सुन्दरता हो ।'

जीवन, सुन्दरता र प्रेम । यिनै तीन थोकमा बाँधिएको छ- राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि । हो त, यहीँनेर छ गतिमय । यहीँनेर छ सुन्दरता । जातीय, क्षेत्रीय वा सगोलका अभेद्य पर्खालहरू ठडिन्छन् अनि गल्र्याम्म ढल्छन्- यिनै जीवन, सुन्दरता र प्रेमको त्रिकोणमा । सरितालाई पानीले शारीरिक सुन्दरता मात्र दिएन, मानसिक, वैचारिक सुन्दरता पनि दियो । अनि, जीवनका कापकापमा लिपपोत गर्ने घामले, जुनले र ताराले पनि सुन्दरता दिए होलान् नि ? 'दिए, यी तिनै कुरा प्राणीको जीवनका सुन्दरतासँग जोडिएका हुन्छन् । मान्छेलाई सुन्दर बनाउन यी घाम, जुन र तारा सधैं तत्पर रहन्छन्,' सरिताले सुनाइन् ।

मैले पनि आफ्नो सौन्दर्यको उत्कर्ष यौनमा पाएँ

बैंसालु खित्कामा हाँस्छ उमेरको सुन्दरता । उमेरमा केलाई सुन्दर ठानेर प्रेम गरियो ? 'सानैमा नेपाली केटाको बिहेको प्रस्ताव आयो, नेपालीहरू सुन्दर हुन्छन् भन्ने सोचेर 'हुन्छ' भनिदिएँ । मलाई त्यसपछि आफ्ना बच्चाहरू सुन्दर लागे । श्रीमान् सुन्दर लागे । तर, सधै खेल्ने, जिस्किने पानी, पहाड र खोलासँग नछुट्ने प्रेम बस्यो ।' 

प्रकृतिको सुन्दरतासँग गहिरो प्रेम बसेकी सरिता दिदीको परिभाषामा सौन्दर्य के हो ? 'सौन्दर्यलाई शब्दमा व्याख्या गर्न सकिन्न, एउटा बच्चा हाँस्दा, वृद्ध हाँस्दा कस्तो सुन्दर देखिन्छ, प्रकृतिको संगीत नै सुन्दरता हो, त्यो सुन्न सक्नुपर्छ । सौन्दर्यको ध्वनिमा फरक हुन्छ, जसले सम्मोहन गर्छ त्यही सुन्दरता हो,' उनले भनिन् । तर, कस्तो सम्मोहन ? 'बिहान उठ्नुस्, चिसो पानीले मुहार धुनुस्, प्रकृतिमा बगेको चिसो हावामा सास फेर्नुस्, त्यसले सम्मोहन गर्छ, त्यही हो सौन्दर्य,' सरिताको सौन्दर्यताको परिभाषा यस्तो थियो ।

सरितालाई फेरि सोधियो-वातावरणको सौन्दर्यता केले निर्धारण गर्छ ? 'यो त वातावरण र मनुष्यको सम्बन्धमा प्रभावित हुन्छ । यो सौन्दर्यता चिन्तन, सोच र प्रकृतिमा निर्धारण गर्छ । जस्तै काठमाडौंले मानिसको सौन्दर्य खायो । मानिसले पनि खायो काठमाडौंको सौन्दर्य । मानिस र प्रकृतिको एकअर्कामा जोडिने कुरा हो वातावरणको सौन्दर्य ।'

सेताम्मे हिउँ र हरियो हरियालीको एकअर्कामा गहिरो मिलाप हुन्छ । हिमाली फेदमा ठडिएका सुरिलो सालका रूखहरू प्राकृतिक सौन्दर्य र रंगमा रमाएका हुन्छन् । त्यही लेकका चौंरी चराउने गोठालाको सुसेलीमा कस्तो सुन्दरता भेट्छिन् सरिताले ? 'एउटा निश्चल र प्राकृतिक सौन्दर्य भेटिन्छ,' सरिताले सुनाइन्, 'ती प्रकृतिजनित हुन्छन् । उनीहरूको हाँसो नै चिसो हिमाली हावासँग मिसिएको हुन्छ ।' सरितालाई के लाग्दो हो, सौन्दर्य बौद्धिकता हो कि बाहिरी आवरण मात्रै ? 'सौन्दर्य बौद्धिकता र बाहिरी आवरण दुवै हो,' उनले भनिन्, 'हाम्रो दृष्टिले दुवै सौन्दर्य देख्न सक्छ । अध्यात्मको गुणबाट पनि सौन्दर्यको अनुभूति गर्न सकिन्छ, त्योचाँहि बौद्धिक सौन्दर्य हो ।' त्यसो भए भित्री सौन्दर्य के हो ? 'मानिस, जीवन र जगत्लाई प्रेम गर्न सक्ने मान्छे सुन्दर हुन्छ । चेतना भएको मान्छेको भित्री सौन्दर्य झल्किन्छ । आफैंलाई, अरू प्राणीलाई र यो जगत्लाई प्रेम गर्नु नै मान्छेको भित्री सौन्दर्य हो ।'

अनकन्टार झाडी छन् दुःखका । ती झाडीमा धेरै फूलहरू मगमगाउँदा छन् । के ती दुःखमा पनि सौन्दर्य फुल्न र हुर्किन सक्छ ? दुःखीहरूका लागि के हो सौन्दर्य ? 'दुःख त सबैसँग हुन्छ । दुःखले गर्दा मानिसले सौन्दर्य बुझ्न सक्छ । सुखको विमुखता उसले भेट्टाउँछ,' सरिताले भनिन्, 'भोगविलासमा लागेको मान्छे बरू सौन्दर्यबाट विमुख हुन्छ, दुःखीलाई आफू बाँचेको परिवेश नै सुन्दर लाग्छ ।'

मान्छेहरू सुन्दर देखिन नयाँ लुगा लगाएर 'म राम्रो भएँ' भन्दै धेरैबेर ऐना हेरेर मख्ख हुन्छन् । मान्छेको सुन्दरता पोसाकमा लुकेको हुन्छ वा पहिल्यै सुन्दर हुन्छ ? 'मान्छेलाई पोसाकले सुन्दर बनाउँछ,' सरिता भन्छिन्, 'पोसाकले सौन्दर्य बढाए पनि सुन्दर मान्छे पोसाक नलगाए पनि सुन्दर हुन्छ । राम्रो पोसाकले प्रभाव बढाउँछ ।' सरिता परिपक्व प्रौण महिलासँग कलिलो सौन्दर्य खोज्न सक्छिन् ? 'सबै भित्र मासुम र कलिलो सौन्दर्य हुन्छ, । बूढाबूढी हाँस्दा त्यहाँ कलिलो सौन्दर्य देखिन्छ, उनीहरू हाँस्दा जीवन हाँस्छ ।'

'बैंसमा स्याल पनि घोर्ले...,' खुब सुनियो । त्यो स्यालसँग दाँजिएको मान्छे हो । यौवनकालमा मान्छे सुन्दर देखिन चाहन्छ । के मान्छेको सुन्दरता यौवनको रंगरूपमा फुल्छ ? 'यौवनका वेला सुन्दर देखिन उसले आफूलाई विभिन्न रूपमा प्रस्तुत गर्छ,' सरिताले सुनाइन्, 'तर, मान्छेले सुन्दरताको उत्कर्ष यौनमा खोज्छ । प्रकृतिको आवश्यकता पनि यौन हो, यौवनको सुन्दरताले यौन र जीवनको निरन्तरता चाहन्छ ।' मान्छेलाई सौन्दर्यको चरम उत्कर्ष केमा अनुभूत हुन्छ ? सरिता दिदीले केमा खोजिन् सौन्दर्यको उत्कर्ष ? 'यौवनकालको प्रेम र सौन्दर्य यौनमा पुगेर टुंगिन्छ । मैले पनि आफ्नो सौन्दर्यको उत्कर्ष यौनमा पाएँ, त्यसपछि मैले आफूलाई सुन्दर ठानेँ, सुन्दरता बच्चाहरूमा खोजेँ ।' सरितालाई आकर्षणमा मात्र होइन, त्योभन्दा बाहिर पनि प्रेमको संसार हुन्छ भन्ने लाग्दो रहेछ । 'दुईजनामा आकर्षण र प्रेम भयो भने संसारै बेग्लै हुन्छ,' सरिताले सुनाइन्, 'तर, त्यो प्रेम बचाइरहने हो भने, त्यहाँ विकर्षण जन्मिनुपर्छ ।' सरिताको त आफ्नो श्रीमान्सँग 'डिभोर्स' भइसक्यो । निकै वर्षदेखि उनी आफ्ना सन्तानसँग छिन् । उनीहरूको प्रेम र दुईबीच पलाएको सौन्दर्यको मृत्यु भइसक्यो त ? उनीहरूको प्रेम पराजित भयो ? 'व्यक्ति अलग हुँदैमा प्रेम पराजित हुँदैन । हाम्रो सौन्दर्य पराजित भएन, दुईबीच पलाएको प्रेमको मर्म सधैं बाँचिरहन्छ, प्रेम पराजित नहुनेरहेछ । हाम्रो प्रेम बाँचिरहेकै छ ।' त्यसो भए, सरिताले १८ वर्षमा बिहे हुनुअघि श्रीमान्लाई मात्र प्रेम गरिन् ? 'मान्छेले जीवनमा एकचोटि मात्र प्रेम गर्दैन, पटक-पटक गर्न सक्छ । मैले त्यसअघि नै प्रकृतिसँग प्रेम गरेँ ।' सरितालाई महिलामा भएको सुन्दरता सत्य लाग्दो रहेछ । 'म राजनीतिमा लागेपछि झन् सुन्दर भएँ । मेरो वैचारिक सुन्दरता र चेतनामा अझ निखार आयो ।'

महिलाहरूको सुन्दरता सत्य हो ? 'सत्य हो,' महिला सुन्दर नभएको भए कहाँ हुन्थ्यो सृष्टिको निरन्तरता ?' हामी प्रत्येक दिन सत्य अनुभूत गर्न सक्छौँ ।' सरितालाई सुन्दरता परिवेशमा पनि देखिन्छ भन्ने लाग्दो रहेछ । 'आवरणमा सुन्दर देखिएकी महिलाको आन्तरिक सौन्दर्य ऊ बाँचेको परिवेशमा हुन्छ,' सरिताले सुनाइन्, 'सौन्दर्य शाश्वत सत्य हो, जुन महिलामा हुन्छ । ऊ बाँचेको परिवेशले त्यो सौन्दर्य अभिव्यक्त गर्छ ।' सहरमा आधुनिक लुगा लगाएर हिँड्ने केटीहरू सुन्दर हुन्छन् कि सुदूर कर्णालीमा चोलो र फरिया लगाउने केटी ? 'गाउँको सुन्दरता प्रकृतिसँग गाँसिएको हुन्छ । सहरका भन्दा गाउँका केटी सुन्दर लाग्छन् । जहाँ लाज ढाकिन्छ, त्यहाँ सुन्दरताको चरम रूप हुन्छ,' सरिता भन्छिन् ।

फ्रान्सिस वेकनले भनेका छन्- 'सुन्दरताको प्रधान अंश त्यही हो, जसलाई चित्रकारले चित्रमा दर्शाउन सक्तैन ।' सरितालाई के लाग्दो हो, के चित्रकारले सुन्दरताको प्रधानतालाई आफ्ना चित्रमा देखाउन सक्तैन ? 'चित्रकारले त्यो प्रधानतालाई चित्रमा उतार्ने प्रयास गर्छन्, तर प्रधानता आउँदैन, महसुस गर्न सकिन्छ, सम्मोहित हुन सकिन्छ तर, जस्ताको तस्तै उतार्न सकिन्न ।'

सौन्दर्यको अगाडि मान्छेका अनेक इच्छाहरू शान्त हुन्छन् ? 'उपयोगिता, प्रभाव र सुन्दरता एकअर्काका परिपूरक हुन् । इच्छाको वेला सौन्दर्य गहिराइमा भेटिन्छ,' सरिताले भनिन् । सरिताले धेरै देखेकी, भोगेकी छिन् तराईका केटीहरू । के सरितालाई तराईका काला केटी सुन्दर लाग्छन् ? सरिताले भनिन्, 'तराईका काला केटीमा एउटा 'सेक्स अपिल' हुन्छ, ती सुन्दर हुन्छन् । तर, पहाडका केटी मासुम लाग्छन्, निर्दोष सौन्दर्य हुन्छ पहाडका केटीहरूमा ।'

सहरियाहरू सौन्दर्यलाई पैसासँग दाँज्छन् । सौन्दर्य र पैसा एकअर्कामा जोडिएको ठान्छन् । के सौन्दर्य प्रत्यक्ष-परोक्ष रूपमा पैसासँग जोडिएको हुन्छ ? 'मलाई सौन्दर्य पैसासँग जोडिएको भन्ने लाग्दैन । पैसाले निखार्न सक्छ सौन्दर्यलाई । सौन्दर्य त प्रकृतिले दिएको हो,' सरिता भन्छिन्, 'पुँजीवादी होस् कि समाजवादी उसको इच्छा सौन्दर्यसँग गाँसएकै हुन्छ ।'

सरिता दिदीलाई सुन्दर वस्तु आनन्ददायी हुन्छन् भन्ने लाग्छ । 'चलायमान हुन्छ सौन्दर्य । सुन्दरता शाश्वत सत्य हो संसारको । पृथ्वीको सौन्दर्य सत्, चित् र आनन्द हो,' सरिताले भनिन् ।

संसारमा काला-गोरा जातिबीच ठूलो युद्ध भयो । काला छाला भएकाहरू सुन्दर हुन्छन् कि गोरा ? 'काला, गोरा दुवै सुन्दर हुन्छन् । त्यो त सन्दर्भमा जोडिएको हुन्छ । कालाहरूले कालाबीच नै सौन्दर्य खोज्छन् । छालासँग मन जोडिएको हुँदैन ।' मान्छेले फूलमा सुन्दरता खोज्छन् । के फूलमा भित्री सुन्दरता हुन्छ ? फूलका केस्रामा देखिने सौन्दर्य जीवनका कापकापमा फूलेको हुन्छ ? 'फूलको सौन्दर्यलाई बुझ्न सक्नुपर्‍यो, फूल साँच्चै सुन्दर हुन्छ । फूलमा सुन्दरता देख्न छोडेपछि जीवन सुन्दर हुँदैन,' सरिताले भनिन् ।

जीवनको चिन्तन र सौन्दर्य कहाँनिर मेल खान्छन् होला ? 'जीवनको चिन्तन र सौन्दर्य बहुआयामिक पक्ष हो । सौन्दर्यको मात्र चिन्तन गरिन्न । चिन्तनमा लुकेको सौन्दर्य अनुभूत गर्न सकिन्छ । चिन्तनको गहिराइमा लुकेको हुन्छ सौन्दर्य ।' सरितालाई सौन्दर्यको गन्तव्य हुँदैन भन्ने लाग्दो रहेछ । 'जीवन निरन्तरता हो । जीवनमा सौन्दर्य निरन्तर हिँड्छ ।'

उनी सौन्दर्य व्यापक हुन्छ भन्ने ठान्छिन् । 'सौन्दर्य पराजित हुँदैन । नयाँ जीवनको सुरुवातमा सौन्दर्य भेटिन्छ, अनि जर्जर बूढो शरीरमा पनि सौन्दर्य हुन्छ ।'

हितोपदेशले भन्छ-'कोइलीको सुन्दरता स्वरमा छ, स्त्रीको रूप पवित्र हुनुमा छ, पुरुषको रूप विद्या हो ।' उनलाई सोधियो, 'के महिलाको सौन्दर्य पवित्रतामा मात्रै हुन्छ ? 'स्त्री कहिलेसम्म पवित्र हुन्छन् ? त्यो भन्न नसकिने कुरा हो । स्त्री सधैं सुन्दर हुन्छे । उसको सुन्दरता प्रेममा हुन्छ,' सरिताले सुनाइन् ।

सरिता गिरीसँग धेरैबेर कुरा भए सौन्दर्यका अनेक पक्षबारे । उनलाई अन्त्यतिर सोधियो- आमा सबैभन्दा सुन्दर कहिले हुन्छिन् ? 'आमाको सुन्दरता बच्चा जन्माएपछि शक्तिशाली भएर आउँछ । उसले त्यही वेला आफूलाई सुन्दर अनुभव गर्छे,' उनले भनिन् । छुट्टिनेवेला उनलाई सोधियो- 'सौन्दर्य कसका लागि हो ? 'सौन्दर्य जीवनका लागि हो । सौन्दर्यमा जीवनको गीत छ,' सरिताले सुनाइन् ।

 

spkt.deepak@gmail.com

 

Subscribe to comments feed Comments (3 posted):

buddisagar on 04/08/2009 19:40:04
avatar
antinai ramro lago.
Thumbs Up Thumbs Down
0
bhesh on 04/08/2009 16:50:25
avatar
Sarita ji,
I donot know what your inside is; but you donot look that beautiful from outside. You have already crossed your ADOLESCENT (JAWANI).May be, you might have a little beauty in that time, but not any longer....please stay away from illusion........
Thumbs Up Thumbs Down
0
Sadhu Yadav on 04/08/2009 12:13:58
avatar
Khai Mero Bichar Ma Sarita Ji Sundari Jasto Ta Lagdaina. Saayad Uhaa Lai Afu Sundari Bhayeko Brahm Bhakye Jasto Cha. Yasto Ta Cha Nepal Ka netaa Bhanauda Haru. Lazai Mardo. Sayad Shere Lai Lobhayeko Ho Ki ?
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?