अश्लील बनाइँदै हिरोइन
नेपाली रजतपटकी प्रथम नायिका भुवन चन्द आज बोल्दै छिन् नेपालकै नायिका र आफ्नै फिल्मीजीवनबारे । सधैं फोहोरी भएको आरोप खेपेर बाँच्छ नेपाली फिल्म । त्यही फोहोरमाथि टेकेर आफूलाई उभ्याएका छन् नायिकाहरूले । यो फोहोर (फिल्म) को पोखरीमा प्रत्येक वर्ष धेरै नायिकाहरू डुब्छन् र कहिल्यै उत्रन नसक्ने गरी फस्छन् । नेपाली फिल्मकी पहिलो नायिकाले कस्तो देखेकी छिन् अहिलेको नेपाली फिल्म र नायिकालाई ? उसवेला कस्तो थियो फिल्मको अवस्था ? कसरी टेकियो फिल्ममा पहिलो पाइला ? नेपाली फिल्मको एउटा इतिहास हुन् भुवन चन्द । एउटा इतिहास बोकेकी नायिकाको नेपाली फिल्मप्रतिको विश्लेषण कस्तो होला ?
भुवनले नेपाली फिल्ममा टेक्नुअघि पनि बाग्मती बग्थ्यो उसैगरी । भुवनको कला-यात्राको ५५ वर्षपछि पनि बाग्मती बगेकै छ । यही बाग्मती बगेको हेरेर यतिको वर्ष नेपाली फिल्म सँगसँगै हिँडेकी भुवनले फिल्ममा धेरैचोटि सौन्दर्य खोजेकी छिन् । तर, भेट्टाइन् मात्र फोहोर । बाग्मती अनेक फोहोर बोकेर मात्रै बग्छ । फिल्म पनि त्यस्तै भयो । उसवेला भुवन सानै थिइन् । अनि बाग्मती पनि शुद्ध थियो । सफा पानी बग्थ्यो बाग्मतीमा । भर्खर बन्दै गरेका नेपाली फिल्महरू पनि शुद्ध थिए सायद, सफा बाग्मतीजस्तौ । समयको प्रवाहसँगै फेरियो- बाग्मती र नेपाली फिल्म । अहिले उही बाग्मतीजस्तै भयो नेपाली फिल्म पनि, उस्तै फोहोर र दुगन्धिर्त । त्यसो त काठमाडौंभरिको दुर्गन्ध बोकेर पनि बाग्मतीको बहावमा कुनै कमी छैन । आफ्नै लहर, आफ्नै तुजुकमा उर्लिरहेछ । वरिपरिका जीवनशैलीलेे जतिसुकै छलाङ हाने पनि यो प्राचीन नदीको लय आफ्नै छ र मात्र एक्लो भएर बग्छ । 'हो त', नेपाली पहिलो नायिका भुवन बोलिन्, 'फिल्म र बाग्मती उस्तै भयो, पहिलो शुद्ध थियो, अहिले दुर्गन्धित । सबैतिरको फोहोर थाप्लोमा बोकेर हिँड्छ बाग्मती, अहिलेको नेपाली फिल्म पनि सबैतिरको फोहोर मात्रै जम्मा पार्छ ।' समय नै त्यस्तो बलवान् रहेछ जसको सामुन्ने सबै पराजित हुँदारहेछन् । यहाँ पनि त्यस्तै भयो समयको प्रवाहसँगै फोहोर भयो फिल्म । कला फोहोर भयो । हुन त नेपाली फिल्ममा कला नै कहाँ हुन्छ र ? उही हिन्दी फिल्महरूको जोडजाड न हो नेपाली फिल्म । चक्र हो समय, तर कहिल्यै पुनर्गमन नहुने । वृत्त रहेछ समय तर, कहिल्यै बिन्दु छेउ नपुग्ने । यहाँ पहिले बन्ने नेपाली फिल्महरू साँच्चै सुन्दर थिए । तर, त्यो अब पुनर्गमन हुँदैन । नायिका भुवन चन्दले अभिनय गरेको पहिलो फिल्म आमा श्यामश्वेत थियो । यो रंगीन क्षेत्रले रंगहीन समयलाई समातेर अघि बढेको थियो । तर, अहिले सबैभन्दा रंगीन यही क्षेत्र बनेको छ । रंगैरंगले भरिएको छ नेपाली फिल्म । 'तर स्तर नबोकेको रंगीन भयो,' भुवनको हेराइ छ, 'नेपाली फिल्मले आफूलाई विकास त गर्यो, तर आफ्नो माटोको गन्ध हरायो फिल्ममा । मौलिकता एकातिर छाडेर आफूलाई अघि बढायो फिल्मले ।' हामीलाई उधिन्नुथियो भुवनको ५५ वर्षे कला-यात्रा । एक घन्टामा यो सहज थिएन पनि । पहिलो कला-यात्रा कसरी सुरु भयो ? गाजलु आँखा घुमाउँदै भुवनले आफ्नो जीवनको सिनेमालाई रिबाइन्ड गरिन् । ६ वर्षको उमेरमै कलाकार भएकी रहिछन् भुवन । अभिनय के हो भन्ने पनि थाहा थिएन, उनी कलाकार हुँदा । 'अन्धवेग' नाटकका लागि बालकलाकार नपाएर लेखक बालकृष्ण सम निकै छट्पटाएका थिए । बाबु उस्ताद भैरवबहादुर थापाले सुनाएको घटना स्मरण गर्छिन् भुवन, 'बुबाले नै नाटककी नायिका शान्ति मास्केकी छोरी चिन्चीको भूमिकामा अभिनय गर्न बालकृष्ण समलाई भेटाइदिनुभएको थियो ।' उस्ताद भैरवबहादुर थापा अर्थात भुवनका बाबु । उनैले भुवनलाई थमाइदिए कलाको समर । बुबाको साइकलमा पछाडि बसेर नाटक खेल्न सिंहदरबार गएको र त्यहाँ नाटकको पूर्वाभ्यास गरेको सम्झना छ उनलाई । सिंहदरबारभित्रको पुतली बगैंचामा रहेको हलमा शान्ति मास्केकी छोरीको भूमिकाबाट सुरु भएको भुवनको कला-यात्रा त्यसपछि कहिल्यै रोकिएन । कहिल्यै पछाडि फर्केर हेर्नुपरेन भुवनले । दिदी कस्तो थियो कलाकारको अवस्था ? झन् महिला कालकार पाउन सम्भव थियो त्योे वेला ? 'नेपाली समाजमा त्यसवेला महिला कलाकार पाउन धेरै मुस्किल थियो,' भुवनले सुनाइन्, 'महिनौंसम्म खोजी हुन्थ्यो महिला कलाकारको ।' त्यसवेला कोलकाता बस्ने शान्ति मास्केलाई यता ल्याउनुअघि केटाले नै केटीको लुगा लगाएर नायिका बन्नुपर्ने अवस्था थियो । त्यही वेला बालकलाकार भएर कला-यात्रामा प्रवेश गरेकी भुवनले एकपछि अर्को गर्दै रंगमञ्च समाउन थालिन् । 'म कहिल्यै फिल्ममा अभिनय गरेर सन्तुष्टि भइनँ,' भुवनले सुनाइन्, 'मलाई आन्तरिक सन्तुष्टि नाटकको अभिनयमै मिल्थ्यो ।' नेपाली फिल्मलाई चाङमाथि खापिएका सपनाको थुप्रोले थिचेको छ । धेरैको सपना बन्यो फिल्म । एकताका भुवनको पनि सपना थियो । 'सपनाको बाटो पछ्याएर फिल्ममा होमिएकी हुँ,' भुवनले सुनाइन् । स्कुलेजीवनमै संस्कृति विभाग -हाल नाचघर) की जागिरे भइन् भुवन । त्यसवेला सरकारले नाटक गर्नका लागि बजेट छुट्याउने गथ्र्यो । त्यही बजेटमा नाटक गर्न भुवनहरू देशैभरि दर्गुथे । 'कहाँ यहाँ मात्र हो र ? नाटक देखाउन विदेशतिर पनि पुगिन्थ्यो,' भुवनले सुनाइन् । जागिरे छँदा जम्मा १२ वर्षकी थिइन् भुवन । महिनाको तलब थियो जम्मा सय रूपैयाँ । त्यतिले घरखर्च चलाउन पनि पुग्थ्यो । आफ्ना लागि खर्च गर्न पनि पुग्थ्यो । अनि अलिकति पैसा बच्थ्यो पनि । 'वर्षभरिको १२ सय आउँथ्यो,' उनले भनिन्, 'जति खर्च गरे पनि पुग्थ्यो ।' छिर्बिरे छायामा हिँड्यो जीवन । सपनाको आकार पनि किरिमिरी थियो । बाटाका वरिपरि धेरै छाया थिए रंगमञ्चका । बनाउँदै जानु छ बाटो । भुवनका बाटामा आएनन् पात र लहराहरू । यथावत चल्दै गयो अभिनय-यात्रा । नाटक त यिनले छोड्ने भइनन् । बरू अब फिल्म पनि सुरु भयो जीवनमा । केटाकेटीबाट जवानीमा प्रवेश । फिल्ममा खेल्दा भर्खर १६ वर्षकी थिइन् उनी । हिरोसँग हात समाएर नाच्ने सपना थियो ? 'अहँ, थिएन,' उनले सुनाइन्, 'त्यसवेला जय नेपाल हलमा माला सिन्हा र बैजयन्ती मालाको फिल्म हेर्दा भने रहर लाग्थ्यो ।' उनी ती फिल्महरू हेरिसकेपछि सुटुक्क घर आउँथिन् र ऐना हेरेर बस्थिन् । घरीघरी गाजल पनि लगाउँथिन् आँखामा । जुनेली रातमा देखेको सपना पूरा पनि हुँदोरहेछ । २०२१ साल । महिना र गते सम्झना छैन । 'सूचना विभागले एउटा सिनेमा बनाउने रे भनेको त सुनेँ तर, त्यतातिर ध्यान दिने फुर्सद थिएन,' उनले भनिन् । बम्बई बस्ने हीरासिंह खत्री काठमाडौं आएर कलाकार खोज्न थालेछन् । अरू कलाकार नै थिएनन् । सिनेमा त अब बन्दै थियो । कहाँबाट कलाकार पाउनु ? 'त्यसपछि नाचघरकै कलाकारबाट छान्ने कुरा भएछ,' भुवनले नेपालकै पहिलो सिनेमाको निर्माण-गर्भ सुनाइन्, 'अहिलेको विश्वज्योति हलसँगै राम्रो होटल थियो । त्यहाँ हाम्रो सामान्य अन्तर्वार्ता भयो र म आमा फिल्मकी नायिका हुने भएँ ।' अब भुवन पर्दाकी मात्र होइन फिल्मकी पनि नायिका भइन् । नायिका छानिएको रातै कोही हिरो सपनामा नाच्न आएन ? 'अँह, आएन,' पहिलो नायिकाले सुनाइन्, 'दिनभरिको थकान थियो, निदाइएछ पो ।' त्यसवेला त नायिकाहरू पूरै शरीर छोपेर अभिनय गर्थे । अहिले किन होला शरीरको कुनै पनि भाग छोप्न नपरे, सबै छ्याङै देखाउन पाए बरू नायिका खुसी हुन्छन् ? 'ऊवेलाको जमानै अर्कै थियो । हाम्रो पालाको जस्तो छैन अहिले । आफूलाई नंग्याउन सक्नु पनि ठूलो कुरा हो । झन् खुबी भएका छन् जस्तो लाग्छ अहिलेका नायिका, तर पनि बिस्तारै हिरोइनलाई अश्लील बनाइँदै छ ।' भुवनले सुनाइन् । सिनेमाको पहिलो सट खिच्दा भुवनले कस्तो लुगा लगाएकी थिइन् होला ? 'चौबन्दी चोलो र बुट्टेसारी नि,' भुवनले भनिन्, 'अहिलेका नायिकाले जस्तो लुगा लगाउनुपर्ने भए म फिल्म खेल्दिनथे होला ।' भुवनको पहिलो सटका लागि सुटिङ सुरु भयो चोभारको गणेशस्थानबाट । आकाश खुलेको एक बिहान । रंगमञ्चकी नायिका फिल्ममा प्रवेश हुँदै थिइन् । कति महिना, कति गते ? 'महिना र गते थाहा छैन,' उनले भनिन् । चौबन्दी चोलो र सारीमा सजिएकी भुवनले एउटा गीतको दृश्यमा नाच्नु थियो । गीतको बोल थियो- 'सिर्जनाहरू सिर्जेर हामी पि्रतको जगतको... ।' तारादेवीले गाएको यो रोमान्टिक गीतमा केहीछिनको पूर्वाभ्यासपछि सट दिन तयार भइन् भुवन । नर्भस भइएन पहिलोपटक क्यामेरा अगाडि ? 'नर्भस भइयो,' भुवनले सुनाइन्, 'तर, पहिलो सटचाहिँ एकै टेकमा ओके भयो ।' गीत गुन्गुनाउँदै गएर हिरोलाई भेट्ने सट रहेछ त्यो । यसरी हौसिएकी थिइन् भुवन । भुवनले आफैंलाई पर्दामा चाहिँ कहिले हेरिन् ? यता सिनेमाको पि्रमियर हुँदै थियो । उता भुवन नाटक देखाउन चीन पुगेकी थिइन् । 'व्यस्त भएको हुनाले नेपाल आएर पनि तत्काल सिनेमा हेर्न पाइएन । जय नेपाल हलमा भएको २५ दिने कार्यक्रममा पहिलोपटक आफैंलाई पर्दामा हेर्न पाइयो ।' सुरुमा आफूलाई फिल्मको पर्दामा देखेकी भुवनलाई त्यसवेला 'म पनि यति राम्री छु र ?' भन्ने लाग्यो रे । यसरी सुरु भएको उनको फिल्म-यात्रा अघि बढिरह्यो । फिल्ममा पहिलो नायिका भएकी भुवनलाई केटाहरूको प्रेमप्रस्ताव आएनन् ? 'समाज त्यति खुलेको थिएन,' भुवनले सुनाइन्, 'आएन प्रस्ताव ।' राष्ट्रिय नाचघरमा अंग्रेजी उद्घोषकका लागि नित्याइएका माइकल चन्दको भुवनसँग चिनापर्ची भयो । पछि त्यही परिचय बन्यो जीवन चलाउने डोरी र बाँधियो अटुट बन्धन । कसलाई कसले पहिले मन परायो ? 'त्यसको के हिसाब ?' भुवनले सुनाइन्, 'थाहै पाइएनँ ।' एक-अर्कालाई माया गरेपछि रेडियो नेपालमा काम गर्ने माइकललाई जर्मन जानुपर्ने भयो । तीन वर्षपछि कसको के भर ? त्यसै छुट्टनिे कुरा पनि भएन । त्यसैले कसियो लगनगाँठो । विवाह गरेर माइकल जर्मन जानु दुई दिनअघि नै भुवनलाई मस्को जानुपर्ने भयो । यसरी जीवनमा मिलन र विछोड सँगै भयो । पछि भुवनलाई माइकलले जर्मनी बोलाए । नाचघरको जागिरबाट दुई वर्षको छुट्टी मिलाएर भुवन पनि जर्मन लागिन् । उतै एउटी छोरी जन्मिइन् । र, यता आएपछि फेरि सुरु भयो फिल्म र रंगमञ्च यात्रा । तर, अब उनी फिल्ममा नायिका भइनन् । अभिनेत्री भइन् । 'हिरोइन हुने उमेर त गइसकेछ,' भुवनले सुनाइन्, 'म त्यसपछि अहिलेसम्म अभिनेत्रीकै भूमिकामा छु ।' नायिका भुवन चन्द आफ्ना फिल्महरूमा आँसु झारेर रोएकी छिन् । कोकोहोलो मच्चाएर रोएकी छिन् । हुन त, रोनाधोना नेपाली फिल्मको सधैंको परिचय हो । रंगमञ्चको अभिनयमा साँच्चै आँसु बग्ने गरेको बताउने भुवन चन्द फिल्ममा पनि साँच्चै रोइन् होला ? उनको आँखाबाट बर्बर बग्ने आँसु भित्री हृदयकै पीडा हो ? 'म रंगमञ्चमा आँसु झारेरै रुन्छु,' भुवनले सुनाइन्, 'तर, फिल्ममा रुने त सधैं गिल्सिरिन हालेर मात्र हो । अहिलेका नायिकाहरू साँच्चै रुन्छौँ भन्छन्, खै कसरी रुन्छन् कुन्नि म त सक्दिनँ । फेरि नेपाली फिल्मको कथा साँच्चै रुन सकिने गम्भीर पनि हुँदैन ।' सतहमा गरिने अभिनयले कसरी कलाकारको भूमिकालाई जीवन्त बनाउँछ त ? 'नेपाली फिल्मको अभिनय जीवन्त हुँदैन, केही कला चलचित्रमा जीवन्त अभिनय पनि भएका होलान् । तर, अरू व्यावसायिक फिल्ममा त्यो जीवन्तताले निरन्तरता पाउँदैनन् ।' भुवनको अर्थमा नायिका के हो ? 'रियल जीवनको नायिकाको प्रतिविम्ब हो रिलको नायिका,' भुवनले सुनाइन्, 'उनीहरू फिल्ममा रुन्छन्, कराउँछन् त्यो सबै रियल जीवनकै अभ्यास हो ।' नेपाली हिरोइनहरूको साझा भनाइ छ, 'हामी कथाले मागेजति अंग देखाउन सक्छौँ ।' फिल्म खेल्ने नायिकाहरू आफ्ना शरीरका गोप्य अंगप्रति यत्तिको उदार हुनुले के संकेत गर्छ ? आफ्नो अनुहार सिनेमाको पर्दामा देखाउनैका लागि ती नायिका आफ्नो 'सर्वस्व' देखाउन तयार हुन्छन् ? आफ्नो अनुहारभन्दा पनि अरू अंग देखाउन खुसी हुने नायिकाप्रति भुवनको के धारणा छ ? 'कथाले माग्यो होला, देखाइदिन्छन्,' भुवनको उत्तर थियो, 'नायिकाहरूमा कमजोरी छैन, पछिल्लो समयको नेपाली फिल्मलाई नायिकाको अंगले धानेको छ र त्यही देखाउँछन् । फेरि कथाले मागेजति दिनसक्नु त नायिकाहरूको प्रतिभा हो नि । आफ्नो सर्वस्व देखाउनु चानचुने कुरा हो र ?' भुवनलाई नायिकाहरू साँच्चै निर्दोष हुन्छन् भन्ने लाग्दोरहेछ । 'नायिकाहरूमा एउटा निदोषिर्ता हुन्छ,' उनले भनिन् । सबै क्षेत्रजस्तो नेपाली चलचित्र पनि सधैं पुरुषको अधीनमै रह्यो । ती पुरुषले नायिकालाई केन्द्रमा राखेर चलचित्रको व्यापार मात्रै गरे । यो पुरुषप्रधान समाजमा चलचित्र पनि पुरुषकै मात्र भयो । पहिलो नायिका भुवन चन्दलाई पनि यस्तै लाग्दोरहेछ, 'हाम्रो चलचित्रमा पुरुष मात्र हाबी भए, समाजमा जस्तै चलचित्रमा पनि नारि पछि पारिएका छन्,' उनले भनिन्, 'तर, समाजकै प्रतिविम्ब त हो नि फिल्म पनि । त्यो हुनु एक अर्थमा स्वाभाविक पनि हो ।' हामी फिल्ममा निकै गरिब छौँ । हाम्रा चलचित्रले आफ्नोपन बोक्दैनन् । ती त अरूबाट प्रभावित मात्रै छन् । 'हाम्रा चलचित्रमा मौलिकता छैन,' भुवनले सुनाइन्, 'नेपाली फिल्ममा कथै हुँदैन । हामी सबैभन्दा कमजोर कथामा छौँ । हिन्दी फिल्मबाट चोरचार र जोडजाड गरेकै भरमा हामी फिल्म निर्माण गर्छौं । यो क्रम नरोकिएसम्म हामीमा सुधार आउँदैन । हुँदाहुँदा हामी हिन्दीका गाना पनि चोछौर्ं । यसले हामीलाई झन् कमजोर र परनिर्भर बनाउँदै लगेको छ । हामी आफ्नो संस्कृतिमा निकै धनी छाँै । हाम्रै कथामा फिल्म बनाउन थाले हुन्थ्यो ।' यी कुरा सुनेपछि लाग्यो, हाम्रा निर्देशकहरूले भुवनका यी शब्दहरू राम्रोसँग नोट गरेर अब हिँड्ने बाटो बनाए हुन्थ्यो । नेपालकी पहिलो नायिकाले अहिलेका नायिकालाई कसरी हेरेकी छिन् ? उनका आँखामा अहिलेका नायिकाका छाया नाच्छन् होला ? 'अहिलेका नायिका पनि मन पर्छन् । उनीहरूका अभिनय राम्रो लाग्छ,' भुवनले सुनाइन्, 'तर, उनीहरू अरूबाट प्रभावित हुन्छन् । छिटो चर्चित हुन अनेक हतकण्डा अपनाउँछन् । म अहिलेका नयाँ नायिका कोही पनि चिन्दिनँ, सायद ती नयाँहरूले पनि मलाई चिन्दैनन् होला ।' उनलाई पहिलेको फिल्म उद्योग निकै स्वच्छ लाग्दोरहेछ । 'पहिले-पहिले थोरै बन्थे नेपाली फिल्म र यो उद्योग पनि स्वच्छ थियो । अहिले नेपाली फिल्म उद्योग निकै धमिलो छ, धेरै कुरा मिसिएको ।' वर्षौंसम्म रंगमञ्च र फिल्मलाई सँगै डोहोर्याएर अघि लागेकी भुवनलाई फिल्म र रंगमञ्चमध्ये कुन बढी मन पर्छ होला ? उनले हत्तपत्त भनिहालिन्, 'म रंगमञ्च जति सम्झन्छु, फिल्म त्यति सम्झना आउँदैन । रंगमञ्चमा हाम्रो अभिनय जीवन्त हुन्छ । तर, फिल्ममा त्यति जीवन्तता पाउँदिनँ । फिल्म कलात्मक हुँदैन, रंगकर्ममा कला घोलिएको हुन्छ । मलाई त रंगमञ्च नै मन पर्छ ।' फिल्म र जीवनमा कति फरक पाइन् होला भुवनले ? फिल्म र जीवनका मोडहरू सँगै हिँड्न सक्छन् होला ? 'फिल्म त जीवनका केही क्षणको सामान्य रूपान्तरण मात्रै हो,' भुवनले सुनाइन्, 'पर्दाको जीवन र साँच्चै बाँच्नुमा निकै फरक छ । फिल्म र जीवन कहिल्यै नभेटिने कुरा हुन् । तर, फिल्ममा जीवनका केही पलहरूको प्रतिविम्ब वा छाया देखिन्छ ।' फिल्मका ती भयावह छायाले सपनामा उनलाई कति तर्साउलान् कुन्नि ?



del.icio.us
Digg
Huna ta malai bhuwan aunti ko pahilo movie aama herna man lageko thiyo tara kahi pani pauna sakina. tyo bela kanyadaan, chino, lahure,kusumerumal,samjhana,sapana,sindur,maitighar,saino,adhikaar trishna jasta dherai ramro fim baneka thiye. jhan ti film ko sangeet dherai nai ramro cha. tyo film ka geet sunda dherai man chuncha. Ahile ka movie ma story nai hudaina fogatia fight lai matra prathamikta diyera film bancha. jhan sangeet pacha gatilo pani hudaina. tara pachillo samaya ma ayera sangeet pacha ramro hudai gayeko cha.
Aba ahile ka heroiene le katha le mage jati dekhauna sakne kura garchan. Tinlai kathale mageko ramro avinaya garna sakdainan ani aslil scene dekhauna sakchan. Ani yi nayikalai nirmatale soshad nagare aru kasle garcha.
Post your comment