अन्तर्राष्ट्रिय कानुन र नेपाल
फिक्सन मात्र मन पराइने नेपाली समाजमा अहिले ननफिक्सन पनि पढिन थालेको छ । अहिले केटाकेटीहरू ननफिक्सनका किताब खोज्दै सहर चर्हाछन् । ननफिक्सन मन पराइए पनि कानुनका किताब भने खासै पढिँदैन । यो यस्तो विषय हो, जुन पढ्दा अल्छीलाग्दो हुन्छ । तर, जान्नु पनि उत्तिकै जरुरी हुन्छ । झन् संविधान लेखिने संघारमा यसको बहस गाउँ र टोलहरूमा हुन थालेयता कानुनबारे जान्नु पनि उत्तिकै जरुरी छ । यही माहोलमा प्रा.डा. गोपाल सिवाकोटीले सार्वजनिक अन्तर्राष्ट्रिय कानुन नामक किताब बजारमा ल्याएका छन् । अन्तर्राष्ट्रिय कानुनमा के लेखिएको छ र अब के लेखिनुपर्छजस्ता बहस प्रस्तुत किताबमा भएका छन् । यो अन्तराष्ट्रिय युग भएकाले कुनै पनि राष्ट्र अलग भएर रहन सक्दैन । सबै एकअर्कामा जोडिएका छन् । सबै मुलुक सानो वा ठूलो शक्तिशाली वा कमजोर जस्तो भए पनि एकअर्काबीच सम्बन्धित रहन्छन् । यी सबै राज्यहरू मिलेर अन्तर्राष्ट्रिय प्रणाली बनेको हो । ती राष्ट्रहरूबीच प्रक्रिया, नियमितता र कार्यान्वयनसित अन्तर्राष्ट्रिय कानुनको सम्बन्ध जोडिएको हुन्छ । राष्ट्रहरूबीचको सम्बन्ध र विकासमा अन्तर्राष्ट्रिय कानुनले कति ठूलो भूमिका खेलेको हुन्छ, योे किताब पढेपछि थाहा पाइन्छ । किताबले अन्तर्राष्ट्रिय कानुनबारे भोका नेपाली पाठकलाई न्याय गर्न सक्छजस्तो लाग्छ । के छ अन्तर्राष्ट्रिय कानुनमा, अब कानुन निर्माणमा कुन दिशा समात्नुपर्छ भन्नेजस्ता जटिल कुराबारे राम्रोसँग र बुझिने ढंगले व्याख्या गरिएको छ किताबमा । राष्ट्रहरूको समूहबीच रहेका संकट, चुनौती, विनाश र विकासका सम्भावनाहरू जटिल बन्दै गएका वेला यसलाई नियमित र नियन्त्रित गर्नका लागि कानुनी व्यवस्थालाई सुदृढ र सक्षम बनाउनु विश्वका लागि एकमात्र विकल्प र अवसर पनि हो । लेखकले राष्ट्रहरूबीच ठोस धरातलमा कानुनी प्रणालीलाई सुव्यवस्थित गर्नु आवश्यक भएको बताएका छन् किताबमा । राष्ट्रहरूबीच प्रभावपूर्ण कानुनी व्यवस्था निर्माण गर्नु सबैको दायित्व हो । कानुन निर्माण सबै नागरिकको चासोको विषय किन हुनुपर्छ भनेर लेखकले प्रष्ट पार्न खोजेका छन् । अरू राष्ट्रहरूसँग सम्बन्धविच्छेद गरेर कुनै पनि राष्ट्र जीवित रहन सक्छ र ? राष्ट्र जति सभ्य हुन्छ, उसका सबै संगठन पनि सुदृढ हुन्छ । कुनै पनि राष्ट्रको सरकारले जनताको हितमा कस्तो कानुन निर्माण गर्छ, अन्तर्राष्ट्रिय स्थितिमा पनि त्यस्तै व्यवस्था गरिनुपर्छ । राजनीतिक विचारधारा, साहित्य, कला, वैज्ञानिक आविस्कारजस्ता कारणले देशहरू एकअर्कामा जोडिएका छन् । फरक देशको पारस्परिक र सुमधुर सम्बन्धका लागि पनि अन्तर्राष्ट्रिय कानुन कति आवश्यक रहेछ भन्ने किताबमा पढ्न पाइन्छ । रास्को पाउन्डले कानुन स्थायी हुनुपर्छ, तर स्थिर रहन सक्दैन भनेका छन् । कानुनले परिवर्तनको आवश्यकता र अघि बढिरहेको समयलाई समात्नुपर्छ । त्यसैले कानुनको मुख्य विषय भनेको नै परिवर्तित अवस्थामा खडा भएको समस्याको समाधान गर्नु नै हो । कानुन कुन वेला र कस्तो अवस्थामा परिवर्तन गनर्ुुपर्ने हुन्छ, त्यसको प्रक्रिया, समस्या र पछि आउने प्रतिक्रिया कस्तो हुन सक्छजस्ता कुरा छन् किताबमा । हामीकहाँ अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त र व्यावहारिक पक्षबारेमा निष्पक्ष रूपमा विद्वान्हरूले दिएको मतका आधारमा व्याख्या र विवेचना गर्ने गरिएका छन् । कतिपय परिस्थितिमा हामीले कानुन बनाउँदा अन्तर्राष्ट्रिय कानुनको सहायता पनि लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय कानुनको सैद्धान्तिक पक्षहरू व्यवहारमा के-कसरी कार्यान्वयन भएका छन् भन्नेबारे बितेका दिनको अवलोकन र विश्लेषण पनि किताबमा छ । यिनै कुरालाई मध्यनजर गरी किताब बनेको छ । अन्तर्राष्ट्रिय कानुनलाई तेस्रो विश्वले कसरी हेर्छ ? उनीहरूको र नेपालको दृष्टिकोण पनि राखिएको छ किताबमा । कानुनमा परिवर्तनको कुरा, नेपाल र अन्तर्राष्ट्रिय कानुनको सम्बन्ध सिद्धान्त, अवधारणालगायतका विषयलाई किताबमा बुझिनेगरी प्रस्तुत गरिएको छ । आठ सय पानाको किताबका पाना पल्टाउँदा दिक्कलाग्दो हुन्छ । अक्षर धेरै खाँदिएका छन् । सम्रगमा किताब निकै उपयोगी छ । कानुनमा रुचि राख्नेहरू, कानुन पढ्दै गरेका विद्यार्थीहरू, कानुन व्यवसायी, कूटनीतिक क्रियाकलापमा संंलग्न व्यक्तिलाई यो किताब उपयोगी हुनेछ । हामीकहाँ उचित कानुनको अभाव भइरहेका वेला, संविधान निर्माणको संघारमा हामी अल्मलिइरहेको वेला कम्तीमा हाम्रा सबै सभासद्ले प्रस्तुत किताब पढ्नैपर्छ । ननफिक्सनले बजार तातेका वेला यस्ता किताब पढिनेछन् ।



del.icio.us
Digg
Post your comment